/ आत्म समिक्षा / सम्झनाहरुको तरेलीमा आ-मरिखा – शैलेश श्रेष्ठ, न्युजर्सी, अमेरिका

सम्झनाहरुको तरेलीमा आ-मरिखा – शैलेश श्रेष्ठ, न्युजर्सी, अमेरिका

Shailesh Shrestha on August 14, 2018 - 9:30 pm in आत्म समिक्षा

छोरी निक्कै सानै थिई मेरो मन र दिमागबाट एमाले राजनीतिको धंगधंगी कत्ति पनि उत्रिएको थिएन । न्युयोर्कको कटेरोमा त्यति बेला एमाले मात्र होइन अन्य दलका नेता र अभिनेताहरुको घुईंचो नै लाग्ने गर्दथ्यो, आफन्तहरुको स्याहारसुसार गर्नु त हाम्रो परम्परागत दायित्वनै हुनेगर्दछ त्यसको त के कुरा गराई भयो र!
10884495_10153478640373662_936840559_n

अहिले सम्झंदा के के न गरियो त लाग्दैन बरु त्यो समयले हामीलाई उपलब्ध गराएको एउटा अनुपम अवसर थियो भन्ने चाँही लाग्दछ । सरकारले दिएको भत्ता बचाउन सांसदज्युहरु भोटेबहाल तिरको जस्तो सानो होटलमा पाँच-छ जना कोचिएर बसेका हुन्थे सकेसम्म आनन्द बिष्ट भाई र हामी मिलेर बाँडीचुंडी उहाँहरुलाई हात, साथ र बास दिन्थ्यौं । म सानैदेखिनै राजतन्त्र बिरोधि थिएँ मैले काम गरेको पार्टी एमालेले कुरो घुमाएर, मिलाएर आधा प्रतिगमन सच्चियो भनेर अनेक बहानामा राजतन्त्रको पक्षपोषण गरेको मलाई पटक्कै मन पर्दैनथ्यो । प्रवासबाट लोकतन्त्रको लागि आन्दोलन गरे बापत आनन्द बिष्ट भाई र म सँधै राज्यको निसानामा पर्थ्यों | सरकारले खटाएका सैनिक कर्मचारीहरु हाम्रो र्यालीमा आएर “…ए हजुर यहाँहरु नेपाल जाने हो कि नाईं..” भन्दै भिडियो खिच्थे । “मेजर साब, कर्णेल साब तपाईको नक्कली राजाको चांडै अन्त्य हुन्छ” भनेर हामी जवाफ दिन्थ्यौं ।

DC rally

हुन पनि स्वघोषित राजा सकिए तर देशमा मात्र होइन प्रवासमा पनि नयाँ नयाँ राजाहरु बढ्ने क्रम निरन्तर रह्यो । हिजोका भगौडा सिपाहीहरु, मानब तस्करी गर्दै विदेश भागेकाहरु, आफ्नै समुदायका मान्छेलाई लुटेर बाँचेकाहरु एमालेको जबज र कांग्रेसको समाजबादको ठेकेदार बनेका छन | पार्टीलाई नीति बुझ्ने स्वाधीन नेता चाहिएकै छैन चुनाबको बेला दुई तीन करोड पैसा उठाएर पठाउने बिचौलियाहरु चाहिएको छ । नेतालाई मुखमुखै लाग्ने स्वाधीन कार्यकर्ता अहिले चाहिएको छैन छँदाखाँदाको काम छाडेर घुमाउने, खुवाउने अनि टिकट काटिदिने आधुनिक दासहरु चाहिएको छ । नयाँ जोगीले धेरै खरानी घसेझैं उनीहरु गणतान्त्रिक मसिहा बनेर निस्किए अनि हामी बिरुद्ध सुराकी गर्दै उताको पार्टीमा कुरा लगाउन थाले । म फुर्सदमा मेरो राजनैतिक बिगत सम्झन्छु, म सँधै गणतन्त्रको पक्षधर प्रगतिशील सिपाही चाँही बनेछु तर अहिलेका हरु जस्तो दासता चाँही स्वीकार गरिनछु । त्यसैले त म कहीं कतै अटाईन ।

