१२ बैशाख २०८१, बुधबार ४:२८ | 04/24/2024 6:43 PM



“यदि तपाई पोलिटिक्स गर्न चाहनु हुन्छ भने एनआरएनको सदस्य नहुनुस” खगेन्द्र क्षेत्री

२९ फाल्गुन २०७१, शुक्रबार १५:१० मा प्रकाशित

एनआरएनले न्युयोर्कमा आयोजना गरेको संचारकर्मी-कार्यकारी अन्तरक्रिया कार्यक्रम
एनआरएनले न्युयोर्कमा आयोजना गरेको संचारकर्मी-कार्यकारी अन्तरक्रिया कार्यक्रम

क्षेत्रीय उप-संयोजक सोनाम लामाको अगुवाई र आयोजनामा आज दिउसो न्युयोर्क स्थित ज्याक्सन हाईट्स को सभाकक्षमा सम्पन्न भएको एनआरएन एनसीसी अमेरिका कार्यकारी-संचारकर्मी भेटघाट कार्यक्रममा अध्यक्ष खगेन्द्र क्षेत्रीले आफ्नो मन्तब्यको प्रारम्भम “यदि तपाई पोलिटिक्स गर्न चाहनु हुन्छ भने एनआरएनको सदस्य नहुनुसl” भन्दा सभाकक्ष तालीको गड्गडाहटले गुन्जायमान भएको थियोl

एनआरएन अमेरिकाको अध्यक्ष पदमा भारी मतले निर्वाचित हुनु अघि नेपाली कांग्रेसको निकट भएर बिभिन्न पदीय जिम्मेवारी लिएर काम गरेका क्षेत्रीले आफुले सम्हालेका सम्पूर्ण जिम्मेवारी परित्याग गरेको सार्वजनिक घोषणा सम्प्रेषणमा मसंग उनले गरेको अन्तरंग वार्तालापमा गरिसकेका छन्l

यो संगठनलाई दलगत राजनीति गर्नेहरुको पन्जाबाट मुक्त गर्दै दलगत राजनीति मुक्त सबै प्रवासी नेपालीहरुको साझा संस्थाको रुपमा बिकसित गर्नु पर्छ भन्ने पक्ष अहिले बलियो भएर आएको छ भने यो संगठनलाई राजनैतिक क्रिडास्थल र कुरूक्षेत्र बनाउन उद्दत हुने खेलाडीहरु निरन्तर कमजोर हुँदै गएको अवस्था छl

नयाँ सदस्य बन्ने र नवीकरण गर्ने जनवरी ३१ तारिखको म्याद अत्यन्त नजिक आईरहेको अवस्थामा यिनै प्रमुख बिषयहरुमा छलफल गर्ने उद्देश्यले आयोजना गरिएको पत्रकार भेटघाट तथा प्रश्नोत्तर कार्यक्रममा बिधान मस्यौदा कमिटीका संयोजक दुर्गा भुर्तेलले अहिले आफुले प्रस्ताब गरेको नऔं संशोधन प्रस्ताब बिधानमा व्यवस्था भए अनुसार बार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र लागु हुने बताएl त्यसको अर्थ र मतलब अब मे महिनामा हुने पूर्णकालिक निर्वाचन वर्तमान बिधानकै आधारमा हुनेछl

निर्वाचन प्रमुख बिनोद रोकाका अनुसार साधारण सदस्यताको लागि दुई बर्षको बिस डलर र आजीवन सदस्यताको लागि तीन सय डलर दस्तुर लाग्नेछl अघिल्लो बर्ष यानेकि गत जुन महिनामा दस डलर तिरेर सदस्य बनेकाहरुले पनि अब आउने निर्वाचनमा भाग लिनका लागि आ-आफ्नो सदस्यता नवीकरण गर्नु पर्नेछl

संचारकर्मी-कार्यकारी भेटघाटको एउटा दृश्य    तस्विर साभार: युयसनेपालअनलाईन डट कम
संचारकर्मी-कार्यकारी भेटघाटको एउटा दृश्य तस्विर साभार: युयसनेपालअनलाईन डट कम

