७ बैशाख २०८१, शुक्रबार ८:२७ | 04/19/2024 10:42 AM



हामी जित्नेछौं – शैलेश श्रेष्ठ, न्युजर्सी, अमेरिका

१ फाल्गुन २०७५, बुधबार १४:५८ मा प्रकाशित

आखिर “आवाज” मा जति ताकत र शक्ति अरु केहीमा छैन त्यसैले त म साथीभाईहरुलाई “बोलौं है” भन्छु । हिजो डीसीमा भएको टीपीएस अलाएन्सको बृहत र्यालीमा सहभागी हुन हामी पनि अधिकारको नेतृत्वमा त्यहाँ पुग्यौं, जसमा नेपाली संघ-संगठन अनि समुदायको ठुलो सहभागिता रह्यो ।
TPS rally Narbada Jee

अधिकारले संयोजन गरेका तीन वटा ठुला बसहरुमा हामी पुग्दा अन्य क्षेत्रबाट पनि ठुलो संख्यामा नेपालीहरु र्यालीमा भाग लिन त्यहाँ पुगिसकेका थिएँ । सहभागी संख्यामा मात्र होइन उर्जाका हैसियतले पनि हाम्रो उपस्थिति ठुलो अनि बृहत थियो । न्युयोर्कको सर्वाधिक ठुलो संगठन मानिएको तर देखिने गरि आम मानिसका सरोकारका मुद्दाहरुमा सोंचे जस्तो काम गर्न नसकिरहेको जनजाती महासंघ (फिप्ना) को क्रियाशीलताले म निक्कै खुसी भएको छु । करिब तीन घण्टा अलाएन्सले तय गरेको नारा लगाउंदै जुलुसमा त्यो उर्जा प्रदर्शन गर्दै नेपालले त्यहाँ बाजी मारेको थियो । हल्का हिमपात, अत्यन्त चिसो मौसम र अनवरत सिमसिमे पानीले नेपालीहरुको उर्जा र ताकतलाई कत्ति पनि रोकेन । नारा जुलुसमा सक्रियरुपमा सहभागी भईरहँदा मैले “आँधीले रोक्न सक्दैन हुरीले छेक्न सक्दैन” भन्ने गीत सम्झीरहें । यस्तो लाग्थ्यो नेपाली भन्ने जातले हार्न र भाग्न जानेकै छैन ।
TPS rally FIPNA

टीपीएस स्टाटस पाएका १३ राष्ट्रका नागरिकहरुले प्रदर्शन गरेको यो ताकतले प्रतिपक्षी डेमोक्रेटिक पार्टी र त्यसका नेताहरुलाई थप “बार्गेन पावर” (मोलतोल शक्ति) प्रदान गरेको छ । रंगभेदकै कारण राष्ट्रपति ट्रम्प र उनको प्रशासनले अमेरिकी संबिधानको “नेसनालिटी-एक्ट” अन्तरगत नेपालले २०१५ देखि पाएको टीपीएसको सुबिधालाई रध्द गर्ने निर्णय गएको भन्ने जिकिर गर्दै नेपाल र हंडूरसले होमल्याण्ड सेक्युरिटी सेक्रेटरी सचिब क्रिस्टजीन नेल्सनलाई बिपक्षी बनाउँदै एउटा मुद्दा (लसुट) नर्दर्न क्यालिफोर्नियाको अदालतमा दायर गरिएको छ जसलाई क्रिस्टजीन बिरुद्ध भट्टराई भनेर दर्ता गरिएको छ ।
Bhattarai Vs Neljesen

