१५ चैत्र २०८०, बिहीबार १:२६ | 03/28/2024 3:41 PM



यो दुनियामा कोहि पनि अपरिहार्य छैन

४ माघ २०७२, सोमबार ०१:२६ मा प्रकाशित

शैलेश श्रेष्ठ
न्युजर्जी, अमेरिका

मैले आफुले खेलेको महान नाटककार जँ पाल सार्तको नाटक “मोर्त सँ सेप्युल्त्युर” (बिना चिहानको मृत्यु) को यो कालजयी सम्बाद हिजो आज बढी सान्दर्भिक हुन थालेको छ | शक्ति र बैभबको बलमा यो लोकतान्त्रिक युगमा सामाजिक संगठन हाक्ने व्यक्तिले अपरिहार्य बन्ने कुचेष्टा र दम्भ प्रदर्शन गर्दै हैकमी तानाशाही बन्ने दुस्वप्न देख्न थाले पछि म आफ्नो लेखन मार्फत यिनै शब्दावलीले असल अभिष्ट र नियतका साथ उनिहरुलाई खबरदारी गर्ने गर्दछु |

सम्प्रेषणमा शेष घले  तस्विर: अशोक पन्त (नेपालफोटोन्युज डटकम)
सम्प्रेषणमा शेष घले तस्विर: अशोक पन्त (नेपालफोटोन्युज डटकम)

भर्खर ह्वाईट हिमालले सम्प्रेषण गरेको आलेखको फेहरिस्तहरु चुस्त र दुरुस्त हुन भने हाम्रा एनआरएनका आदरणीय, मनकारी, कर्मयोगी अनि दानी अध्यक्ष शेष घले निश्चित मान्छेको घेराबन्दीमा पर्दै निजि दम्भको कारण आफु “अपरिहार्य” बन्ने मार्ग तर्फ उन्मुख भएको हो कि भन्ने लख काट्न अब आम एनआरएन र यो युगमा सचेत मानिसलाई मुस्किल पर्दैन | मनोनयनको बिबाद चुलिए पछि मध्यमार्गी समाधानको अचुक मन्त्र अभिभावकीय जिम्मेदारी स्वरूप आफ्नो दायित्व निर्वाह गर्दै प्रमुख संरक्षक जीवा लामिछानेले प्रस्तुत गरेको अपिलको अहिलेसम्म सुनुवाई नहुनु अनि “मैले गरे पछि गरे गरे” भन्ने अध्यक्ष घलेको “म नै राज्य हुँ” भन्ने हदसम्मको दम्भपूर्ण अडानले यो बिकराल अप्ठेरोमा हामी कसैको भलो गर्दैन | देश देखि विदेशसम्मका प्राय सम्पूर्ण ठुला भनिएका सामाजिक संगठनहरु यहि र यस्तै रोगले कि जिर्ण कि त बिनास भएको अहिलेको वर्तमानमा वर्तमान कार्यसमितीलाई आम एनआरएनले बृहद र ब्यापक दवाब दिन जरुरी छ |

बिश्वस्त श्रोतको हवाला दिंदै सम्प्रेषण गरिएको यो समाचारमा भनिए झैं बैठक र बिबादका कुरा संचारलाई जानकारी गराईएको कारण अध्यक्ष घले बेखुशी भएका हुन भने अब हामीले उनि माथी एउटा शालीन अनि भद्र प्रश्न तेर्स्याउनु पर्ने हुन्छ “अध्यक्ष ज्यु, यो एक्काईसौं शताब्दीको संचारको युगमा बिना संचार/मिडियाको कस्तो दासत्वपूर्ण ढुंगेयुगीन समय र युगको परिकल्पना गर्नु हुन्छ?”

यस्ता बिबादित बिषय र प्रसंगहरुलाई समाधान गर्ने अभिष्ट राखेर बिधानत ब्यबस्था गरिएको “बिधान ब्याख्या समिती” मार्फत मनोनयनमा देखिएका बिबादित मुद्दाहरुलाई सुल्झाउनु पर्छ भनेर प्रमुख संरक्षक जीवा लामिछानेले के अपराध गरेका छन र? संस्थापनलाई बिधिसम्मन समाधान अथवा मध्यमार्गी बाटो किन अरुचीकर लाग्ने गर्दछ?

शेष घलेजीसंग टेलिभिजन कार्यक्रम सम्प्रेषणसंगको सम्प्रेषणीय वार्ताहरु र नियमित बिधुतिय पत्राचारहरु मार्फत असल सम्बन्धको बिकास भईसकेको स्थितिमा उनि जस्तो शिक्षित, सुसंस्कृत अनि उदार व्यक्तिलाई मैले असल नियतले यति लेख्न अब कुनै आईतबार कुर्नु पर्दैन | त्यसैले फेरि केहि तिता मिठा सत्यहरु मनबाट लेख्दैछु |

आदरणीय शेष घलेजी, काम गर्ने मान्छेबाटै गल्ति हुन्छ त्यो पनि गरुङ्गो जिम्मेवारी लिएको कार्यकारीबाट | सायद त्यो नियतमा नभएपनि बिधि बिधानको व्याख्या अप-व्याख्याको हैसियतमा कहीं कतै तपाईबाट पनि भयो कि? तर तपाईलाई घेराबन्दी गर्दै देवत्वकरण गर्ने संसारभरका एउटा सानो “अल्प बिध्या भयंकरी” जत्था निजि लाभमा उन्मुक्त रमाएका छन | उनीहरुलाई लागेको छ तपाईबाट गल्ती नै हुँदैन |बिकसित पश्चिमा संसार, संस्कार र पध्दतीबाट सुसोभित र प्रशिक्षित तपाई जस्ता व्यक्ति ” अपोलोजेटिक” हुन सक्नु भएन भने उता संस्कारकै दम्भ बोकेका नेपाली राजनीतिकर्मी र कार्यकारीहरुले तपाई जस्ता सफल मान्छेबाट के सिक्लान?

तपाईले सबै खाले सफलताको उच्चतम मापन गरिसक्नु भएको छ | तपाईको गृह राष्ट्र अस्ट्रेलियाले तपाईलाई दिएको सफलताको उच्चतम मानक, सम्मान र विभूषण नेपाल सरकारले राजनैतिक भागबण्डामा बाढ्ने पदक अथवा तक्माहरु होइनन | त्यस्तो सफलतामा हामी सारा नेपाली जातीका नाममा गर्ब गरिरहेका छौं | तपाई सफलता र गर्बको त्यस्तो उच्च सगरमाथामा पुग्नु भएको छ त्यहाँ भन्दा पर या माथि जाने ठाउं नै छैन | अब त त्यो भन्दा माथि पुग्ने स्वोर-कल्पनामा अरुले परिकल्पना गरेको नैतिक अद्योपतनको त्यो कहिल्यै नपुगिने बाटो तय गर्नु भन्दा त्यो गौरवशाली अनि बैभबशाली सगरमाथाबाट फेदी या कतै बेसक्याम्पमा अल्मलिएका कर्मबीर सारथीहरुलाई तपाईका सहयोगी कर्मयोगी हातहरु दिएर माथी पो तान्ने कि?
अन्तमा पुनः स्मरण गराउँछु, नाटक “बिना चिहानको मृत्यु” मा भनिए जस्तै अनि विख्यात फ्रान्सेली नाटककार जँ पाल सार्तले भनेझैं तपाई हामी कोहि पनि अपरिहार्य छैनौं |