८ बैशाख २०८१, शनिबार १२:४९ | 04/20/2024 3:04 AM



रिलिजिअस प्रपोगण्डा! – शैलेश श्रेष्ठ, न्युजर्सी अमेरिका

१६ माघ २०७५, बुधबार २१:४१ मा प्रकाशित

“गड” र “गन” मध्य दक्षिणपन्थी अमेरिकाका र अमेरिकी शासन प्रणाली र प्रचलनका आधारस्तम्भ र धरोहरहरु हुन । भन्नकै लागि जे भनिएपनि “गड” र “गन” बाटै निश्रित अनि सिर्जित भएका छ्न प्राय: हरेक मध्य दक्षिणपन्थी अथवा अतिबादी शासकहरु । जिमी कार्टर र बराक ओबामाहरु अमेरिकी राजनीति मात्र होइन कालखण्डकै दुर्लभ “एक्सेप्सन” हरु हुन भने बर्नी स्याण्डर्स अनवरत अभियान अनि स्थायी प्रतिपक्षीय जनआवाज ।

आफ्ना रंग र नश्लकाहरुलाई उद्वेलित गर्दै उचाल्दै स्वेत सर्बोच्चताबादको “प्ले-बुक” मार्फत शक्ति हात पार्न सफल भएका एकताकाका बैङ्क्रप्ट ब्यापारी डोनाल्ड जे ट्रम्प अहिले प्रशासनिक र नैतिक स्खलनको पतन बिन्दुमा छ्न । हरेक अनुदार र अलोकप्रिय शासकले आफ्नो सत्तालिप्साको मनोकांक्षा लम्ब्याउन प्रकोप या युध्दको ब्यूहरचना गर्ने गर्दछ । त्यही शुत्रमा उसले संघीय सरकार ३५ दिन ठप्प पारेर आठ लाख श्रमजीवी कामदारहरुको मनमा भय र आशंकाको “युध्द” सिर्जना गरिदियो । अन्तत: जिरहा र जिताहा स्वभाबका ट्रम्पको रणनैतिक मात्र होइन राजनैतिक पराजय भयो । आफ्नो कमजोरी शालीनतापुर्वक भन्ने पश्चिमा शैलीको प्रचलनलाई कुल्चदै राष्ट्रपति ट्रम्पले तल्लो सदनले आफुले माग गरेको ५ पोईन्ट ७ बिलियन डलर उपलब्ध नगराए आफ्नो कार्यकारी अधिकारको प्रयोग गर्दै संकटकालको घोषणा गर्ने धम्की सार्वजनिक गरे ।
Trump with Bible class i the school
अमेरिका मात्र होइन अब सारा दुनिया जानकार भईसकेको उसको जिध्दीका बारेमा । आफ्नो गिरेको साख बचाउन र सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा पुनर्निर्वाचित हुन उ नयाँ नयाँ कार्डको खोजीमा छ | उसले कहिले सिरिया भेट्छ त कहिले उत्तर कोरिया । अहिले आएर ट्रम्प आफ्नो अतिबादी धार्मिक कित्तालाई सुरक्षित राख्नका लागि “धर्म” को कार्ड प्रयोग गर्न कस्सिएर अगाडी आएको छ । अमेरिका संबिधानत: धर्मनिरपेक्ष राष्ट्र हो ।

चर्च र राज्य (सेपरेसन अफ चर्च एण्ड स्टेट) छुट्टीएकै करिब अढाई सय बर्ष भईसक्यो तर एक्काईसौं शताब्दीको यो उदार सेक्युलर युगमा आएर अहिले राष्ट्रपति ट्रम्प फर्स्ट एमेण्डमेन्ट (१७९१) ले प्रत्याभूत गरेको संबैधानिक अधिकारको बिरुद्धमा गएर सरकारी स्कुलहरुमा बाईबलको धार्मिक र नैतिक शिक्षा पाठ्यक्रममा राख्ने प्रस्ताब गरिरहेका छन । सन् १७९१ मा र्याटीफाई गरिएको उक्त अमेण्डमेन्टले कांग्रेसले धर्मसंग सम्बन्धित कुनै पनि कानुन बनाउने छैन र कुनै पनि धार्मिक समुहलाई उनीहरुको धर्मको अभ्यास गर्न निषेध गर्ने छैन भनेर स्पष्ट शब्दमा भनिएको छ ।
राष्ट्रपति ट्रम्पका अन्तिम अस्त्रहरु पनि निशन्देह: “गड” र “गन” नै हुन ।