१५ चैत्र २०८०, बिहीबार ११:०७ | 03/28/2024 1:22 PM



मनको आदेश – शैलेश श्रेष्ठ न्युजर्सी, अमेरिका

४ जेष्ठ २०७६, शनिबार ०२:१२ मा प्रकाशित

थुप्रै तरल र विषम परिस्थितिहरु पार गर्दै अन्तत: गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका निर्वाचनको संघारमा आईपुगेको छ । भोली र पर्सी गरि सम्पन्न हुने एनआरएनए अमेरिकाको चुनाबमा म तपसिलका चरित्र भएका पात्र र प्रबृत्तिहरुलाई आफ्नो अमुल्य “मत” दिन्न:

सम्प्रेषणको आयोजनामा गत बर्ष लस एन्जलसमा भएको सामुदायिक अन्तरक्रिया कार्यक्रम
सम्प्रेषणको आयोजनामा गत बर्ष लस एन्जलसमा भएको सामुदायिक अन्तरक्रिया कार्यक्रम

~ यता बसेर उताको मात्र “राजनीति” गरेकाहरु र अझै त्यसैलाई जायज ठान्दै, पक्षपोषण गर्दै भात्री संगठनहरुको बिस्तारमा निरन्तर
लागेकाहरु
~ आफ्ना र परिवारका बाहेक अन्य बिषय र मुद्दा (टीपीएस, आप्रवासन जस्ता) मा सिन्को नभाँचेका र केही गर्ने रुचि समेत नभएकाहरु
~ “जात” र “धर्म” को आधारमा “मेरो” र “तेरो” को विषम र विषाक्त खेतीमा रमाएकाहरु
~ देखिने आय आर्जन र कमाई नभएकाहरु तर ऐयासी, सौखिन र आलिशान जीवन बाँचेकाहरु
~ अमेरिकी प्रवासमा बसेर पनि हाम्रै मूलका गरिब, कामदार र श्रमजीवी वर्गका आफ्नै दाजु-भाई तथा दिदी-बहिनीहरुलाई बिभिन्न बहाना र
प्रलोभनमा ठगी गर्ने गरेका आरोपितहरु
~ अर्को कुनै ठुला संगठनमा बहालवाला जिम्मेवारी निर्वाह गर्दै कार्यकारी पद सम्हालेर बसेकाहरु
~ अमेरिकी न्यायालयले कसूरदार ठहर्याएकाहरु
~ महिनौं अघिदेखि ठुलो पदमा उठ्ने हल्ला फिजाउँदै सामाजिक संजालको दुरुपयोग गरेर अहिले आएर राजनैतिक शक्तिकेन्द्र र अन्नदाताको
आदेशलाई सिरोपर गर्दै “घटुवा” हुन तयार हुँदै पहिले घोषणा गरेको भन्दा तल्लो पदमा बस्न राजी भएका पदपोलुप र लालचीहरु
~ नैतिकरुपमा बिचलित बिचौलिया र आरोपितहरु
~ प्रवासमा भात्रीसंगठनमार्का दलगत दासतायुक्त उताको राजनीति गर्नु हुन्न भन्दै मातृभूमीमा पानी अलिकति धमिलो भएको देख्नासाथ यतैबाट
पश्चगमनको स्वैरकल्पना र सपनामा “हाम्रा राजा हाम्रो देश प्राण भन्दा प्यारा छन” को मनोगत एषणामा रमाउनेहरु ।
~ घोषणा गरेको पदकै लागि पनि अनुभब र सक्षमताको आधारमा उपयुक्त नदेखिएकाहरु

निर्वाचन हो जीत या हार भईहाल्छ तर हरेक तिकडम गरेर हात पारेको शर्मनाक जीत भन्दा मान्छेहरुको मन जितेर प्राप्त भएको सम्मानजनक हार स्वीकार्ने मान्छे मेरो लागि सामाजिक नेता या अभियन्ता हो अन्यथा शक्ति र द्रब्यको माध्यामबाट चुनाब जित्नेहरु हाम्रा प्रतिनिधिहरु होइनन सिर्फ नाफाखोर ब्यापारी हुन । नाफाको लागि राजनैतिक शक्ति केन्द्र धाउनेहरुलाई यसपाली छानीछानी हराउनु पर्छ ।

शैलेश श्रेष्ठ
संचारकर्मी तथा आजीवन सदस्य
गैरआवासीय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद
अमेरिका