/ विचार-विश्लेषण / धर्मनिरपेक्ष राष्ट्रहरु नै बढी न्यायिक र बिकशित छन – शैलेश श्रेष्ठ, न्युजर्सी, अमेरिका

धर्मनिरपेक्ष राष्ट्रहरु नै बढी न्यायिक र बिकशित छन – शैलेश श्रेष्ठ, न्युजर्सी, अमेरिका

Shailesh Shrestha on March 13, 2020 - 10:57 pm in विचार-विश्लेषण

Shailesh Shrestha New Profile Photo
महान विचारक कार्ल मार्क्सले “धर्म” लाई अफिम भनेका थिए । तर हाम्रो नेपालमा चाहिँ मार्क्सका दर्शन पढेका र आफूलाई मार्क्सवादी भन्नेहरू सबभन्दा बढी आडम्बरी, कर्मकाण्डी, पुरातनिक मात्र होइन “धार्मिक” पनि
छन् । मैले मार्क्सवाद धेरै पढिन तर जीवन, जगत र समयसापेक्षताको कसीमा आफू बाँचेको समाज चाहिँ निरन्तर पढेँ । आवरणमा देखाइने अथवा मानिने धर्महरू मलाई आडम्बर लाग्दछ । प्राय: अधिकांश धर्मभीरुहरुले मानवता, प्रेम र क्षमाशील बन्न नसिकाएको बरु आफूले मानेको धर्म मात्र राम्रो अनि बाँकी अरूहरूले मान्ने गरेको चाहिँ असाध्य नराम्रो भन्ने “अधर्मी” उपदेशहरू रटाउने गरेका छन् ।

धार्मिक युद्धकै कारण लाखौँ मान्छे मारेको मारिएको मात्र होइन एउटा युगकै अन्त्य भएको इतिहास पढेका एक्काइसौँ शताब्दीका मानिसहरू पनि यो अफिमको सेवनमा किन अशक्त हुन्छन् म पटक्कै बुझ्न सक्दिन । मेरै पुस्ताका शिक्षित सुसंस्कृत मेरा सहपाठीहरूमा पनि त्यस्तो धर्मान्धता देखेर म झनै छक्क पर्छु । तिनले पुरातनिकरुपमा अङ्गालेको त्यो धर्मान्धताका कर्मकाण्डी रुढीबादका बारेमा दुई शब्द लेख्दा पनि उनीहरू मलाई सलमान रुस्दी बनाउन तम्सन्छन ।

बिषयगतरुपमा धर्म मेरो रुचि नभए पनि यी नादान धर्मभिरुहरुसंग बौद्धिक अनि वैचारिक बहस गर्नको लागि नै भए पनि म विश्वमा अभ्यास गरिएका प्रचलित धर्महरूमा भेटे जति पढ्छु । करिब दुई वर्ष अगाडी फिप्नाको अनुरोधमा मैले धर्मनिरपेक्षताको बारेमा एउटा कार्यपत्र नै प्रस्तुत गरेको थिए त्यो तयार गर्ने क्रममा ईसाई धर्मको बारेमा मैले कल्पना नै नगरेको एतिहासिक सत्य तथ्यहरूको जानकारी पाएँ ।

हामी आवरणमा “क्रिस्चियन” भनिदिन्छौँ तर त्यहाँ पनि दर्जनौँ खाले इसाई धर्मावलम्बीहरू हुँदा रहेछन् अनेक हाँगाबिँगा हुँदा रहेछन् । कुनै अति उदार अनि कुनै नितान्त पुरातनिक अनि आदिम र कठोर! नेपालको पहिले पहिलेका कम्युनिस्ट पार्टीहरू जस्तो विभाजित अनि आफूले आफैलाई मात्र सच्चा ईश्वरका सन्तान मान्ने अनि अरूलाई कमसलको दर्जा दिने । धर्मभीरुहरुको जिरहा जिद्दी जे जस्तो हुने गरे पनि मेरो आफ्नो अध्ययन र अनुसन्धान अनि मौलिक निजी विश्लेषणको आधारमा यति सत्य लेख्न चाहिँ म अप्ठेरो मान्दिन ।

धर्म-सापेक्ष राष्ट्रहरू भन्दा राज्यले धर्मलाई सरोकार नगर्ने र आम मानिस पनि धर्मका बारेमा निरपेक्ष रहने राष्ट्र र समाज नै हरेक अर्थमा विकसित, समुन्नत र न्यायसंगत हुने गरेका छन् । मानव संसाधनका दृष्टिले विशिष्ट र समुन्नत मानिएका स्क्यान्डीनेभियन राष्ट्रहरू त्यसका उम्दा उदाहरण हुन । त्यसै गरी चीन, ब्रिटेन, जर्मनी, स्विटजरल्याण्ड, अस्ट्रिया, फ्रान्स, स्पेन, जापान, नेदरल्याण्ड, दक्षिण कोरिया अस्ट्रेलिया जस्ता विकसित र समुन्नत देशका मानिसहरू आफूलाई धर्म प्रति असंलग्न भनेर भन्दछन् ।