महासचिब कृष्ण पोख्रेलले आफुहरुले गरेका उल्लेख्य कामहरुको प्रचार प्रसारमा संचारकर्मीहरुले उचित स्थान दिएर समाचार प्रकाशन तथा प्रसारण नगरेको गुनासो गर्दै बिगत छ महिनामा भए गरेका कामहरुको फेहरिस्त पस्किएl साथै थुप्रै प्रवासी नेपालीहरुले सदस्य बन्नको लागि रुचिपूर्वक फारम डाउनलोड गरेपनि अहिलेसम्म पहिलेको मौजुदा बाहेक थप १९० जना जतीले मात्र सदस्यता लिएको बताएl जवाफ दिने क्रममा संगठनमा सह-कोषाध्यक्ष सन्जीब श्रेष्ठले अनलाईन सदस्य बन्न अब पहिले भन्दा निकै सजिलो भएको र अब क्रेडिट कार्डबाट पनि भुक्तानी लिन थालिएको बताएl

मेरिल्याण्डबाट यहि पत्रकार भेटघाटका लागि आएका बरिष्ठ उपाध्यक्ष लोक तिवारीले संचारकर्मीहरुको भूमिकाको मुक्तकण्ठले प्रसंशा गर्दै एनआरएन अमेरिकाले केन्द्रमा आफ्नो प्रभाब निरन्तर बिस्तार गरेको जानकारी दिएका थिए भने सदस्यता वितरणको संयोजन गरिरहेका उपाध्यक्ष श्री पराजुलीले अबको केहि हप्ता छापा र टेलिभिजनमा ब्यबसायिक बिज्ञापन निर्माण गरि प्रकाशन र प्रसारण आरम्भ गरिने र बिभिन्न राज्यहरुमा त्यहाँका स्थानीय संघ-संगठनहरुसंग सहकार्य र संयोजन गरि सामुदायिक अन्तरक्रिया कार्यक्रमहरु संचालन गरिने कार्यक्रम भएको जानकारी दिएl

संस्थाका सल्लाहकार डा. तारा निरौलाले एनआरएन अमेरिकालाई संसारकै सर्वाधिक शक्तिशाली राष्ट्रिय समन्वय समिती बनाउने आफुहरुको स्थापना कालमा देखेको सपना अहिले साकार हुने लक्षण देखा पर्न थालेकोमा खुशी व्यक्त गरेl अर्का उपाध्यक्ष बनिता कतिलाले आफु पहिलेको कार्यकालमा पनि मिडिया संयोजकको भूमिका निर्वाह गरिसकेकोले अहिले तिनै अनुभबहरुका आधारमा आफु आम महिलाहरुलाई सदस्यता लिन आग्रह गर्न सक्रिय रहेको बताएi आजको अन्तरर्क्रियात्मक सत्रको संचालन एनआरएन अन्तराष्ट्रिय समन्वय समिती प्रतिनिधि डा. बिनोद शाहले गरेका थिएl

करिब तीन घण्टासम्म सौहार्द र आत्मियताका साथ चलेको प्रश्नोत्तर कार्यक्रममा जटिल विषयहरुमा सवाल जवाफ भएको थियोl कार्यक्रमको प्रारम्भ मै आजको अन्तरक्रियात्मक सत्रका आयोजक क्षेत्रीय उप-संयोजक सोनाम लामाले बिभिन्न कठिन र जटिल परिस्थितिहरुमा साथ र समर्थन दिई एनआरएन अमेरिकालाई यो उचाईसम्म पुर्याउन सहयोग गर्ने सम्पूर्ण संचारकर्मी र उनीहरुको प्रकाशन तथा प्रसारण संस्था प्रति आभार व्यक्त गरेका थिएl

एनआरएन अमेरिकालाई पूर्णरुपले दलगत राजनीतिबाट मुक्त बनाउने आम मानिसको चाहना र अभिष्टलाई आफुले निरन्तर पक्षपोषण गरेको बताउदै उनले अगाडी थपे “एनआरएन अमेरिकालाई कुनै पनि प्रकारको दलगत राजनीतिको प्रभाब र छायाँबाट पूर्णरुपले मुक्त राख्नु पर्ने नीतिगत र कानुनी दायित्वबोधबारे हामी पूर्ण सचेत छौं र संचारकर्मी मित्रहरुको सुझाब, प्रतिक्रिया र सूचनाको आधारमा यो अहम बिषयमा म आफ्नो पदीय दायित्व र हैसियतले आवश्यक अनुगमन र निगरानी गर्ने बचनबध्द्ता पुनः दोहोर्यौउछुl”