१३ बैशाख २०८१, बिहीबार ११:४३ | 04/25/2024 1:58 PM



नेपाली नेताहरु र “अख्तियारफोबिया”

२५ मंसिर २०७२, शुक्रबार ००:५२ मा प्रकाशित

Shailesh Shrestha
Shailesh Shrestha
बुढापाकाहरु भन्ने गर्थे “नबिराउनु नडराउनु” तर आफ्ना पार्टीका केहि ठुला नेताहरुलाई अख्तियारले पत्र काटेर “निम्ता” गरेपछि अहिले एमालेका केहि पाका नेताहरुको समेत बर्बराहट शुरु भएको छ | अस्ति एमालेका बरिष्ट नेता माधब कुमार नेपालले तितो पोखेका थिए भने अर्का नेता राजेन्द्र पाण्डेले त भर्याङ्ग मुनि सर्प पालेकोले आफुहरुलाई डसेको समेत बताएका थिए भने अहिले अर्का विद्वान नेता प्रदीप ज्ञवालीले अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउनु पर्ने तर्क सार्वजनिक गरेर आफुहरुमा रहेको “अख्तियारफोबिया” लाई बाहिर ल्याएका छन |

बरु कहिल्यै लाभको पदमा नबसेका उक्त पार्टीका पुर्व सांसद विजय पौडेलले आफूमाथि छानविन गर्न सहज होस् भन्ने अभिप्रायले एमालेको पोलिटब्युरो सदस्यबाट छानविन अबधीसम्मको लागि राजिनामा गरेका छन | उनले आफ्नो राजिनामा पत्रमा भनेका छन “राज्यको संवैधानिक निकायले बोलाएपछि त्यहाँ उपस्थित हुनुलाई मैले आफ्नो कर्तव्य ठानें । ममाथि राज्यको संवैधानिक अंगबाट नै छानबिन सुरु भइसकेको हुँदा यसको छिनोफानो नहुँदासम्मका लागि पार्टीको पोलिटब्युरोजस्तो गरिमामय पदमा बसिरहन अनुपयुक्त हुने हुँदा आजैका मितिदेखि लागू हुने गरी पोलिटब्युरो सदस्यबाट राजीनामा दिएको छु ।” यस्ता असल नियत र आचरण भएका केहि नेताहरु अझै बाँकी छन हाम्रो नेपालमा |

हिजोका दिनहरुमा चिरन्जीवी वाग्ले, गोबिन्द राज जोशी, खुम बहादुर खड्का र जे.पी. गुप्ताहरु भ्रष्टाचारको अभियोगमा जेल चलन हुँदा उत्सब गर्ने अन्य दलका नेताहरुलाई अहिले किन १०५ डिग्रीको ज्वरो आएको छ | यिनीहरुलाई थाहा छ यिनीहरुले जोडेको अकुत सम्पति माथि साच्चै नै छानविन गर्ने हो भने अहिलेका अधिकांश नेताहरुले जोडेको सम्पतिसंग उनीहरुको देखिने कमाईको म्याच हुँदैन | त्यस अर्थ र परिभाषामा त्यो अकुत अतिरिक्त सम्पति भ्रष्टाचारकै उपज हो | साना माछा अथवा भुराहरुमै रमायो र ठुला माछालाई पक्रन सकेन अथवा चाहेन भनेर आरोप खपेको अख्तियार र अख्तियार प्रमुख कार्कीले अहिले जे अभिष्ट, कारण र स्वार्थमा भए पनि मझौला माछासम्म आफ्नो निगरानी राखेको छ | अरुलाई र अरु पार्टीका नेताहरुलाई कारवाही गर्दा खुच्चिङ्ग गर्दै उत्सब गर्ने एमाले नेताहरु अहिले एकाएक अख्तियार प्रमुख माथि खनिएको छ |

