७ बैशाख २०८१, शुक्रबार ३:०४ | 04/19/2024 5:19 AM



अधिकार र सम्प्रेषणको सहकर्म र न्युयोर्क म्युनिसिपल आईडी – शैलेश श्रेष्ठ, न्युयोर्क

१७ फाल्गुन २०७१, आईतवार ०१:२५ मा प्रकाशित

आफ्नो म्युनिसिपल आईडी देखाउँदै सिटी काउन्सिल मेम्बर डानियल ड्रोम तस्विर: अशोक पन्त
आफ्नो म्युनिसिपल आईडी देखाउँदै सिटी काउन्सिल मेम्बर डानियल ड्रोम तस्विर: अशोक पन्त

थुप्रै प्रगतिशील र उदार बिधेयकहरु लामो समयसम्म थाँती रहेको अमेरिका भरिकै सबभन्दा उदार र प्रगतिशील भनेर जानिने अनि चिनिने न्युयोर्क सहर मेयर बिल द ब्लाजियो, काउन्सिल स्पिकर मलिसा मार्क-भिबरित्तो अनि पब्लिक एड्भोकेट लातिशिया जेम्सको उत्साहपूर्ण विजय र आगमन पश्चात खास अर्थमा आम न्युयोर्कबासीले त्यसको ब्यबहारिक अनुभूति गर्न थालेका छन| चाहे त्यो अघिल्लो बर्षबाट कार्यन्वयन गरिएको कामदारहरुले पाउने बिरामी बिदा (पेड सिक डेज) होस् अथवा यो महिनाबाट प्रारम्भ गरिएको म्युनिसिपल आईडी यी दुवैले आप्रवासी र अल्पसंख्यकहरुलाई ठुलो राहत दिएको छ|

करिब आठ मिलियन न्युयोर्कबासीलाई म्युनिसिपल आईडी उपलब्ध गराउने लक्षमा साथ शुरु भएको आवेदन प्रक्रियामा अहिलेसम्म करिब २००००० (दुई सय हजार) ले आवेदन दर्ता गरेको जानकारी हिजो लागर्डीया कम्युनिटी कलेजमा न्युयोर्क सिटीले आयोजाना गरेको कार्यक्रममा बित्ता मोस्तोफीले जानकारी गराईन|

हिजोको सत्रमा यो बिललाई सिटी काउन्सिलमा प्रस्ताब गर्ने दुई जना प्रगतिशील काउन्सिल मेम्बरहरुको उपस्थिति रहेको थियो| अघिल्लो बर्ष काउन्सिलमा प्रचण्ड बहुमतले पारित भएको यो बिललाई सिटी काउन्सिलका सबभन्दा तन्नेरी सदस्य कार्लोस मेन्चाका (ब्रुकलिन) र हाम्रो नेपालीहरुको बाक्लो जनसंख्या भएको क्षेत्र नम्बर २५ का लोकप्रिय काउन्सिल मेम्बर डानियल ड्रोम (कुईन्स) ले प्रस्ताब गरेका हुन|

सम्प्रेषणले अधिकारसंगको सहकार्य र संयोजनमा गत आईतबार यहि बिषयमा सामुदायिक अन्तरक्रिया आयोजना गरेको थियो र त्यहाँ आम मानिसबाट आएका प्रश्न र जिज्ञाशाहरुलाई सम्बन्धित निकायसम्म पुर्याउन अधिकार र सम्प्रेषण निरन्तर लागि परेको छ| काउन्सिल मेम्बर मेन्चाका मैले सिटी काउन्सिलमा पेड सिक डेज (कामदारलाई बिरामी बिदा) क्याम्पेन ताका भेटेका र काम गरेका तन्नेरी अधिकारकर्मी रहेछन, हिजो डानियल ड्रोमले परिचय गराईदिए पछि हामी त्यो पुर्व दृश्यहरुमा फर्कियौं|

सामुदायिक कार्यक्रममा डानियल ड्रोम, तेन्जिंग शेर्पा र कार्लोस मेन्चाकाका साथमा
सामुदायिक कार्यक्रममा डानियल ड्रोम, तेन्जिंग शेर्पा र कार्लोस मेन्चाकाका साथमा

हुरीकन स्याण्डीको दु:खद कालखण्डमा न्युयोर्क सहरको प्रगतिशील फाँटमा तन्नेरी मेन्चाकाको राजनैतिक उदय भयो र दस बर्ष निरन्तर ब्रुकलिनको क्षेत्र नम्बर ३८ को प्रतिनिधत्व गर्ने सारा गोन्जालेजलाई यो बर्षको डेमोक्रेटिक पार्टीको प्राईमरीमा हराएर नोभेम्बरको निर्वाचनमा सहजरुपले सिटी काउन्सिल प्रवेश गरे| अमेरिकी राजनीतिमा संस्थापनलाई पराजित गर्न निक्कै कठिन हुने गर्छ त्यस्तै प्रारम्भिक कठिनाई ब्येहोरेका थिए वर्तमान काउन्सिल मेम्बर मेन्चाकाले टेक्सासको जन्म भएकोले पहिले उनलाई अनुदार भनियो अनि पछि प्राईमरी इलेक्शन ताका “आउट साईडर”|

तर साहसी कर्मबीर मेन्चाकालाई केहिले र कसैले रोक्न सकेन| हुरीकन स्याण्डीको आहत, पिडा र दु:खमा त्यो क्षेत्रका मानिसको दु:खमा मलम लगाएर मन जितेर आएका मेन्चाकाको आगमन उमेर र गतिका दृष्टिकोणले हुरीकन जस्तै भएर आयो| प्रोग्रेसिभ ककसका उर्जाशील सदस्य मेन्चाकालाई अहिले सिटी काउन्सिल र न्युयोर्कको राजनैतिक क्षेत्रमा एउटा असल सम्भावना भएको नवआगन्तुक तन्नेरी राजनीतिकर्मी भनेर जानिन्छ|

