१६ चैत्र २०८०, शुक्रबार ७:४७ | 03/29/2024 10:02 AM



उद्दण्डता र उन्मादको शिकार बन्दैछ गैरआवासीय नेपाली संघ – शैलेश श्रेष्ठ, सम्प्रेषण ब्लग, न्युजर्सी, अमेरिका

५ आश्विन २०७५, शुक्रबार ०१:२४ मा प्रकाशित

गैरआवासीय नेपाली संघका हाम्रा निर्वाचित अध्यक्ष “भबन” ले काठमाडौँमा निर्माण भईरहेको हामी आम गैरआवासीय नेपालीहरुको भावनाको “भवन” मा आँखा लगाएको र अहिले आएर अलिबढीनै अन्तरिक राजनीति गरेको चर्चा अहिले व्यापकरुपमा बाहिर आएको छ । बाहिरबाट हेर्दा उनको नेतृत्व जस्तो देखिने तर अन्तैबाट परिचालित वर्तमान संस्थापनले काठमाडौँको निर्माणाधीन भवनमा मात्र होइन शेष घलेको महात्वाकाँक्षी परियोजना र बिरासतको रुपमा बुझिने लाप्राक नमुना बस्ती माथि पनि आँखा लगाएको चर्चा अहिले एनआरएनए वृत्तमा भुसको आगो जस्तै सल्किएको छ ।

Shailesh Sampreshan

उनीहरुका थुप्रै करनीहरुले त्यो आम आरोपलाई एक हदसम्म सत्य सावित गरिदिएकोछ । भबन भट्ट भितर र भबन भट्ट ईतरको अन्तरिक खिचातानी, शक्तिसंघर्ष र लफ्फाबाजीसंग हामी आम मान्छेलाई कुनै रुची, चासो अनि सरोकार छैन तर उनि अथवा कसैले नियतबश प्रमाणिक सापेक्ष कसुर गरेको छ भने त्यसको यथोचित ब्यबस्थापकीय र न्यायिक निरुपण गरिनुपर्दछ । लाप्राक बस्तीको आफ्नै दुरुह कथा र ब्यथा छ जहाँ अध्यक्ष भबन भट्ट र वर्तमान संस्थापनले चुनाब जित्नासाथ त्यही जीतको उन्मादमा लाप्राक नमुना बस्तीको निर्माण कार्यलाई तीन महिनाको लागि स्थगन गर्ने उन्मादी आदेश जारी गरिदिए । त्यो अहम र उन्मादको अभिष्ट र अन्तर्य निवर्तमान अध्यक्ष शेषको बिरासत मेटाउनु मात्र होइन निमिट्यान्न नै पार्नु थियो भन्ने कुरा बुझ्न कठिन छैन ।

संसारको कुनै अँधेरो अबिकशित कुनामा पनि अब यस्तो तोकआदेशबाट चल्ने जंगलराज कुनै हालतमा चल्दैन किनकी अब हामी पारदर्शी लोकतान्त्रिक स्वर्णिमकालमा प्रवेश गरिसकेका छौं जहाँ ठिक र बेठिक छ्याङ्ग देखिन्छ । अर्को तिर त्यसबेलादेखि अहिलेसम्मनै शेष घले घराना र संस्थापनको जयजयकार गर्ने एउटा भजन मण्डलीले यो बिषयलाई निरन्तर अतिरंजन गर्ने गरेको छ । शेष घले र जमुना घलेको प्रायोजित समाचार आउनासाथ दुई लाईन पनि नपढी “सेयर” गर्ने केही पराजितहरु यो बिषयको निरुपण होइन थप जटिलता चाहन्छन । उनीहरु भाले जुधाएर ताली पिट्दै हारको तुस मेट्न चाहन्छन र उनीहरुले ठ्याक्कै त्यस्तै भूमिका निर्वाह गरिरहेकाछन । वर्तमान यथार्थ उनीहरुले आरोप लगाएको जस्तै ठ्याक्कै नभएपनि मेरो विचारमा त्यो विषाक्त आरोपहरुले यथार्थमा अहिले भए गरेको सत्य खोज्न चाँही अहम भूमिका पक्कै निर्वाह गर्छ ।

