१३ बैशाख २०८१, बिहीबार ५:२९ | 04/25/2024 7:44 AM



मैले चिनेको शेष घले – शैलेश श्रेष्ठ, न्युजर्सी अमेरिका

१४ भाद्र २०७५, बिहीबार १२:१८ मा प्रकाशित

उनि अर्थात् शेष घले निक्कै बौद्धिक, सादगी अनि सरल मानिस हुन आम धनाढ्यहरुमा अक्सर यस्तो अनुपम सादापन र बिनयशिलता हुँदैन । उनीहरुमा पैसा भएपछी सबैलाई किन्न सकिन्छ र जे पनि सम्भब छ भन्ने दम्भ हुनेगर्दछ अनि अन्तमा त्यही सोंच र दम्भकै कारण उनीहरु फेरी उठ्नै नसक्ने गरि सकिन्छन । शेष घले बचनका पक्का भएको उनले त्यसताकानै पुष्टि गरिदिए जतिबेला कुखुरीले चल्ला छोपेको जस्तो गरेर उनका अमेरिका स्थित “भक्तजनहरु” ले उनलाई छोपेर राख्दा पनि एउटा सार्वजनिक समारोहमा उनले संखनाद गरिदिए “मैले अघिल्लो बर्षनै शैलेशजीलाई बचन दिएको छु एनआरएनएमा निर्वाचित भएपछीको प्रवासमा हुने मेरो पहिलो अन्तरवार्ता सम्प्रेषणमा हुनेछ र म भोली उहाँसंग वार्तालाप गर्दैछु ।”

NRN 3

उनको त्यो ईमान सुनेर म आफु पनि उपस्थित भएको समारोहमा निक्कै पग्लिएको थिएँ । पहिलो कार्यकालका अत्यन्त सफल एनआरएनए अध्यक्ष शेष घले दोश्रो कार्यकालमा जीत हाँसिल गर्ने नाममा राजनैतिक दलका ठुला नेताहरुको घरदैला चाहार्न थालेपछि मैले उनको विपक्षमा अमेरिकी भुमीमा रहेर संचार मार्फत निरन्तर कठोर प्रहारहरु गरेको थिएँ । अनेक राजनैतिक तिकडम गरेर जितेपछि कार्यक्रम स्थलमा आयोजना भएको तामसी उत्सबहरुमा केही पेड लठैतहरुको काँधमा चढेर विजय उत्सब मनाएको तस्विरहरु हेरेर मेरो मन निक्कै कुडिएको थियो । मेरो गहिलो बिश्वासमा बज्रपातनै भएको थियो । उनले सिर्फ जित्नकै लागि त्यत्ति तल झरिरहन आवश्यक थिएन भन्ने मेरो गहिरो बिबेचना अनि बुझाई थियो । मलाई त्यो कुरा पनि थाहा थियो त्यो उनको मनको चाहना भन्दा पनि केहि “राजनैतिक बिचौलियाहरु” र “तथाकथित घले क्याम्प” को संयुक्त ग्राण्ड डिजाईन थियो । उनको आंशिक र आवधिक अद्योपतन त्यही बिन्दुबाट सुरु भयो भन्ने पनि मेरो निजि मुल्यांकन छ ।

हाम्रो एनआरएनएलाई पूर्ण रुपमा राजनीतिमुक्त बनाउनु पर्छ भनेर संचार मार्फत निरन्तर स-शक्तरुपमा लागेको म जस्तो एकजना संचारकर्मीको लागि त्यो “कालो दिन” को आरम्भिक बिन्दु थियो । त्यही दिनबाटै मुलढोका बन्द गरिए जस्तो लाग्ने एनआरएनएमा चोरबाटोबाट दलगत राजनीति छिर्यो । त्यसको सम्पूर्ण अपजस लिने र स्विकार्ने साहास शेष घलेले गर्नै पर्छ । त्यसपछि अघिल्लो बर्षको चुनाबमा वर्तमान “सिन्डिकेट” लाई तोड्ने बहाना र चाहनामा एउटा जातको राजनीति गर्ने “हाईना झुण्ड” ले जमुना भाउजुलाई अगाडी ल्याएको खेललाई नबुझी तीनलाई “ग्रीन सिग्नल” दिंदा शेष घलेको उचाई र गरिमा ह्वात्तै घट्यो ।

जमुना भाउजुलाई भजाएर घले दम्पतीको द्रब्य कोपभाजन गर्ने आफ्नै वरीपरीका “हाईनावर्ग” का आसेपासेलाई उनले चिन्नै सकेनन । त्यस पछि त उनलाई सक्न चाहनेहरुले बिश्वब्यापी उत्सबको आरम्भ नै गरे । हामीले पनि सिर्फ हो मा हो मिलायौं कहिल्यै सचेतन स्व-मुल्यांकन गर्न आवश्यक ठानेनौं आखिर हाम्रो पुरातनिक आम संचार पनि बलेको आगो नै त ताप्छ नि! तर त्यही बहानामा अब हामी संचार र एनआरएनहरुले उनले गरेका असल कार्यहरुलाई चाँही बिर्सन हुँदैन र मिल्दैन ।

एलिट क्लबको मार र आरोप खपेको एनआरएनए निरन्तर सिक्ने क्रममै छ र यो संगठन वर्तमानमा जे छ त्यो अग्रज अभियन्ता उपेन्द्र महतो, देबमान हिराचन, जीबा लामिछाने, शेष घलेहरुकै मेहेनत र लगानीको योगफल हो । एउटा ठुलो सिन्डिकेटले जिताएको वर्तमान अध्यक्ष भबन भट्ट त एनआरएनए प्रयोगशालाका एक रसायन मात्र हुन । हरेक महत्वपूर्ण निर्णयहरु “उनले” होइन “उनीहरु” ले गर्ने गरेको कुरो बुझ्न अब हामीले बुझ पचाउनु हुँदैन । त्यो संगै शेष घलेलाई पाखा लगाएर अर्को आठ बर्षको “सिन्डिकेट” चक्रब्युह सिर्जना गर्ने “जिताउँ चट्ट भवन भट्ट” का हरेक काम, कर्म अनि कर्तुतहरुको आवधिक अनि सापेक्ष मुल्यांकन गरिनु हाम्रो संचार दायित्व पनि हुनेगर्दछ । त्यस्तो जिम्मेवारीमा कहीं कतै हामी संचार चुकेका त छैनौं?

हिजो आज मेरो मनमा एउटा यक्ष प्रश्नले घर गर्ने गरेको छ: होइन अष्ट्रेलियामा सँधै सफल मात्र भएका एक जना सफल उद्यमी ब्यबसायी शेष घले किन हाम्रो संगठनमा चाँही त्यही मुकाम र रफ्तारमा सफल हुन् सकेनन? कतै हामीले पो यथेष्ट सघाएनौं कि? या अनावश्यक गुटबन्दी र राजनीति गरेर काम गर्नै दिएनौं? अथवा उनलाई असफल बनाउनमा टुप्पी कसेर पो लाग्यौं कि?