१५ चैत्र २०८०, बिहीबार ९:४७ | 03/28/2024 12:02 PM



एउटा सपनाको देश: जहाँ कैयौं सपनाहरुको अकाल मृत्यु हुन्छ – शैलेश श्रेष्ठ, न्युयोर्क

१९ मंसिर २०७१, शुक्रबार २३:४५ मा प्रकाशित

भर्खर सम्पन्न भएको मध्यावधि निर्वाचन र यसको परिणामले अमेरिका पुनः अतिवादी दक्षिणपन्थी धारमा फर्कने डरलाग्दो सम्भावना देखापर्न थालेको छ। लामो काल खण्ड पछि सन् २००८ को आशा अनि परिवर्तनको संखनादले मुस्किलले एक कदम अधि बढेको अमेरिका पुनः बैचारिकरुपमा दुई कदम पछाडी फर्किएको छ। आत्मतुष्टिकाका लागि जे भनिए पनि वर्ग र विचारका दृष्टिले अमेरिका विभाजित छ। धनी र गरिब बिचको खाडल पुर्नै नसकिने गरि फराकिलो र गहिरो भएको छ भने बैचारिकरुपले दक्षिण निरन्तर बर्णभेदी र अतिवादी सामाजिक सोंच र चिन्तन तर्फ अगाडी बढेको छ भने तटीय क्षेत्र र उत्तर्री भूभागहरु सामाजिक र राजनैतिकरुपले प्रगतिशील र उदार छ।

10606045_868204129880257_7345423498580241580_n

साठीको दशकसम्म जिम क्रोंको अनुदारवादी वर्णभेद र रंगभेदले आक्रान्त दक्षिण र अस्वेत  आवादी र वस्तीहरु अहिले त्यहि शैलीको अनुदारवादी शासकीय शैलीको पुनरावृत्तिको मनोगत  भयले त्रसित छ। अगस्त महिनामा मिजौरी राज्यको फर्गुसनमा एक जना स्वेत प्रहरीको  गोलीबाट निशस्त्र अस्वेत बालक मारिए पछि अहिले त्यो पुनरावृत्तिको सम्भावना बढेर गएको  छ। अहिले गत अगस्त नौ तारिख फर्गुसनमा भएको जघन्य हत्याको अभियोग लागेका प्रहरी  अधिकृत डेरेन विल्सनले ग्रान्ड जुरीबाट पूर्ण उन्मुक्ति पाएका छन्, उनले निरपराध अठार  बर्षिय अस्वेत बालक माइकल ब्राउनलाई बाह्र पटक गोली प्रहार गरेको दृश्य सार्वजनिक  गरिएको थियो तर पनि उनि माथि कुनै प्रकारको कानुनी कारवाही गर्ने आधार ग्रान्ड जुरीले  पाएन।

मिजौरी राज्यको फर्गुसनमा यो क्षण गभर्नरले संकटकालको घोषणा गरेर हाईवे पेट्रोललाई      प्रहरीको बयाकअप गर्न निर्देशन जारी गरेको छ भने अहिले गोली हान्ने प्रहरीलाई कारवाहीको    दयारामा ल्याउनु पर्ने माग राख्दै हिजोबाट सुरु भएको आन्दोलन र बिरोध प्रदर्शन अमेरिकाको  ३२ सहरहरुमा फैलिएको छ। अमेरिकी मुलधारको प्रसारण संस्थाले नचाहँदा नचाहँदै पनि एउटा दुर्दान्त सत्य अहिले ओकली रहेको छ। अमेरिकामा प्रत्येक २८ घण्टामा एक जना अस्वेत प्रहरीको गोलीले मारिन्छ र कानुनी राज्यको दुहाई दिईने अमेरिकी न्याय प्रणालीमा यसरी रंगभेदका कारणले मारिएका मुद्दा मध्य मुस्किलले चार प्रतिशत ज्यादती गर्ने प्रहरीले कानुनी कारबाहीको सामना गर्ने गर्दछ भने बाँकिले पूर्ण उन्मुक्ति पाउने गर्दछ।