यदि सर्वाधिक उदार मानिने त्यो कोर्टका न्यायाधिशले ट्रम्प प्रशासनको निर्णयलाई बदर गरिदिएको खण्डमा नेपाल र हंडूरसका टीपीएसबाहकहरुले सकिएको मितीबाट अर्को नौ-नौ महिनामा नवीकरण गर्न सक्ने सुबिधा पाउने छन यस्तै खाले निर्णय सोही अदालतले गत अक्टोबर महिनामा अन्य टीपीएसबाहक राष्ट्रहरु एल साल्भाडोर, हाईटी, निकारागुआ र सुदनको सन्दर्भमा गरिसकेको छ तथापी यसले स्थायी समधान चाँही दिदैन त्यसका लागि अघिल्ला बर्षहरुमा दर्ता गरिएका दुई बिधेयकहरु “अमेरिकन प्रोमिस एक्ट” र “सेक्युर एक्ट” लाई पुनर्परिभाषित गर्दै नयाँ बिधेयकका रुपमा पेस गरिनु पर्ने हुन्छ । अमेरिकी तल्लो सदन “हाउस अफरेप्रेजेन्टेटिभ” मा प्रतिपक्षी डेमोक्रेट पार्टीको प्रचण्ड बहुमत भएका कारण त्यस्तो बील सहजै पास हुनसक्दछ तर त्यसलाई राज्यको कानुन बन्नको लागि माथिल्लो सदन सिनेटले पनि अनुमोदन गर्दै राष्ट्रपतिले हस्ताक्षर गर्नु पर्ने हुन्छ । अहिलेको राजनैतिक परिदृश्य अनि समीकरणमा त्यो निक्कै कठिन भएपनि सर्वथा असम्भब नै चाँही छैन । कुरोको चुरो त्यही निर छ सँधै अध्यागमनलाई राजनैतिक जीत र हारको अस्त्र बना उँदै आएको डेमोक्रेटिक पार्टीले यो बिषयलाई ईमानमा साथ समाधान खोज्छ कि सन २०२० को राष्ट्रपतीय निर्वाचनमा प्रयोग गर्न “राजनैतिक कार्ड” का रुपमा संचय गरेर राख्दछ ।
AOC speaks
नेसनल टीपीएस एलायन्सको र्यालीलाई सम्बोधन गर्दै कांग्रेसउमेन अलेकसान्द्रिया ओर्कासियो-कोर्टेज (एओसी)

अबको अड्चालिस घण्टामा पनि कुनै पनि सम्झौता भएन भने अमेरिकी सरकार पुनः सटडाउन हुनेछ भने हिजो आप्रवासीहरुले राजधानीमा गरेको शक्ति प्रदर्शनले दम्भी ट्रम्प प्रशासनलाई अलिकति निहुरिन बाध्य पार्ने पक्का छ तर त्यसको गुणात्मक परिणाम वर्तमान डेमोक्रेटिक पार्टीका शक्तिशाली सभामुख नान्सी पलोसी र माथिल्लो सदन सिनेटका माईनोरिटी लिडर चक सुमरमा निर्भर गर्दछ ।
हुन त त्यो बिसाल भींडमा मैले नदेखेको पनि हुन सक्छ (आउनै पर्छ भन्ने मेरो आसय पनि होइन) तर मेरा आँखाहरुले सामाजिक अभियान र एनआरएन अभियान मार्फत समुदायको हितमा काम गर्ने संखनाद गर्ने केही नेता नेतृत्व र आफ्नै सहधर्मी संचारकर्मीहरुलाई खोजिरहेको थियो । मेरा संचारकर्मी मित्र भाईहरु विजय थापा, प्रकाश श्रेष्ठ, शिब मल्ल, राजेन्द्र सेन्चुरीहरुलाई त्यो भींडमा देखेर अनि भेटेर मलाई निक्कै खुसी मात्र होइन गर्ब पनि लाग्यो । कृष्ण जीबी पन्थ र अर्जुन जंग कुँवरले पोस्ट गरेका तस्विरहरु हेर्ने सौभाग्य प्राप्त भयो तर भेट्ने अहोभाग्य जुरेन ।