राज्यको संबैधानिक निकाय माथि यसरी खुले आम धावा बोल्नु कुनै पनि दृष्टिकोणमा जायज मानिंदैन | राज्यको वर्तमान संरचनामा बिधि, बिधान र कानुन भन्दा माथि कोहि छैन | आज अरु माथि आग्रह या पूर्वाग्रहबाट प्रेरित भएर अख्तियार प्रमुखले यी सब गरेका भए उनि स्वयम पनि राज्यको मूल कानुनबाट उम्कन पाउंदैन | एमाले नेता राजन्द्र पाण्डेले भने झैं यदि हिजो भर्याङ्ग मुनि सर्प पालेझैं उनलाई पालिएको रहेछ भने अब त्यो पालन कर्ताहरुको पनि पहिचान हुनुपर्छ | ककसलाई बचाउने र ककसलाई डस्ने शर्तमा यो सर्प पालिएको थियो | अख्तियारमा बिष नभएको सर्पको त कामै छैन बरु दण्डहिनता र भ्रष्टाचारको अन्त्य गर्ने यो सर्पले यताका र उताका नभनी राज्य र राष्ट्रको निम्ति देश दोहन गर्नेहरुलाई निरन्तर डस्ने साहास गर्नु पर्छ |

भ्रष्टाचार बिशेष गरेर अहिलेको कम बिकशित र बिकाशोन्मुख देशहरुको डरलाग्दो रोग हो त्यसो भनेर बाँकी औद्योगिक र बिकशित देशहरुमा चाँही भ्रष्टाचार नै हुँदैन भनेर पनि हामीले बुझ्नु हुँदैन | हाम्रो कर्मभुमी अमेरिकाको ईलिनोईस राज्यको सिकागो र न्युयोर्कको राजधानी अल्बानीलाई अमेरिकाकै “मोष्ट करप्ट सिटी” भनेर जानिन्छ | जहाँका अधिकांश ठुला ओहोदाका जन प्रतिनिधिहरु भ्रष्टाचारको अभियोगमा जेल चलान भएर तिनीहरुको राजनैतिक जीवन समाप्त भएका छन |

आफ्ना छोराका कारण राजिनामा दिन बाध्य भए मेजोरिटी लिडर डिन स्केलोस
आफ्ना छोराका कारण राजिनामा दिन बाध्य भए मेजोरिटी लिडर डिन स्केलोस

राष्ट्रपति ओबामाले छाडेको ईलिनोइस राज्यको निर्वाचन क्षेत्रलाई बोलकबोलमा बेच्न खोजेको अभियोग सावित भएपछी त्यहाँका गभर्नर रड ब्लागोयाभिचले चौध बर्षको लामो कारावासको सजाय पाएका छन भने त्यहींका कंग्रेसम्यान जेस्सी ज्याक्सन जुनियर पनि भ्रष्टाचारको अभियोगमा जेल जीवन बिताईरहेका छन | यता न्युयोर्क सिटीका पुर्व कम्पट्रोलर आलान हभासी तोकिएको जेल जीवनको उत्तरार्धमा छन भने राजधानी अल्बानीको राजनैतिक खेल र गणितका माहिर खेलाडीहरु न्युयोर्क राज्य सिनेटका मेजोरिटी लिडर डिन स्केलोस र एसेम्बली स्पिकार सेल्डोन सिल्भर पनि अहिले भ्रष्टाचारको आरोपमा मुद्दा खेपिरहेका छन | यहाँ भ्रष्टाचारको अभियोग लागे पछि उनीहरुले आफ्नो पदबाट स्वच्छिक राजिनामा दिन्छन र सम्बन्धित राजनैतिक दलले आफ्नो सम्बन्ध बिच्छेद गर्दछ तर दुर्भाग्य हाम्रो देश नेपालमा भने भ्रष्टाचारको अभियोग सावित भएर जेल चलन भएका खुम बहादुर खड्काहरु पार्टीमा रहने मात्र होइन बलियो हैसियत र अस्तित्वमा रहिरहन्छन | तिनै भ्रष्टाचारीहरु पार्टीको दुहुनो गाई बन्दछन |

अहिले एमाले लगायतका केहि ठुला नेताहरुलाई अख्तियारले पुर्जी काटेपछि अकुत सम्पति जोडेका प्राय सबै नेताहरुको मनमा ७.८ रेक्टर स्केलको भुईंचालो आएको छ | नेतासंगै तिनीहरुलाई भ्रष्ट आचरण गर्न सिकाउने र अभिप्रेरित गर्ने नेपाली निजामती तथा जंगी सेवाका थुप्रै उच्च पदस्त “ठुला माछा” हरुको अन्तरकुन्तरमा अहिले नियमित पराकम्पन शुरु भएको छ | अख्तियारको यो कदम र अभियानलाई अहिले आम नेपाली जनताको नैतिक समर्थन, साथ र अनुमोदन आवश्यक छ | यो जिर्ण रोगको उचत ओखती र निदान गर्न अब किञ्चित ढिला गर्नु हुन्न |