अधिकार र सम्प्रेषणको संयोजनमा भएको सामुदायिक अन्तरक्रियामा सहभागीहरु
अधिकार र सम्प्रेषणको संयोजनमा भएको सामुदायिक अन्तरक्रियामा सहभागीहरु

हिजोको प्रश्नोत्तर कालमा मैले अस्ति अधिकारमा जम्मा भएका दिदी-बहिनीहरुले उठाउनु भएका केहि मुलभूत प्रश्नहरु राखें| अधिकारमा भएको अन्तरक्रियामा कतिले भन्नु भएको थियो “मसंग नेपालको पासपोर्टमात्र छ, त्यो पनि पुरानो अनि बसोबास भएको ठाँउ प्रमाणित गर्ने (रेसिडेन्सी) आधार छैन| उहाँहरु लिभ-इन काम गर्नु हुन्छ भन्ने हाम्रो बुझाई रह्यो| अन्य आवश्यक कागजातको अभाबमा उहाँहरुसंग कुनै बिल या बेंकको स्टेटमेन्ट आदि इत्यादी केहि पनि छैन| एमआरपी पासपोर्टले तीन पोइन्ट पाईन्छ भने पुरानो पासपोर्टले त अझ दुई पोइन्ट मात्र मिल्छ अब कागजपत्रबिहिनहरुले अर्को दुई पोइन्ट कहाँबाट प्राप्त गर्ने?

सिटीले उदारतापूर्वक दिन चाहेर जम्मा ६५ वटा कागजपत्रलाई मान्यता दिएको छ तर कति हाम्रा मानिसहरुसंग त्यो चार पोइन्ट पुर्याउन सक्ने अवस्थामा पनि छैन| अब त्यसको अर्थ उहाँहरुले मेयर बिल द ब्लाजियोले सगर्ब भन्ने गरेको गर्विलो आईडीएनवाईसी नपाउने त? आफ्नो बासको ठेगाना नभएका कहीं कतै सेल्टरमा जीवन जिउन बाध्य भएकाहरुलाई र कागतपत्र नभएर छायाँमा बस्न बाध्य भएका र बनाईएकाहरुले पाउने भनिएको यो अधिकारबाट हाम्रा नेपाली भाषी दिदी-बहिनी तथा दाजु-भाई अथवा हामी किन बन्धित र वर्जित हुने? हिजोको प्रश्नोत्तर कालमा मैले हाम्रो प्रतिनिधिमुलक सार र शैलीको यिनै प्रश्नहरु दुवै जना काउन्सिल मेम्बर र सिटी काउन्सिलका अधिकारिक कर्मचारी मित्ता मोस्तोलीलाई राखें|

कुईन्सको लागर्डिया कम्युनिटी कलेजमा सम्पन्न भएको कार्यक्रम
कुईन्सको लागर्डिया कम्युनिटी कलेजमा सम्पन्न भएको कार्यक्रम

प्रत्युत्तर र निजि भेटमा सहरको आधिकारिक प्रतिनिधिले अब यो वर्गको मानिसहरुलाई सहजीकरण गर्न थप कागजहरुलाई पनि पोइन्ट प्राप्त गर्न सवालमा मान्यता दिन काम गर्ने बताईन| उनले भनिन “कोहि पनि यो नैसर्गिक मानवीय अधिकारबाट बन्चित नहोस भन्ने मेयरको ध्यय र चाहना हो र अहिले हामी तपाईहरुको सुझाब र सल्लाहको आधारमा काम गरिरहेका छौं र गर्ने छौं|”

कृपया अस्ति त्यस्तो समस्या मसंग बताउनु भएका दिदी-बहिनीहरुले अधिकारको कार्यालय या या मलाई फोन गरेर सम्पर्क गर्नु होला| तपाईहरुको सहजकर्ताको रुपमा म अधिकारको कार्यालयमै आएर पनि काम गर्न तयार छु| आवदकको उच्च चापलाई ध्यानमा राखेर अहिले न्युयोर्क सिटीले लागोर्डिया कम्युनिटी कलेजमा पनि आवेदन केन्द्र स्थापना गरेको छ|

र, अन्तमा सम्प्रेषणलाई यस्तो अहम बिषय र सामाजिक न्यायको मुद्दामा सहकार्य गर्ने अवसर दिनु भएकोमा सम्प्रेषण र ह्वाईट हिमाल टेलिभिजनको तर्फबाट अधिकारमा सम्पूर्ण उर्जाशील कर्मचारी, स्वयंसेवी र अधिकारकर्मको लडाईमा कहिले नथाक्ने नर्बदा क्षेत्रीलाई मनभरीबाट धन्यबाद भन्दै आभार व्यक्त गर्दछु| कार्यक्रमको प्रारम्भ देखि यो निरन्तरतासम्म मैले अधिकारकी संस्थापक सामाजिक न्यायको आन्दोलनकी अगुवा बैनी लुना रंजितलाई धेरै मिस गरेको छु| यस्ता सामाजिक र आर्थिक न्यायका बिषयमा हामी थप निरन्तर सहकर्महरु गरिरहनेछौं| हाम्रा अतिथि वक्ताहरु काउन्सिल मेम्बर डानियल ड्रोम र कानुनविद मेरा मित्र डेभिड काटोनाले आयोजकहरु र सहभागीहरु प्रति आभार व्यक्त गर्नु भएको छ|