१६ चैत्र २०८०, शुक्रबार ६:०९ | 03/29/2024 8:24 AM



एनआरएनए “कब्जा” गर्ने कांग्रेसको नयाँ “भूमिगत” रणनीति? – शैलेश श्रेष्ठ न्युजर्सी, अमेरिका

१८ आश्विन २०७६, शनिबार ०१:५९ मा प्रकाशित

अन्तत: माउ पार्टी नेपाली कांग्रेसको भात्री संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाले भाई कांग्रेस अर्थात् नेकपाको भात्री संगठन प्रवासी नेपाली मंचकै जस्तो “माछो आए दुलो भित्र हात, सर्प आए दुलो बाहिर हात” को “भूमिगत” रणनीति अङ्गीकार गरेको छ । सन् २०१६ अगाडीसम्म नेपाली जनसम्पर्क समितिका कार्जेकर्ताहरु “एनआरएनए अमेरिकालाई “कब्जा” गर्ने हो” भनेर खुलेआम भन्थे तर उनीहरुले पछिल्लो कालखण्डमा यो संस्थालाई अमेरिकी संघीय कानुनको अधिनमा रहने गरि गैर नाफामुलक ५०१ (सी) ३ अन्तरगत दर्ता गराएपछि उनीहरु पनि प्रवासी नेपाली मंच पथकै शैली र रणनीतिमा छद्मभेषी चलखेल गर्न उद्दत हुने थालेका छन । गैर नाफामुलक भनेको गैर राजनैतिक पनि हो भन्ने कुरो चाँही उनीहरुले थाहा पाएर पनि बुझपचाई रहेका छन त्यसैले त खुल्लमखुल्ला आफ्नो वेबसाईटमा आफ्नो माउ पार्टीको झण्डा र चुनाब चिन्ह राखेर प्रवासमा दलगत र अझ गुटगत राजनीति गरिरहेका छन ।
Nepali Janasampark letterhaed new
एनआरएनएको निर्वाचन आचारसंहिताले एनआरएनएमा कार्यकारी समितिमा निर्वाचित या मनोनित भएको व्यक्तिले यदि जात, धर्म र राजनीतिसंग सम्बन्धित अन्य संस्थामा कार्यकारी पद सम्हालेर बसेका छन भने त्यहाँबाट राजिनामा दिनुपर्ने भनेर स्पष्ट शब्दमा भनिएको छ तर त्यो प्राबधानको ठाडो अबज्ञा गर्दै एनआरएनए अमेरिकाका निर्वाचित बोर्ड अफ डाईरेक्टर चेत प्रसाद (सीपी) पौडेल र मनोनित प्रवक्ता ओम भट्टराईले अहिलेसम्म पनि नेपाली जनसम्पर्क समितिमा सम्हाली आएका पदहरुबाट यो आलेख लेखिरहँदाको क्षणसम्म राजिनामा दिएका छैनन । उनीहरु ति पदहरुमा अझै मौजुदा रहेको कुरा नेजसका अध्यक्ष तथा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य आनन्द बिष्ट (गोरख बिष्ट) र महासचिब मुनिन्द्र नेम्बाङ्गले पुष्टी गरेका छन । त्यसमाथि ओम भट्टराई नेपाली कांग्रेस पार्टीको युवा संगठन तरुण दलमा पनि क्रियाशील हरेको तथ्यहरु उनकै स्टाटसहरुले पुष्टी गर्ने गरेको छ । उनीहरु उपर एनआरएनएको अनुशासन समितिमा मुद्दा परेको कुराको पुष्टी सरोकारवाला सबै पक्षले गरेका छन

