१२ बैशाख २०८१, बुधबार १:२८ | 04/24/2024 3:43 AM



पदमापथ अर्थात् “नजर” ले स्थापित गरेको “नजिर” -शैलेश श्रेष्ठ, न्युयोर्क

२१ मंसिर २०७१, आईतवार २१:१४ मा प्रकाशित

सांगीतिक कोशेली “नजर” मार्फत सबैको नजर आफु तिर तान्न सफल गीतकार पदमा लिंखा मगर बैनीको बारेमा यस पटक केहि शब्द खर्चन्छु भनेर शिर्षकमा फूलबुट्टा भर्दै गर्दा समय सन्दर्भका सिल्पी प्रशान एलुंग राईको बेजोड सान्दर्भिक आलेख लिपिबध्द भएर आईहालेछ उनकै सिर्जनाको चौतारी प्रेस चौतारी डट कममा|

उमेरले निक्कै सानो भए पनि प्रशान एलुंग राई भाईको लेखकीय कला प्रयुक्त शिल्प र शैलीको अगाडी त्यहि ढर्राको आलेख लेख्ने हिम्मत गर्नु भनेको मेरो लागि पहाडसंग सिघौरी खेल्नु जस्तो मात्र हो, तथापी यो आक्रान्त मनलाई बरफले चिसो पार्ने दुस्साहस गर्दैछु|

                                             सांगीतिक एल्बम नजरको बिक्रिबाट जम्मा भएको रकम हस्तान्तरण समारोह

पदमा बैनी यहीं कहीं कतै हाम्रै कर्म क्षेत्र न्युयोर्कमै जीवन र जिजिविषा बाँची रहेकी छिन भन्नेसम्म पनि हामी बेला बखत बिर्सन्छौं अनि “म हुँ” र “म छु” को यषणा उनीले कहिल्यै जाहेर पनि गरिनन् र गर्दीनन| उनको सिर्जना “नजर” थुप्रै चोटी भित्रि मनबाट सुनेको छु| एक पल्ट हल्का प्रसंशाका केहि हरफहरु लेखें तुरुन्त प्रत्युत्तरमा उनले आफु सिकारु बाहेक अरु केहि नभएको तर्क लेखिन|

टेलिभिजन कार्यक्रम सम्प्रेषण निर्माणको क्रममा साहित्य बिशेषलाई समेट्ने क्रममा “सम्प्रेषणमा कविता” शीर्षकमा तिन भाग निर्माण गरे, अलिनो र  झिनो सम्झना छ उनको गीत या कविताको एक अंश छायांकनको प्रस्ताब पनि गरें, यस बखत पनि सिधै नाई चाँही भनिनन तर आत्मियतापुर्वक दाजु काम छ छुट्टी नै मिल्दैन आदि इत्यादिको बहाना पस्कि रहिन, थुप्रै मान्छेहरुको संगत गरेको छु जो दस काम छाडेर छापा या टेलिभिजन मा मुहार देखाउन तम्तयार हुन्छन| टेलिभिजनमा देखिने लालच पटक्कै राखिनन उनले त्यस दिनबाट लाग्यो यिनी आम “हामी” मानिस भन्दा पृथक छिनl अहिले समयले मात्र होइन उनले कामलेनै सावित गरिन, उनि पृथक  मात्र होइन “दुर्लभ”अनि “बिशेष” पनि छिन|

सधै भुल भुलैया, फोस्रो रवाफ, चर्चा, स्तुति, प्रसंशा र अतिरंजनामा रमाउने औसत “हामी” आम मानिसले “पदमापथ” को अलिकति मात्र अनुकरण गर्न सके यो एक बारको जुनी सार्थक हुन्थ्यो| कबि मन्जुलले मलाई मन पर्ने एउटा गीतको अन्तरामा भनेका छन् “जीवन भन्नु के हो र बाँच्दा गरिने काम न हो”|