यो क्षण मृतक माइकल ब्राउनका पिता तथा राष्ट्रपति बराक ओबामाले बेग्ला बेग्लै वक्तब्य जारी गरेर बिरोध प्रदर्शन शान्तिपूर्ण राख्न आग्रह गरेका छन। अमेरिकी नियन्त्रित संचार माध्यमले आवजबिहिन अल्पमतमा रहेकाहरुको न्यायको आवाजलाई यथोचित स्थान नदिएको भन्दै सीएनएन र यमएसएनबीसी जस्ता लोकप्रिय टिभी च्यानलहरुको पनि बिरोध भएको छ।

अपराधिक न्याय प्रणाली, मानब अधिकार र अध्यागमन सुधारमा यथेष्ट काम गरेका वर्तमान अटोर्नी जनरल एरिक होल्डरले अधिल्लो महिना आफ्नो पदबाट हट्ने स्वघोषणा गरेका छन, उनको यो निर्णयलाई बिभिन्न किसिमले अर्थ्याउने गरिएको छ भने अहिले राष्ट्रपति ओबामाको दवाबले राजिनामा दिन बाध्य पारिएका ओबामा क्याबिनेटका एक मात्र रिपब्लिकन सदस्य डिफेन्स सेक्रेटरी चक हेगलको राजिनामाले अर्को तरंग ल्याएको छ।

संयुक्त राज्य अमेरिकामा रंग र वर्णको नाममा हुने ज्यादतीको फेहरिस्त लामो छ, त्यसमा पुलिसको ज्यादती र अत्याचारको सृन्खला अझ लामो छल लस एन्जेलसमा अस्वेत रडनी किङ्गलाई पुलिसहरुले कुटी कुटी मारेको घटनालाई यो सृन्खलाको पहिलो नजिरकोरुपमा प्रस्तुत गरिन्छ। त्यस पछि पुलिसको गोलीबाट मारिएका आमडू दियालो, अब्नर लुइमा, एरिक गार्नर सहित लामो सुची छ भने फर्गुसनको घटनाले सबभन्दा बढी चर्चा पाएको छ। फर्गुसनले प्रारम्भ देखि आम जनतालाई दमन गर्न पुलिसलाई सैनिकीकरण गरेको भन्ने आरोप जनता र संघीय सरकारबाट समेत पायो। घटना भएको क्षेत्रमा तैनाथ गरिएको बख्तर बन्ध सैनिक गस्तीले त्यहि आम त्रास सिर्जना गर्यो।

अहिले बिरोधको लाभा अमेरिका भरि फैलिएको छ। अहिलेसम्ममा सयौंको संख्यामा आन्दोलनकारी अधिकारकर्मीहरुलाई पुलिसले गिरफ्तार गरेको छ। अहिले यो बिषयलाई सम्बोधन गर्न राष्ट्रपति ओबामालाई दवाब परेको छ तर मध्यावधि निर्वाचनमा आफ्नो पार्टीले सर्मनाक हार व्यहोरेका राष्ट्रपति यो विभाजित र ज्वोलनशिल बिषयलाई सम्बोधन गर्न उत्साहित छैनन। भन्नलाई जे भने पनि स्वेत नियन्त्रित दुई दलीय अमेरिकी राजनैतिक पध्दतिमा न्याय सम्पादन भनिएको जस्तो र देखाईएको जस्तो स्वच्छ र निस्पक्ष छैन, अहिले अस्वेत बालक माइकल ब्राउनलाई बाह्र पटक गोली हानेर मर्ने स्वेत प्रहरी अफिसर डेरेन विल्सनले ग्रयाण्ड जुरीबाट पूर्ण उन्मुक्ति पाउनुले त्यहि अन्तर सत्यलाई सतहमा ल्याईदिएको छ। यसरी हामीले भन्ने गरेको सपनाको देश अमेरिकामा थुप्रै अस्वेतहरुको सपनाको अकाल मृत्यु हुन्छ।