तर आज दिउँसो मैले नव-नियुक्त प्रवक्ता ओम भट्टराईसंग निजिरुपमा सम्पर्क गरेर कुरा गर्दा नेजस, अमेरिकाबाट आफुले राजिनामा दिईसकेको बताए । त्यसै गरि सीपी पौडेलसंग पनि मैले सम्पर्क गरें | उनले भने संगठन सन् २०१६ पछि ५०१ (सी) ३ को मातहतमा गएकोले अब यो संगठन नेपाली कांग्रेसको भात्री संगठनको हैसियतमा नरहेकोले आफुले राजिनामा दिईरहनु नपर्ने कुराको जिकिर गरे । त्यसो भनिरहँदा उनीमा चिचीको पनि लोभ अनि पापाको अनि लोभ रहेको बुझ्न मलाई कत्ति पनि कठिन भएन |सन २०१४ देखि निर्वाचन नभएको नेपाली जनसम्पर्क समिति, अमेरिकाको निर्वाचन यही आउँदो डिसेम्बर महिनामा हुने भएको छ । उपसभापति भईसकेको मान्छेले एक तह माथि जाने अभिलाषा र आकांक्षा राख्नु नाजायज हुँदै होइन तर माउ पार्टीको चारतारे झण्डा र चुनाब चिन्ह रुख सहित दशकौंदेखि अमेरिकी प्रवासमा खुल्लामखुल्ला संगठित राजनीति गरिरहेका उनीहरुले हाम्रो संगठन राजनैतिक होइन भन्नु चाँही निकै हास्याष्पद प्रसंग हो । अमेरिकी मौजुदा कानुनी प्राबधान अनुसार ५०१ (सी) ४ अन्तरगत दर्ता नगरी राजनीतिक गतिबिधी गर्न नपाईने कुरोको ज्ञान उनीहरुमा छैन भनेर उनीहरुको नजरअन्दाज गर्ने धृष्टता चाँही म गर्दिन ।
Janasampark CP and Om
सन् २०१४ मा अध्यक्षमा निर्वाचित हुना साथ तात्कालिक अवस्थामा खगेन्द्र क्षेत्रीले नेजस, अमेरिकाबाट आफ्ना संलग्नताहरु परित्याग गरेका थिए भने बोर्ड अफ डाईरेक्टरमा निर्वाचित हुना साथ नेजस मिचिगन च्याप्टरका सभापति धर्म भट्टराईले तत्काल राजिनामा दिएका थिए | यहीं न्युयोर्कमै पनि २०१५-१७ को निर्वाचनमा महासचिबको उम्मेदवार बन्ने निधो गर्ना साथ बाबुराम (बीआर) लामाले आफु संलग्न हिमालय बुध्दिष्ट कम्युनिटीमा सम्हालेको कार्यकारी पदबाट राजिनामा गरेका थिए । नेपाली जनसम्पर्क समितिको एकछत्र राज भएको एनआरएनए अमेरिकामै पनि हामीले केही राम्रा नजीरहरु बसाएका थियौं तर अहिले आएर दलगत राजनीतिमा रमाएकाहरु थप आक्रामक बन्दै एनआरएनएको अभियानलाई धरासयी बनाउन थप क्रियाशील र उद्दत बनेका छन ।

“कोही कसैले उम्मेदवार बन्न चाहेमा मनोनयनको समयमा आफु अन्य जातीय, धार्मिक या राजनैतिक संगठनहरुमा कार्यकारी पद सम्हालेर बसेको अवस्था भए त्यहाँ राजिनामा दिएर राजिनामा स्वीकृत भएको पत्र पनि मनोनयनको समयमा बुझाउनु पर्ने छ” भनेर कडा निर्वाचन आचारसंहिता बनाउने एनआरएनए आईसीसी र त्यस अन्तरगतको “कागजी बाघ” अनुशासन समिति अबको अवस्थाहरुमा सिर्फ रमिते मात्र बन्ने हो त? कि यस्ता राजनैतिक महामारीहरुको यथोचित नियन्त्रणका लागि उनीहरुसंग केही न्यायिक निरुपणका उपायहरु पनि छ्न?