सुरुमै छोरीको कुरो निकालेर किन बिषय र सन्दर्भको बिट मारेन भन्नु होला । हामी हरेक पहिलो पुस्ताको बहाना नै “बच्चाको भबिष्य” भन्ने मुखमै झुन्डिएको हुन्छ तर यथार्थमा त्यसो गर्छौं कि गर्दैनौं त्यो आ-आफ्नो परिस्थितिमा भर पर्दछ । घरमा आउने हरेक एमाले नेताहरुले मलाई भन्ने गर्दथे “कमरेड, तपाई जस्तो मान्छे यसरी विदेश पलाएन हुने होइन, यी नानी सानै छिन यही बेला नेपाल लग्यो भने भाषाको पनि समस्या हुँदैन..ब्ला.ब्ला..!” मैले त उनीहरुलाई चिनी सकेको थिएँ तर मेरी श्रीमतीले नेताको कुरोको भेउ पाईनन क्यारे अर्को दिन एकाबिहानै मलाई भन्न थालिन बुढा नेताको कुरो ठिक हो जानु पर्छ । आमा-छोरीले भन्छन भने के भो र मेरो त मन र दिमागमा एमाले किरो सल्बलाएकै थियो । अर्को दिन बुढीको अर्कै चच्छुले काम गरेछ अनि भन्न थालिन “हैन हौ बुढा, तिम्लाई चाँही उकास्दै छन अनि तिनीहरु चाँही किन आफ्ना छोरा-छोरीलाई पढाउन, बिहा गरिदिन यता आउने जाने गरिरहेका छन त?”

बाहिर बाहिर अमेरिकालाई साम्राज्यबादी भन्दै गाली गर्ने तर अमेरिकी राजदुतावासमा अनुनय बिनय गर्दै आफ्ना छोरा-छोरीका लागि छात्रवृत्ति माग्ने मेरा कमरेड नेताका बारे म कहिले काँही बुढीलाई पनि यथार्थ सुनाउने गर्थें । उनी भन्न थालिन “हैन बुढा, अहिले त हामी नेपाल जाउँला गरि खाउँला तर भोली यही एक्ली छोरीको पढाईको लागि फेरी अमेरिका आउनु पर्यो भने त अहिले फर्किएको के नै अर्थ भयो र?
त्यो नै हाम्रो त्यस्तो पल, क्षण अनि हाम्रो गम्भीर छलफल थियो जसका कारणले हामी नेपाल फर्किएनौं ।

छोरीले आफ्नो मात्र होइन उनको आफ्नो बुताले हाम्रो सपना पुरा गरिदिईन बिश्वभरका बिद्यार्थीहरुले पढ्ने सपना देख्ने न्युयोर्क बिश्व बिद्यालयबाट ग्राजुएट भईन । स्वभाब र दैनिकीहरुबाट पार्टी प्रतिको बफादारी पूर्णरुपमा परित्याग गरेदेखि नेताहरुसंगको सम्पर्कअहिले पातलिएको छ तर सम्बन्धको धरातल उस्तै छ । मेरा कमरेडका सन्तानहरु पहुँचको कोटा र छात्रवृत्तिबाट ग्राजुएसन गरिरहेका छन तथापी मलाई रातो पुस्तक पढाउने कमरेड उतैबाट अमेरिकालाई सत्तोसराप गरिरहेका छन तर म एक जना स्वाबलम्बी श्रमजीवी कामदार अमेरिकाले दिएको अवसर, स्वतन्त्रता अनि स्वाधीनलाई मनबाटै सम्मान अनि सलाम गरिरहेको छु । अब छोरीको पढाईको लागि र उनको भबिष्यको लागि भन्ने बनिबनाउ बहानामा अमेरिका टाँस्सीरहनु पर्ने अवस्था हाम्रो छैन | साँचो अर्थमा अब चाँही स्वाधीन अनि स्वतन्त्र भएको चरम अनुभूति भईरहेको छ ।

Comments

comments

Comments are closed.