१६ चैत्र २०८०, शुक्रबार ५:५८ | 03/29/2024 8:13 AM



घोषणा सभा, आकाशे सपना र बजार हल्लाहरु

१७ फाल्गुन २०७१, आईतवार ०१:२५ मा प्रकाशित

Thumbnail for 168अहिले फेरी एनआरएन अमेरिकामा हल्लाको खेती सुरु भएको छ| फुर्सदे खेतीवालहरुलाई यो खेतीले गर्न सक्ने खतिको बारेमा अहिले अलिकति पनि ज्ञान छैन| अहिले म काठमाडौँमा हुने प्रत्येक निर्वाचनमा उम्मेदवार बन्ने लक्ष्मण खड्कालाई बढी अनि यहाँका ताई न तुंईका फेसबुके उम्मेदवारलाई कम सम्झिरहेको छु| एनआरएन अमेरिकामा आम मानिस र सदस्यलाई फेरी आकाशे सपनाहरु बाड्ने खेतिको प्रारम्भ भएको छ|

यो निर्वाचनलाई ठट्टाकोरुपमा अबमुल्यन गर्ने अभिष्टले फेरी “जोक” गर्न केहि फुर्सदी जोकरहरु लागि परेका छन्| यो बजारहल्लाको सतही भींडमा हिजो यसपालीको निर्वाचनमा गरुङ्गो तौल भएका उम्मेदवारकारुपमा देखापरेका डा. केशब पौडेलले आफ्ना दलबलका साथ न्युयोर्कमा घोषणा-सभा गरेर आफ्नो औपचारिक उम्मेदवारी सार्वजनिक गरे तथापी निर्वाचन आयोगमा विधिवत उम्मेदवारी दर्ता हुन बाँकी नै छ|

मैले बारम्बार लेख्ने गरेको छु यदि भाषण गरेर बिकाश हुने भए हाम्रो देश नेपाल बिश्वका सर्वाधिक सम्पन्न र धनी देश मध्यमा पर्ने थियो| अथवा बोलेर, तर्क गरेर अथवा लेखेरै मात्र जित्ने भए म आफै पनि एनआरएन अमेरिकाको अध्यक्ष पद ताक्ने र जित्ने पनि थिएँ| कुरोको चुरो बुझ नपचाउने हो भने बुझ्न सजिलो छ, पहिले आफ्नो स्तर, क्षमता र औकात आफैलाई थाहा हुनुपर्यो|

बिधानले रोकेको छैन उठ्न पाईन्छ भनेर जहाँ पनि अनि जो पनि अध्यक्ष, उपाध्यक्ष र महासचिब नै ताक्ने? यसो पहिलो कार्यकाल कार्यकारी सदस्यबाट आफ्नो काम शुरु गरौँ सिकौं अनि निरन्तर अनुमोदन भईएछ भने खुट्किलो चढ्दै जाउँला भन्ने चेतना किन नआएका होलान| यस्तो सुझाब दियो भने अमेरिकामा आएर सुनेको (बुझेको चाँही हैन) भरमा भन्छन “खोइ, बराक ओबामा एकै चोटी राष्ट्रपति भएत!” भनेर च्याठीन्छन| आफुलाई बराक ओबामाकै स्तर र कोटीमा राखी हाल्छन|

केशब पौडेललाई मैले थुप्रै पटक मंचमा सुनेको छु, उनले मनबाट बोलेका छन् “मलाई चम्चा मात्र होइन काँटा पनि चाहिन्छ|” बेला बखत यिनले यसो भनि रहंदा मलाईनै हेरे जस्तो लाग्छ| यिनले मनबाट यसो भने पनि यो बखत यिनी चम्चाहरुबाट घेरिएको चर्चा बजार भरि फैलिएको छ| हिजै मात्र समारोहमा कानेखुसी चलिहाल्यो एक जना भाईले साउती गरि हाले “होइन हौ दाई, उताकाहरु त कोहि पनि आएन छन नि|” यस्ता छौं हामी मानिसलाई कित्ता कित्तामा विभाजित गरेर रमाउछौं| उनीहरुले भन्दा बढी हामीले नै यिनीहरुलाई कित्ताकाट गरिदिएका छौं| हुँदा हुँदा संचारकर्मी पनि पो यताका र उताका भनेर जानिने र चिनिने प्रचलन बढेछ यो ज्याक्सन हाईट्सको दसगजा क्षेत्रमा|

अब चम्चाको घेराबन्दीबाट निक्लिएर सिलाबरको हैन स्टेन लेस स्टिलका कम र केहि चम्चाहरुलाई साथ लिंदै थप काँटाहरु रोज्नु र खोज्नु पर्ने धारिलो र पेचिलो क्षणमा केशब पौडेल अहिले यो चुनावी मैदानमा अवतरण भएका छन| यिनले आफ्ना घोषणा-पत्रमा आफ्नो राजनैतिक बिगत नलुकाई भनेका छन् आफु नेपाली कांग्रेसको भात्री संस्था नेपाल बिद्यार्थी संघको निर्वाचित केन्द्रिय सदस्य भएको कुरा सगर्व उल्लेख गरेर|

