१३ बैशाख २०८१, बिहीबार ३:३२ | 04/25/2024 5:47 PM



एनआरएन अमेरिका: न गरिखा न मरिजाको अवस्थामा

२४ भाद्र २०७२, बिहीबार ००:५८ मा प्रकाशित

एनआरएन अमेरिकाको निर्वाचनमा भएको धाँधली र सहगोत्रिय “कब्जा” को बिरुध्दमा अदालती कारवाहीको लागि टेनेसी पुगेको नौ सदस्यीय “प्रतिवादी समुह” अन्तत: न्यायिक समिती (जुडिसियरी कमिटी) मा फर्कन बाध्य भएको छ | त्यस्तो सदासयतापूर्ण सुझाब र सल्लाह मैले प्रारम्भ देखि सबै जनालाई दिएकै हुँ | अमेरिकी अदालतले सिधै कहिले पनि भर्डीक्ट (फैसला) दिंदैन बरु लामो समय झुलाएर सेटलमेन्ट गर्ने आधार र सुझाब दिन्छ भनेर मैले भन्ने गरेकै हुँ | अहिले बल्ल साथीभाईहरुको चेत खुलेछ |

NRN

आज भर्खर प्राप्त समाचार अनुसार टेनेसी कोर्टले सस्थाको अन्तरिक तथा स्वतन्त्र संयन्त्र न्यायिक समिती मार्फत न्यायिक निरुपण खोज्न सल्लाह दिए पछि अब यो हावा खुस्किन लागेको भकुण्डो न्यायिक समितीका संयोजक दुर्गा भुर्तेलको कोर्टमा पुग्ने छ | अघिल्लो कार्यकारिणीको निर्वाचन पश्चात खगेन्द्र क्षेत्री, सोनाम लामा आदीको रोहबर र उपस्थितिमा भएको पहिलो अनौपचारिक भेटघाटमा मेरो निजि प्रस्ताबबाट यो समितीको निर्माण गरेको कुरो यति चांडै कसैको स्मृतीबाट हराएको छैन होला भन्ने मेरो बुझाई छ |

अदालत जानु अघि प्रतिवादी पक्षले न्युयोर्कमा आयोजना गरेको प्रेस भेटघाटमा पनि मैले संचारकर्मीको हैसियत भन्दा दुई कदम अघि बढेर सबै जनालाई अदालती मुद्दा मामिलाको छिनोफानो हुन बर्षौं लाग्छ त्यस कारण न्यायिक समितीमा जान सल्लाह मात्र होइन अनुरोध समेत गरेको हुन | तर प्रतिवादी समुहले समितीलाई पूर्ण अविश्वास गरेको जानकारी हामीलाई भयो | पछि बरिष्ट उपाध्यक्ष पदकी प्रत्यासी नेदेन डोंगलाले दर्ता गर्न जाँदा पहिले व्यक्ति किटान गरेर जाहेरी गर्न भनिएको कुरा बाहिर आएपछि मैले दुर्गा भुर्तेलसंग भेटेर बुझ्दा आफुले निवदेनको आधिकारिकताको लागि नोटरी पब्लिक गरेर आउनु भनेको तर त्यस पछि प्रतिवादी पक्षबाट उजुरी दर्ता नभएको मलाई जानकारी भयो | आफ्नो निजि पहलकदमीमा यो अन्तरिक तर स्वतन्त्र संयन्त्र निर्माण गरिएकोले यसै संयन्त्र मार्फत न्यायिक निरुपण होस् भन्ने मेरो अभिष्ट रह्यो | त्यस्तो वाताबरण निर्माण गर्नको लागि हामीले बिभिन्न चरणको भेटघाट र वार्तालापको संयोजन पनि गर्यौं |

केहि छिन अघि रबिन बज्राचार्य भाईले फोन गरेर भन्यो “अब दाई त धेरै खुसी हुनुहुन्छ होला अब तपाईले भन्नु भए जस्तै यो मुद्दा न्यायिक समितीमा जाने भयो |” अवश्य नै ! म अति खुसी छु तर समाधान सहज छैन जड राजनैतिक लेनदेन र सौदाबाजीको आधारमा भएको छ| बैचारिक सहगोत्रीय सम्बन्धको आधारबाट भएको किस्तावन्दी लेनदेन कठिन र जटिल हुन्छ | दम्भ र दादागिरीले अबको न्यायिक निरुपण हुँदैन | सम्बाद र समन्वयको थप खाँचो पर्दछ त्यस्तो उदारता हामीसंग कम छ कि निषेध छ कि त घृणा अनि तिक्तता |

