१५ चैत्र २०८०, बिहीबार ४:१३ | 03/28/2024 6:28 PM



दलगत राजनीतिको कोपभाजनमा पर्यो एनआरएन अमेरिका: शैलेश श्रेष्ठ सम्प्रेषण ब्लग न्युयोर्क-न्युजर्सी

६ श्रावण २०७४, शुक्रबार १२:०८ मा प्रकाशित

सायद यो बिषयमा राम्रो होस् भनेर धेरै छुच्चो बोलेको अनि लेखेको कारणले होला हिजो मध्यरातमा राष्ट्रिय निर्वाचन आयोगले अध्यक्ष पदका आकांक्षी गौरी राज जोशीको नामावली उम्मेदवारकारुपमा प्रकाशित नगरेपछि अहिले मलाई संसारभरका शुभचिन्तक, संस्थापक, अभियन्ता तथा मिडियाबाट सम्पर्क गर्ने प्रयास गरिएको छ | तर म यो विषम परिस्थितिमा राष्ट्रिय निर्वाचन आयोगलाई प्रभाब पर्ने अथवा हस्ताक्षप गर्ने मनसाय देखिने खालको कुनै पनि प्रतिक्रिया दिन्न | तर त्यसको मतलब सबै मंचित सबै खाले राजनैतिक नाङ्गा नाचहरुको अमुक दर्शक र रमिते मात्र बन्छु भन्ने पनि होइन |

Shailesh at NH Sampreshan

यो क्षणसम्म मैले निर्वाचन प्रमुख तथा आयोगका सदस्य तथा उम्मेदवारी बदर गरिएका पात्र गौरी राज जोशीसंग कुराकानी गरेको छैन | एउटा अनलाईन पत्रिकामा कुरा आए अनुसार उनलाई बदर गर्नु अघि थप कागजात मागिएन | किन त्यसको कारण पक्कै निर्वाचन आयोगबाट सार्वजनिक हुनेछ | बदर हुनुको कारण जान्न पाउने स्वाधीन नैसर्गिक हक उनलाई मात्र होइन हामी आम मतदातालाई छ |

चरम अनि खुल्ला राजनैतिक हस्ताक्षप, अभिष्ट, महत्वाकांक्षा र गुटगत खिचातानी (सह-गोत्रीय र अन्तर-गोत्रीय) नै यो दुष्परिणाम जड हो | आफ्नो फेसबुक प्रोफायल फोटोमा उताको पार्टीको चुनाब चिन्ह “रुख” र “सुर्य” राखेर राजनैतिक उद्दण्डतामा रमाएकाहरु यसका कारक हुन अब हाम्रो सम्भावनायुक्त समाजका त्यस्ता धमिराहरुको सुक्ष्म पहिचान हुन जरुरी छ | तिनकै राजनैतिक कोपभाजनमा अब हाम्रो भनिएको एनआरएन अमेरिका पर्ने सम्भावना बढेर गएको छ |

के के हुन सक्लान त सम्भावित समाधान अनि दुष्परिणामहरु:
(१) मैले पहिचान गरेको पहिलो समाधान उनको आबेदन उपर सुनुवाई नै हो | जहाँ उनलाई सुनुवाई मार्फत “तपाई किन उम्मेदवार हुने पाउनु पर्ने?” भन्ने बिषयगत बहसको न्यायिक सुनुवाई हुन्छ | त्यसमा देखिजान्ने प्रमाणका लागि उनले बिषयगत प्रमाण साक्षीहरु पेस गर्न सक्ने हुन्छ | होइन त्यति गर्न समेत आवश्यक नै छैन भन्ने निर्वाचन आयोगलाई लाग्छ भने उनको आबेदन रद्द गर्नाको कारण आयोगले तुरुन्त सार्वजनिक गर्नु पर्छ | एनसीसीको मातहतमा संघीय कानुनको ५०१ (सी) ३ को प्राबधानमा दर्ता भएको कुनै पनि संस्थालाई त्यसो गर्न नीति नियम अनि मौजुदा बिधानको कुनै पनि धाराले बर्जित गरेको छैन | यसो गर्दा यहाँ दर्ता भएको संगठनलाई सांगठनिक अनुबन्धन दिने मात्री संस्था एनआरएनए आई.सी.सी. ले त्यसो किन गरेको भनेर सोध्ने अनि खोज्ने आवश्यकता रहँदैन |