मैले कहिले राजनीतिबाट निरपेक्ष रहने समाज र राज्य व्यवस्थाको पक्षपोषण र परिकल्पना गरेको छैन| अमेरिकी भुमीमा बसेर म मातृभूमी नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना हुनु पर्छ भनेर ठुलै स्वरले कराएको मान्छे हुँ| मेरो भनाई यति हो तर अब एनआरएन अमेरिका हाक्ने सहस गर्न सारथीहरुले आफ्ना दलगत बिगत र बैचारिक गोत्रीय सम्बन्धबाट निक्लिएर माथि उठ्न सक्नु पर्छ| अहिले हामी उनको अरु थुप्रैको चिरफार र परिक्षण गर्दैछौं|

मैले छुच्चो भएर उठाएको दलगत राजनीति मुक्त एनआरएन अमेरिकाको एजेन्डा र माग गरेको “क्लिन चिट” को प्रसंगलाई पौडेलले सम्बोधन गर्दै आफ्नो घोषणा-पत्रमा लेखेका छन “….नेपालका मुख्य राजनैतिक पार्टीहरुसंग कार्यगत सम्बन्ध भएता पनि हाल कुनैपनि राजनैतिक संगठनको कार्यकारी पदमा नभएको व्यहोरा समेत यसै घोषणा मार्फत अनुरोध गर्न चाहन्छु|”

मैले माग गरेको “क्लिन चिट” को बिषयलाई सम्बोधन गरिएपनि “स्वेत-पत्र” जारी गर्ने सवालमा यिनी अझै मौन रहेका छन| आफु एनआरएन अमेरिकाको वर्तमान कार्यसमितीको सल्लाहकारको हैसियतले बिभिन्न समारोह र सेमिनारहरुमा भाग लिएको र सदस्यता वितरणकालागि देश दौडाह गरेको पक्ष घोषणा-पत्रमा स-गर्ब उल्लेख गरिएको छ तर लाभको पदमा बसेर त्यहि संगठनको उपल्लो पदकालागि उम्मेदवारी सार्वजनिक गरिसके पछि पनि यिनले त्यो परोक्ष लाभको सम्मानित सल्लाहकार पदबाट राजिनामा दिने नैतिक आँट किन गरेनन मैले बुझ्न सकिन| जेव बुशले सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा प्रत्याशी बन्ने मनसायले आफु बसे रहेका कार्यकारी र सल्लाहकार सबै पदहरुबाट राजिनामा दिएको बिषय र प्रसंग मैले बिगत एक महिना देखि यहि आसयले लेख्दै आएको छु|

अब यो बखत डा. केशब पौडेलजीलाई किटेर अनि तोकेर भन्छु, कमसेकम यति इमान, त्याग र नैतिकता देखाउनुस| यो बर्ष हामी अघिल्लो पालाको भन्दा थप योग्यता, सक्षमता र इमान भएका राम्रा नेता खोज्दैछौं| मनमा मन्दिर नभएका तर मन्दिर बनाउछु भन्दै ढोंग र आत्मरतीमा रमाउने गरेको पुरातानिक चेत र सोंचबाट एक कदम अगाडी बढेर नेपाली कम्युनिटी सेन्टर बनाउने प्रस्ताब गर्नु भएछ, यो स्तुत्य छ| त्यो तपाई या एनआरएन अमेरिकाले बनाउने पनि होइन हामी सबैले बनाउने हो एनआरएन अमेरिकाले मात्र समायोजन गर्ने हो|

पौडेल जी, तपाईको बुँदागत प्रतिबध्दताहरु मैले एकबाट पन्द्र हैन पन्द्रबाट एक गर्दै दुई पटक पढे| कुरो बुझ्नु भो नि होइन? सानोबाट सुरु गरौँ, तपाईले गर्नु पर्ने सहयोग “माथि” कालागि होइन “तल” का लागि हो त्यसैले अप्रोच पनि “तलबाट माथि” (बटम अप) भए राम्रो हुन्थ्यो| आर्थिक पारदर्शितालाई बुँदा नम्बर पन्द्र अर्थात अन्तमा राख्नु भएछ मिल्छ भने उच्च प्राथमिकतामा राखौं अनि एउटा बुँदा छुटेछ यो आम प्रवासी नेपालीहरुको साँझा संस्थालाई दलगत राजनीतिबाट पूर्णरुपले मुक्त राख्ने| नीति, नियम, कानुन र आचार संहिताले बोलेको छ अनि बाँधेको छ अब यो संस्था हाक्न कस्सिने तपाईहरु जस्ता सारथीहरुले पनि सार्वजनिकरुपमा लिखित प्रतिबध्दता जनाउनु पर्यो| त्यो बुँदा चाँही कहीं देखिन नि, कतै छुट्यो कि?