“जिताउँ चट्ट भबन भट्ट” को उन्मादी अन्तर्राष्ट्रिय तरंग पैदा गरेर द्रब्यबलले एनआरएनए कब्जा गरेको केही हप्तामै अध्यक्ष भट्टले एउटा गलत निर्णय गरेका थिए त्यो हो बिना कारण र आधार कार्यकारी निर्देशक राजेश राणालाई हटाएर आफ्ना प्रिय पात्र हेमन्त दवाडीलाई भर्ति गर्नु । अन्तत: नेपालको न्यायपालिकाले जबर्जस्त बर्खास्त गरिएका राजेश राणालाई न्याय दिएर क्षेतिपूर्ति सहित पुनर्नियुक्ति गर्न न्यायिक आदेश जारी गरिदियो । त्यस परिघटनामा पनि अध्यक्ष भबन भट्ट र महासचिब डा. बद्रि के.सी.ले आजको दिनसम्म शालीन याचना गरेका छैनन ।

अबको करिब एक महिनापछि काठमाडौँमा ग्लोबल कन्फरेन्स हुँदैछ अझ अहिले त यस्ता सभा सम्मेलनहरुका अगाडी “बिज्ञ” जोड्ने फेसननै चलेको छ । यस्तो लाग्छ यो एनआरएनए भनेको बिज्ञहरुकै बपौती हो । तर महासयहरु एउटा कटु यथार्थलाई अहिलेबाटै मनन गर्नुस बिज्ञता बहुलट्ठी स्व-घोषणाहरुले आर्जन हुँदैन त्यो त सिकाई, भोगाई र याचनाहरुको अनवरत अनि गतिशील योगफल पो हो । तपाईहरुमा “जजमेन्ट” र “विईसडम” भएन भने जत्ति ठुलो भींड जम्मा गरेर आफ्नो पक्षमा जयजयकार गराए पनि हामी आम एनआरएनएले चाहेको जस्तो परिणाम आउँदैन बरु ताकत छ भने नियतबस बदमासी अथवा कैफियत गरेको छैन भन्ने आधारभुमी तयार गररे त्यस्तो स्व-निर्णयका अधिकार सबैलाई दिनुस किनकी यो संस्थाको सफलता एकल नेतृत्व अथवा स्वामित्वको आधारमा होइन बरु सामुहिक भावना र चाहना सहितको सामुहिक नेतृत्वमा मात्र सम्भब छ ।

तपाई हामी बर्षौं र अझ दशकौंदेखि पध्दती र प्रक्रियामा चल्ने मुलुकहरुमा बसोबास गरिरहेका छौं जहाँ भींडले होइन तर्क र प्रमाणले सत्य सावित गर्ने गर्दछ । आफु बसेको समुन्नत देशबाट तपाईहरुले अलिकति मात्र पनि सिक्नु भएको छ भने यि यावत बिषयहरुमा आम प्रश्न उठिरहेको बेला ग्लोबल कन्फरेन्सको यहि मौकामा एउटा बिबिध क्षेत्रका अनुभवी बिज्ञ तथा ज्ञाताहरु रहेको एउटा स्वतन्त्र चरित्रको छानविन समिति गठन गर्ने साहस गर्नुस जसले आज सतहमा आएका, देखिएका र आरोपित घटना र बिषयको बारेमा छानविन गरेर बृहत प्रतिबेदन सार्वजनिक गर्दछ । त्यसले भबन भट्टको पालोमा भए गरेका मात्र होइन अघिल्ला सत्रहरुमा भए गरेका बेरुजु र अपचलनहरु फेहरिस्त तयार पर्दछ । यस्ता उद्दण्डता, सर्वसत्ताबाद र दण्डहिनताहरुको न्यायिक निरुपण बिना अग्रज तथा अभियन्ताहरुले परिकल्पना गरेको जस्तो सबैले आफ्नो स्वामित्वको अनुभूति गर्न सक्ने एनआरएनएको संस्थागत विकास किमार्थ सम्भब छैन ।