(२) मैले दुई दिन अगाडी मात्र पनि लेखेको थिएँ चुनाबको संघारमा स्वतन्त्र र स्वायत्त निकाय राष्ट्रिय निर्वाचन आयोगलाई यसो गर्नु त्यसो नगर्नु भनेर अर्ती उपदेशको “निर्देशिका” परिपत्र जारी गर्ने बिधानसम्मत अधिकार क्षेत्रीय संयोजक सोनाम लामा लाई छैन | त्यो परिपत्रले यस्तो आसय, नियत अनि अभिष्ट बोकेको थियो | अब प्रतिपक्षले एउटा यक्ष प्रश्न उठाउने मौका पायो, त्यहो परिपत्र र निर्देशिकाको आशय र अभिष्टलाई शीरोपर गर्दै आयोगले यस्तो निर्णय गर्यो कि? शंकाको लाभ (बेनेफिट अफ डाउट) अब निश्चितरुपमा गौरी राज जोशीलाई प्राप्त भएको छ | केहि महिना अघि पनि उत्तर अमेरिका क्षेत्रका क्षेत्रीय संयोजक सोनाम लामा र उप-क्षेत्रीय संयोजक ए.सी. शेर्पाले चलानी नम्बर बिनाको यस्तै आशयको परिपत्र केन्द्रको परामर्श बिना जारी गरेका थिए | चितुवा कराउनु र बाख्रा हराउनु मात्र भएको हो कि उनीहरुको परिपत्र र उम्मेदवारी रद्द गर्ने निर्णयमा केहि संयोजनकारी सम्बन्ध छ? यहि मियो र मेसोमा टेकेर आफु उपर अन्याय भएको भनेर पीडित पक्षले न्यायका लागि एनआरएनए आई.सी.सी. मा उनीहरु बिरुध्द कारवाहीको माग पनि गर्न सक्ने यथेष्ट प्रमाणिक आधारहरु छन |

USA-ELECTION

20205835_10156393638613662_1431453715_o

(३) दशकौं प्रवासमा बसेर पनि हामीले ठुलो मन र बुध्दीले सामाजिक भनिएका संगठनहरु संचालन गर्न जानेनौं | अहिलेसम्म संगठनहरु हामीले मनबाट मात्र चलायौं अब त्यसरी चल्दैन | न्यायका लागि अड्डा-अदालत धाउने बानी परिसकेको यो फैलिँदो अनि तन्कँदो नेपाली समाज अब न्यायिक याचना र प्राप्तिका लागि न्यायको ढोकासम्म नजाला भन्न सकिने धेरै आधारहरु बाँकी छैन | दण्डहिनताको निरन्तरता तोड्न र न्याय प्राप्ति गर्न न्यायिक परिसर पुग्ने मानिसको चाहनालाई हामीले अन्यथा लिन पनि मिल्दैन | त्यसरी यहि बिषय र बहानामा एनआरएन अमेरिका अदालतसम्म पुग्ने अवस्था सिर्जना भयो भने यसको बैधानिकतानै समाप्त हुने सम्भावना पनि रहन्छ किनकी यो संस्थामा आवध्द व्यक्ति र नेतृत्वले अमेरिकी कानुनले मान्यता नदिने दलगत राजनीतिलाई देखिने गरि भित्र्याएको छ | त्यस अर्थमा पनि यो हाम्रो साँझा संगठन संगीन तरवारको धारमा हिडिरहेको छ |

(४) चिरा परेको आई.सी.सी.को प्रतिछाया यहाँ हामी स्पष्ट देखिरहेका छौं | अन्तर्राष्ट्रिय समन्वय परिषदको पनि चुनाबी बर्ष भएकोले त्यस्तो चलखेल अहिलेबाट नै देखिने गरि आरम्भ भएको छ | राष्ट्रिय समन्वय समिति अमेरिका “साँढेको जुधाई बाछोको मिचाई” मा पर्ने अधिक सम्भावना पनि छ | अमेरिकाको कानुन अन्तरगत दर्ता भएको भएको एन.सी.सी. मा हामीले कहिँ भन्न र बोल्न मिल्दैन भनेपनि केन्द्रिय कार्यालयबाट पत्राचार गरिएका अधिकांश कागजातहरुले गौरी राज जोशी उम्मेदवारका लागि योग्य छन भन्ने आसय सम्पादन अनि सम्प्रेषण गरेका छन | त्यस अर्थमा त्यस्तो प्रमाणिक आसयहरुलाई अटेर गरेको कसुरमा आई.सी.सी. का बहुत सदस्यहरुको बलले एनआरएनए अमेरिकालाई निलम्बन गर्ने खतरा पनि बढेको छ | अर्को हप्ता जर्मनीको फ़्राङ्कफर्ट हुने क्षेत्रीय भेलामा यो जटिल बिषयले जबर्जस्त प्रवेश पाउने सम्भावनाको मैले आंकलन गरेको छु |

हरेक अभाब र अप्ठेराहरुले नै नयाँ सम्भवानाहरुको खोजी र पहिचान गर्छ | अहिलेनै हामी “डेड लक” को बिकराल स्थितमा पुगिसकेका छैनौं तर अहिलेकै अहम, दम्भ र दलगत अनि गुटगत राजनैतिक खिचातानी नरोक्ने हो भने अब अबको गन्तब्य मैले पहिचान गरेको बुँदा नम्बर तीन र चार नै हो | सामान्य अवस्थामा त जीवन र संगठन जेनतेन चलिहाल्छ यस्तै बेला हो नेता र नेतृत्वले अभूतपूर्व नेतृत्व कौशल, बिशाल हृदय अनि अप्रत्यासित त्याग देखाउनु पर्ने | निषेधको राजनीतिमा निर्लिप्त रमाएकाहरुकै कारणले उब्जोएको यो डरलाग्दो राजनैतिक महामारी रोक्न अब केन्द्र र संस्थापक तथा अभियन्ताहरुले समेत आत्मीय अनि अनौपचारिक हस्तक्षप गर्न जरुरी छ |
जय एनआरएन!