६ चैत्र २०८०, मंगलवार १:५५ | 03/19/2024 4:10 AM



आउ मिलाऔं हाम्रा हातहरु

२५ बैशाख २०७२, शुक्रबार २२:०१ मा प्रकाशित

हामी नेपालीको “काम” भन्दा “गुनासो” गर्ने पुरानो बानी छ| अहिले एउटा गुनासो बजारमा सुनिन र गुञ्जिन थालेको छ “होइन हउ….यि एनआरएनकाहरु काम गर्न गा’को कि फोटो खिचेर फेसबुकमा पोष्ट गर्न?” अरुलाई जस दिन हामी किन कन्जुस्यांई गर्छौं| बिचराहरु अमेरिकामा शारीरिकरुपमा यताको सिन्का उता नसारेकाहरु पालको भारी र अन्य समान उठाएर वितरणमा लागेका छन| हजारौं डलरको अतिरिक्त मातृभूमीको बिकट बस्तीहरुमा पुगेर सहयोगमा जुटेका छन तथापी हामीसंग “क्याबात!” भन्ने एक शब्द मुखबाट निक्लिदैन|

अरबौंको सम्पतिको खेलो गर्ने मनकारी शेष घले हामी सम्पूर्ण एनआरएनको शिर ठाडो पार्न र नाक राख्न दिनरात खटेका छन, म्यानहटनको सुबिधासम्पन्न महलमा बसेर आप्रवासीको पिटीसन लेख्ने हाम्रा अध्यक्ष खगेन्द्र क्षेत्रीको हात कम्मल, पाल र औषधि बाढ्न लागिपरेका छन, न्यु म्याक्सिकोको अत्याधुनिक अस्पतालमा काम गरेका नव-निर्वाचित अध्यक्ष डा. केशब पौडेलको डाक्टरी सिप ग्रामिण खुल्ला स्वास्थ्य केन्द्रमा परिचालन भएको छ| शारीरिकरुपमा कडा परिश्रम गर्ने बानी लागेका डीआरसी सोनाम लामा र बरिष्ठ उपाध्यक्ष लोक तिवारी बिकट बस्तीहरुमा पुगेर राहत सामग्री वितरण गरिरहेका छन|

क्यामरा, माईक र कम्प्युटरमा रमाउने बानी परेका संचारकर्मी किशोर पन्थी पनि चाउचाउको भारी उचाल्दैछन| अर्का एनआरएन स्वास्थ्य सेवाकै शिप र ज्ञान भएका रबिन बज्राचार्य ग्रामिण बस्तीहरुमा स्वास्थ्य सेवामा अहोरात्र लागिपरेका छन| बिचराले “बल्ल सुत्न पाईयो” भनेर हिजो एउटा फेसबुके तस्विर सार्वजनिक गरेका छन अब आठ घण्टा सुतेर पनि निद्रा नपुगेको गुनासा गर्नेहरुले फेरी भन्ने छौं “लु..है फोटो सेसन गर्यो!

एउटा सत्य के हो भने फेसबुकको सार र संरचना नै त्यहि हो, तस्विर सहित आफ्ना विचारको आम सम्प्रेषण| मानिस स्वभावत: आंसिक या पूर्ण लालच र यषणाबाट मुक्त हुँदैन| त्यस अर्थमा पनि यो आपत्ति र बिपत्तिमा अहिले हामीले मानिस भित्र “बुध्द” खोज्नु हुँदैन| हाम्रा सबै मानिसहरु कुनै न कुनै सार, स्वरूप र अर्थमा मदर टेरेसाको बाटो र गन्तब्य नापी रहेकै छन| बरु सकिन्छ भने यो विपदमा जोडिएर सिर्फ नेपाली मात्र भएर “हामी गर्न सक्छौं” को सन्देश प्रवाहित गर्दै नयाँ नेपालको पुननिर्माण गर्नु पर्ने संगिन घडीमा पार्टी, धर्म र जातीको बिखण्डनकारी र विभाजनकारी “राजनीति” गर्लान? थैली चढाएर नेता या पार्टी खुशी पार्लान? अनि पार्टीको झण्डा टाँगेर सहयोग बाढ्न पुग्लान| अब हाम्रो पहरेदारी र निगरानी त्यता पो हुनु पर्छ|

मन भरिबाट सम्मान गर्छु सबैलाई जो जहाँबाट मातृभूमीको दु:खमा मलम लाउन गाम बस्ति पुग्नु भएको छ| सम्प्रेषणले अघिल्लो हप्ता सुरु गरेको “टेन्ट्स फर नेपाल” को सानो मनकारी योजनाबाट उठेको रकम, सानी नानी विपश्यना श्रेष्ठले त्रिपाल किन्न आफ्नो जन्म दिन मनाउने खर्च कटौती गरेर हामीलाई सहयोग गरेको ५१ डलर र सम्प्रेषण सामुदायिक बहस गर्दा बचेको बिउलाई जोडेर हामीले पनि एक सय थान त्रिपाल गोदावरी जेसिजको सहयोग र निगरानीमा राजधानीको नजिक तर अन्य निकाएको आँखा नपुगेको साँखु बिशम्भरामा पठायौं| यो धनको भन्दा पनि मनको सहयोगी भावना मात्र हो, शेष घलेजीहरुले “करोड” मा सहयोग गरेका छन हामी औकातले सकेको “हजार” मा मनबाट सहयोग गर्छौं र गरिरहने छौं|

सम्प्रेषणले अमेरिकाबाट पठाएको त्रिपालहरु गोदावरी जेसिजको सहयोगमा बिशम्भरा साँखुमा वितरण गरिंदै

हामी मानिस जाति स्वभाबैले दु:ख र विपदमा जोडीन्छौँ, त्यो हामीले जता ततै देखेका छौं|
आउनुस जोडिने क्रमलाई निरन्तर राखौं अनि आउ मिलाऔं हाम्रा हातहरु!

तस्विर साभार: किशोर पन्थी (खसोखास साप्ताहिक)