१२ बैशाख २०८१, बुधबार ४:४२ | 04/24/2024 6:57 AM



नाटकको समिक्षा लेख्ने बेलै भएको छैन

२ पुष २०७२, बिहीबार १३:०६ मा प्रकाशित

नाटक “जोडियोस भत्किएका मनहरु” को रिहर्सलदेखि प्रदर्शनसम्म सायद म जति खुशी यो दुनियामा कोहि थिएनन र भएनन| मेरो नाट्यकर्मको बिगत त सपनाले त्यस्तो अषिम अनुभूति मलाई दिएको हो | तर न्युयोर्क शहरको दु:खद यथार्थ म एक दिन पनि प्रदर्शित नाटकको रिहर्सल हेर्न जान जान सकिन जहाँ नाटकका पात्र नाट्यकर्मीहरु सिंगो दुई महिना रिहर्सलको लागि कहिले रिजउडको दुर्गा मन्दीर त कहिले ज्याक्सन हाईट्सको चौतारी रेस्टुरेन्टमा एक मुष्ट जम्मा भईरहे |

केहि न केहि बहाना गरेर फुट्ने अनि निंहू खोजेर अरुको कर्मलाई गाली गर्ने प्रचलन रहेको प्रवासी नेपाली समुदायले यो स्तुत्य अभियानलाई मुक्तकण्ठले प्रसंशा गरे अनि गरिरहे | नाटक न्युयोर्कमा पहिलो पटक प्रदर्शन भएकोले एउटा ईतिहास त रच्यो नै तर यो समुह र बिशेष गरेर मिडिया संयोजकको जिम्मेवारी पाएका यहि नाटकका पात्र तथा संचारकर्मी अनुज थापाको संयोजनको ढंग तथा कौशल पनि हाम्रा लागि सिक्न योग्य काम रह्यो | अधिकांश पात्रहरु न्युयोर्कका रैथाने अनि परिचित तथा स्थापित व्यक्ति व्यक्तित्व भएकोले पनि उनहरुले यो स्तरको आम अनुमोदन, सम्मान, प्रसंशा अनि आशा गरिए भन्दा बढी वाह वाह पाए |

नाटक भरिकै एउटा बेजोड दृश्यमा दिपिका श्रेष्ठ र नादिया लिवाङ्ग
नाटक भरिकै एउटा बेजोड दृश्यमा दिपिका श्रेष्ठ र नादिया लिवाङ्ग

यो एक्काईसौं शताब्दीको युगमा निर्माणको भन्दा पनि वितरण र प्रबर्धनको कौशल चाहिन्छ भन्ने तथ्यलाई पनि यो नाटकले साबित गराई दियो | नेपाली नाटकको ईतिहासमा धेरै नाटकहरुको योगफलले उचाई हाँसिल गरेको भन्दा पनि एउटै नाटक “मालती मंगले” को शिर्ष भूमिका मंगलेको नामले जमेका हरि बहादुर थापाको नाम र उपस्थितिले पनि धेरै काम गर्यो | दिनरात खट्दै अनि जुट्दै बृहत र व्यापक प्रचारमा लागेका संचारकर्मी उर्फ नाट्य कलाकार सहदेव पौडेल, ज्योति कुमार श्रेष्ठ, साहित्यिक नाम बिकाश बिष्ट अनि संचारकर्मी दिपिका श्रेष्ठहरुको सहभागिताको मर्म र अर्थ खोज्न कत्ति पनि कठिन छैन |

नाटकमा उनीहरुको अभिनय कस्तो रह्यो भन्दा पनि समाजमा पुरानो असल परिचय र चिनजान भएका अग्रज यादब गौतम, नदिया लिबाङ्ग, संगीता उप्रेती कृश थापाहरुको उपस्थितिले मात्र पनि नाट्य मन्चनलाई माथी उठाईदियो | तथाकथित अमेरिकी संस्कृति र सभ्यतामा रमाउने हाम्री छोरीहरुको छिमलका क्रिष्टल थापा र दिलाष्मा रजकहरुको सहभागिता मात्र पनि लाख हो | यी र यस्तै संजोग र योगफलले दशकसम्म एउटै नाटक मन्चन हुने न्युयोर्कको ब्रोडवेमा नेपाली नाटकले प्रारम्भिक झण्डा गाडेको छ |

न्युयोर्कमा पहिलो नाट्य मन्चन: एउटा उत्सब दृश्य र यथार्थमा     तस्विर: अशोक पन्त
न्युयोर्कमा पहिलो नाट्य मन्चन: एउटा उत्सब दृश्य र यथार्थमा तस्विर: अशोक पन्त

नाट्ययात्रा सिर्फ आरम्भ मात्र भएको छ, अब थप उत्सब र आत्मप्रसंशा भन्दा पनि अर्को आयामिक नाट्य फट्कोमा हामी जुटीहाल्नु पर्ने चुनौती अगाडी आएको छ | त्यस्तो खाले अनुभुती र सपना प्रदर्शित नाटक “जोडियोस भत्किएका मनहरु” का सह-निर्देशक तथा संचारकर्मी सहदेव पौडेलले आफ्नो आलेख मार्फत यसरी पोखेछन “अहिलेलाई हामी सबैको एउटा सपना साकार भएको छ र फेरी नयाँ सपना बुनेका छौँ- टाइम्स स्क्वायरको झिलिमिलीमा हाम्रो नाटकको पोस्टर होस्, नाटक हप्तौँ चलोस् र न्यु योर्क टाइम्सले रिभ्यु लेखो​स् र भन्न पाइयोस्-म नाटकको लागि नै बाँचेको छु र नाटकले नै मलाई बचाई रहेको छ।”

यो हप्ता भरि धेरै संचारकर्मी तथा मेरो नाट्य नाट्य बिगत र संलग्नतालाई जान्नु हुनेहरुले यो नाटक माथि एउटा स्वस्थ समिक्षा गर्न आग्रह गर्नु भयो तर मैले उहाँहरुलाई मेरो शालीन तर्कले जितिरहें | मेरो तर्क थियो “अहिले अमेरिकामा हामीले खुट्टा टेकेका मात्र छौं, तंग्रिसकेका छैनौं | समिक्षा योग्य नाटक मन्चन त आगामी दिनहरुमा हुन्छन | “

तर यति भन्दा भन्दै पनि मनमा लागेको खसखस र उकुसमुकुस एक लाईनमा भनि हाल्छु | अग्रज नाटककार अशेष मल्लले पुरातानिक धारको मंचीय परिकल्पनामा लेख्नु भएको यो बियोगान्त नाटक अत्याधिक दृश्यहरु परम्परागत आंगिक अभिनयको उपल्लो शिकार भएका छन |