म्यासाच्युसेट्स राज्यका गभर्नरका सल्लाहकार प्रल्हाद केसी, एनआरएन अमेरिकाका बोर्ड अफ डाईरेक्टर तृष्णा काफ्ले शर्मा सहित बोस्टनबाट आएका प्रतिनिधि मण्डल सदस्यहरु र अन्य राज्य तथा सहरहरुबाट यो अभियानमा जोडिन आएका सहभागीहरुको प्रसंशा मैले अहिले निजिरुपमा गर्नु भन्दा पनि पछि एकमुष्टरुपमा आउने सार्थक परिणामहरुले हाम्रो संयुक्त प्रयासहरुको समसामयिकताको पुष्टी गर्नेछ । बिसाल र्यालीको अलावा दुवै सदनका निर्वाचित प्रतिनिधिहरुलाई भेटघाट गरेर टीपीएसलाई बिधेयकहरुको माध्यमद्वारा स्थायी समाधान खोज्नको लागि भएको भेटघाटमा पनि हाम्रा नेपाली प्रतिनिधिहरु व्यस्त गरेका थिए । त्यसका बारेमा नेपाली समुदायका तन्नेरी व्यक्तित्व अनुज जंग कुँवरको फेसबुक लाईभ पनि सार्वजनिक भईसकेको छ भने त्यस्ता भेटघाटहरुलाई हाम्रा समुदायका अगुवाहरुले आ-आफ्ना पहुँचका आधारमा सहज गरिदिएका थिए ।
TPS Boston team with Sen Ed Markey
बोस्टनबाट आएका नेपाली प्रतिनिधि मण्डल म्यासाच्युसेट्स राज्यका सिनेटर एड मार्कीको कार्यालयमा ।

एनआरएन अमेरिकालाई त्यो क्षेत्रबाट औपचारिक अनौपचारिक नेतृत्व गर्नु भएका हाम्रा कुनै तथाकथित अभियन्ता नेताज्युहरु पनि आएर हामीसंगै हाम्रो नेपाली झण्डा सहित टीपीएस अभियानको एउटा प्लेकार्ड बोकेर एकछिन हामीसंगै हिडी दिनु भएको भए साँचो अर्थमा हामी उहाँहरुलाई नेता मान्थ्यौं । तर मेरा थकित आँखाहरुले उनिहरुलाई त्यो बिसाल र्याली र भींडमा कहीं कतै देख्न अनि भेट सकेन । अब “खोई त हामीलाई चाहिएको बेलामा हाम्रा एनआरएन नेताहरु देखा नपर्दो रहेछन त?” भनेर यो निर्वाचनको सिजनमा देश दौडाहामा निस्किएका अहिलेका र अबको निर्वाचनका आकांक्षी नेताहरुलाई कोही आम एनआरएनले औंला उठाए भने म चाँही आश्चर्य मान्ने छैन । धन्न वर्तमान बोर्ड अफ डाईरेक्टर न्युयोर्कका आङ्ग निमा ग्याल्जेन शेर्पा उपस्थित भएर लाज बचाएछन! टीपीएसका हरेक अभियानहरुमा उनि स्वार्थरहित भएर पुग्ने गरकाछन ।

अब नेपाली समुदायमा मुखले ठुलो कुरा गरेर तात्कालिक लाभ-हानीको हिसाब किताब गरेर आफुलाई अभियन्ताको स्व-घोषणा गर्ने होइन निस्वार्थ भाबले लागि पर्ने सरल अनि ब्यबहारिक नेतृत्वको आवश्यकता छ | टीपीएस अभियानमा संचार मार्फत जोडिदै डीसी र्यालीमा सहभागी भएका मेरा संचारकर्मी मित्रहरु प्रदीप परियार र अकुर लुइंटेललाई पनि धन्यबाद भन्न चाहन्छु ।

हिजोको जुलुसमा नथाकी नभागी सम्पूर्ण अबधि एकोहोरो नारा भट्याउने यि साहसी नेपाली को थिए? उनको नाम के हो? बसबाट घर फर्कंदा मेरो मनले बाटोभरि उनको ताकत र शक्तिलाई सम्मान गरिरह्यो अनि उनलाई भेटेर नाम सोध्दै मनभरिको धन्यबाद दिन नपाएकोमा ग्लानीको अनुभूत पनि गर्यो । उनि को थिए? उनको नाम र परिचय जो र जे भए पनि उनि अपराजयी नेपालीको पर्याय थिए, हार्न कहिल्यै नजान्ने अनि समस्याहरुसंग नभाग्ने साहसका प्रतिक! उनि लगायत सप्पै सप्पैमा मनभरिको सम्मान अनि साधुबाद!

तस्विर साभार: प्रदीप परियार, राज कुमार बिष्ट, अनुज जंग कुँवर र नेसनल टीपीएस एलायन्स