NRN 2

दुनियालाई थाहा छ, यसपालीको निर्वाचनमा झेली खेल भएको छ | एक जना व्यक्तिको क्रेडिट कार्डबाट छ हजार डलर भन्दा बढी भुक्तानी भएको छ, एक व्यक्तिको नाममा सयौं एक छापे मन खसेको छ अनि एक व्यक्तिले निर्वाचन जित्न सय हजार (एक लाख) डलर लगानी गरेको छ अनि हामी कसरी तिनै व्यक्तिको ईमान, निष्ठा अनि कर्तब्य परायणताको अनुराग बाढ्न सक्छौं ? यदि यी सारा फर्जी अनि जालसांची तिकडम गरेर नजितेको भए बिजेताहरु सग्लो अनि अग्लो भएर हिड्न सक्ने थिए अहँ अहिले कसैको पनि हालत र हविगत सग्लो अनि अग्लो देखिंदैन | साच्चै ईमान, निष्ठा र बिश्वासकै मतले जितेको भए र यत्रो दस हजार छ सय त्रिसट्ठी सदस्यका निर्वाचित प्रतिनिधि पात्रले अग्नो र सग्लो उभिनु र हिड्नु पर्ने हो |

अहिले वर्तमान कार्यसमिती साधारण सभाको तयारीमा जुटेको छ अझ त्यो पनि “बिशेष” तर काम गराई ढांचा, ढर्रा र शैलीमा कुनै परिमार्जन या नवीनता छैन | मेरील्याण्डको अस्तव्यस्त अलोकतान्त्रिक साधारण सभामा भएको दुर्गती र कमजोरीलाई आंशिक भए पनि सच्च्याउने कुनै ईरादा या अभिष्ट छैन | हिजो गणपुरक संख्या नपुग्दाको स्थिति के भएको थियो अनि के गरिएको थियो? पुरक प्रस्ताब ल्याएर खारेज गरिएको हास्यास्पद पदहरु पछि कसको आदेशमा दुर्गा भुर्तेलले बहि खातामा उतारे? जोरीनै खोज्ने हो भने हामीसंग थुप्रै ठाउं छ तर अब त सिक्लान या सच्चिएलान भनेर हामी तैं चुप मैं चुप बसेको अवस्था हो तर त्यहि पेलेर लाने शैली र दम्भले नै अदालतसम्मको बाटो तय गर्यो | अहिले संस्थापनलाई लागेको होला केन्द्रिय अध्यक्ष शेष घले आएर उद्घाटन गर्नासाथ या बैधानिकताको लाहाछाप लाउना साथ संस्थाले बैतरणी पार गर्छ अनि दोष मुक्त हुन्छ ?

NRN 3

होइन आम प्रवासी नेपाली र सदस्यको नजर र नजिरमा यो कार्यसमिती सम्पूर्ण दोष मुक्त छैन | कमसेकम सम्मानित न्यायालयले यो साधारण सभा गर्ने मौका यो कार्यसमितीलाई दिएको छ | त्यसको मतलब निर्वाचन पुर्व र पश्चात गरेको र गराईएको उपल्लो नैतिक अपराध र दण्डहिनताले कुनै पनि शर्त र बहानामा उन्मुक्ती पाउनु हुँदैन | हामीलाई अरुले पैसा तिरेर बनेको या बनाईएको संसारकै सबभन्दा ठुलो राष्ट्रिय समन्वय समिती हुनु परेको छैन बरु सानो चुस्त अनि दुरुस्त संगठन भए पुग्छ | त्यस्तो संगठन निर्माण, न्याय सम्पादन र निरुपणको लागि हामी संचारकर्मीहरु चट्टानी अडानका साथ अडिग, अडेर र अधीर रहिरहने छौं |