मानिसलाई अचम्म लाग्ला इजरायलमै पनि ६२ प्रतिशत नागरिक आफूलाई गैर धार्मिक भएको मान्दछन् । कार्यपत्र प्रस्तुति पछिको अन्तरक्रियाकै क्रममा पनि मलाई निकै संगीन प्रश्नहरू बुझेकै साथीभाइहरूले निहुँ खोज्ने अभिष्टले सोधेका थिए “शैलेशजी, तपाईँ लामो समय बसेको देश अमेरिका चाहिँ क्रिस्चियन राष्ट्र होइन र?”मैले त्यति बेला पनि भनेको थिएँ अनि अहिले पनि भन्छु “होइन, अमेरिका संबिधानत: धर्मनिरपेक्ष राष्ट्र नै हो ।” तथापि केही परम्परागतरुपमा जोडिएका रितिथिति र परम्पराहरूका कारणले अमेरिका क्रिश्चियन राष्ट्र जस्तो लागेको मात्र हो जसरी नेपाललाई धर्म निरपेक्ष भनिए पनि अझै सरकारले हिन्दु पौराणिक परम्परागत रितिथितिहरुको पूर्ण परित्याग गर्न सकेको छैन । त्यस्तो दृश्यहरू हामी दसैँको फुलपाती बढाई देखि नेपाली सेनाको ब्यारेकहरूमा गरिने नित्य पुजाअर्चनाहरुमा देख्न सक्छौँ ।

यो कुरा चाहिँ सर्वथा सत्य हो कि आम अमेरिकीहरू धार्मिक प्रवृत्तिका भने छन् । त्यसो हुनुमा रैथाने श्वेतहरूको ठुलो बस्ती क्रिश्चियन हुनु र आप्रवासीहरूको ठुलो सङ्ख्या भएका अफ्रिकन अमेरिकन र ल्याटिनो जनसङ्ख्याको ठुलो हिस्सा धार्मिक प्रवृत्तिका छन् र अधिकांश क्रिश्चियनहरु नै छन् तर सन २०१७ मा यहाँका रिसर्च ईन्सटिच्युटहरुले गरेको गहन अध्ययन र अनुसन्धानले एउटा नयाँ तथ्यको उद्घाटन गरिदिएका छन् । नयाँ पुस्ताका अमेरिकीहरूको कुनै पनि धर्म प्रति आशक्ति मात्र होइन संलग्नता पनि नभएको यथार्थ त्यो अनुसन्धानले पत्ता लगाइदिएको छ । त्यो आँकडा अनुसार करिब ५० मिलियन अमेरिकीहरू धर्म प्रति असंलग्न छन् । त्यस मध्यको ठुलो सङ्ख्याले आफूलाई “नन्स” भनेर आफूलाई परिभाषित गर्ने गरेका छन्, त्यो भनेको के हो भने उनीहरू आफूलाई “एथियष्ट” (नास्तिक) पनि भनेर परिभाषित गर्दैनन् बरु यो सङ्ख्या “एगनस्टीक” भने पक्कै हुन बी. पी. कोइराला जस्तो ।

म पनि आफूलाई त्यही कोटिमा राख्ने गर्दछु । विकसित र धनी राष्ट्रको तुलनामा अविकसित र गरिब राष्ट्रका मानिसहरू धार्मिक हुने गरेको तथ्य पनि अनुसन्धानहरूबाट पत्ता लागेको छ । धर्मका बारेमा विवेचना या परिसम्बाद गर्दा मलाई एउटा कुरामा अचम्मै लाग्दछ- संसारकै विकसित र अझ धर्मनिरपेक्ष राष्ट्र र राज्यमा लामो समय बसेका हाम्रा विद्वान समाजसेवी अभियन्ताहरू “अब हामी पनि नेपाललाई पुनः हिन्दु राष्ट्र बनाउनु पर्छ” भन्दै काँग्रेसका शशाङ्क कोइरालालाई गुहार्दैछन । अझ दुई कदम अगाडी बढेर सत्ता बाहिर बस्नु पर्दाको पिडा बोध सार्वजनिक गर्दै उनीहरू भन्दैछन “यही मौका हो के.पी. ओली र ने.क.पा. ले नेपालमा क्रिश्चियानिटी भित्र्यायो, अब हामी धार्मिक ध्रुविकरण मार्फत सत्ता हत्याउनु पर्छ ।” छक्कै पर्छु म त अब हामीलाई हिन्दु राष्ट्र, बुध्दिष्टराष्ट्र, क्रिश्चियनराष्ट्र, ईश्लामराष्ट्र चाहिएको हो कि न्यायपूर्ण समुन्नत नेपाल राष्ट्र?

Comments

comments

Comments are closed.