६ बैशाख २०८१, बिहीबार ९:४४ | 04/17/2024 11:59 PM



एनआरएन अमेरिकामा “राजनीति”?

२९ फाल्गुन २०७१, शुक्रबार १५:१० मा प्रकाशित

सम्प्रेषणको आयोजनामा गत बर्ष लस एन्जलसमा भएको सामुदायिक अन्तरक्रिया कार्यक्रम
सम्प्रेषणको आयोजनामा गत बर्ष लस एन्जलसमा भएको सामुदायिक अन्तरक्रिया कार्यक्रम

आफ्नो घर सम्हाल्न नसक्नेहरु किन छिमेकीको घरमा आगो लगाउन आतुर हुन्छन नेपाली समुदायमा यो प्रसंग र परिवेश बुझीनसक्नु भएर सतहमा आउँछ अनि निरन्तर पुनरावृत्ति हुन्छ? निर्वाचनको नाममा भएको जितको उन्माद र हालको पिडा अनि ग्लानीले आहत र आक्रान्त अतृप्त मनहरु अहिले प्रवासी नेपाली समाजमा सल्बलाउन थालेका छनl

आफ्नो संगठनलाई चिरा चिरा पारेर फुट र गुटको दलगत राजनीतिमा रमाएकाहरु पुनः एनआरएन अमेरिकाको बिशाल एकीकृत संरचना र संगठनमा आफ्नो निजि प्रभाब र राजनैतिक दवाब सिर्जना गर्न केहि मौसमी चटकेहरु लाग्न थालेको चर्चा अहिले न्युयोर्कको बाक्लो आवादी रहेको ज्याक्सन हाईट्समा सुनिन थालेको छl त्यस्तो खेलको आंशिक प्रक्षेपण अघिल्लो निर्वाचनमा पनि भएको हो र थुप्रै कमी कमजोरीहरु पनि भएका हुन अब हामीले त्यसो भन्न कुनै बार पर्खनु पर्दैनl

आफैले बनाउदै सम्हाल्दै लगेको कमजोर जग भएको आफ्नै घर भत्केला भनेर हामीले थुप्रै बिषय र प्रसंगहरुमा नदेखेको र नबुझेको जस्तो गरि रह्यौं तर सम्प्रेषण र ब्लग मार्फत मैले प्रारम्भ देखि निरन्तर भनेको अनि लेखेको पनि हो “बुढी मर्यो भन्दा नी काल पल्किने पो डर भो” भनेरl आफ्नो भात्री संगठनको अन्तरिक मोर्चा र बैठकमा गएर खुल्लम खुल्ला मत मागेको अनि मोर्चा गरेको सत्य तात्कालिक समयमा तस्विर र भिडियोहरुमा सार्वजनिक भएका छनl

सम्प्रेषणको आयोजनामा गत बर्ष लस एन्जलसमा भएको सामुदायिक अन्तरक्रिया कार्यक्रममा उम्मेदवारहरु
सम्प्रेषणको आयोजनामा गत बर्ष लस एन्जलसमा भएको सामुदायिक अन्तरक्रिया कार्यक्रममा उम्मेदवारहरु

हामी संचारकर्मीहरुको न्यायोचित बिरोधको आवाजलाई दबाउन साथीहरुले “लोकतन्त्रमा कुनै दल बिशेषमा आस्थानै राख्न नपाउनु” भन्दै कर्मकाण्डी र मिचाहा तर्क दिएर पन्छिए अनि चुनाबमा केहि सय मत कम ल्याएर पराजित भएपछि तिनैले आफ्नै भित्रियाहरुको सार्वजनिक “सफाया” गर्न लागिपरेl त्यस्तो नाटक निर्वाचन परिणामको केहि महिनासम्म हामीले नि:शुल्क हेर्यौं यो व्यस्त र महँगो अमेरिकामाl

अनि केहि साथीहरु आफ्नो संगठनको हालीमुहाली भयो भनेर “मुतको न्यानो” मा उन्मुक्त र अतिरन्जित भएर रमाए अनि महिनौं उत्सब पनि मनाएl यिनीहरुको अहमको पराकाष्ट यतिसम्म बढ्यो कि उनिहरुले एनआरएन भन्दा हाम्रो संगठन बलियो अनि ठुलो छ, हाम्रो अमेरिका भरि यति राज्यमा च्याप्टर छ अनि यति हजार सदस्य छन् भनेर निरन्तर धाक-धक्कु दिई हरेl हामी एनआरएन अमेरिकालाई सम्पूर्णरुपले राजनीतिमुक्त बिशाल र सबैको संगठन बनाउनु पर्छ भन्ने मान्छेहरु सिर्फ समयको प्रतीक्षामा ति सारा उन्मादी रवाफ हेरी रह्यौंl तर त्यो दलीय अतिरंजना, आत्म अभिमान र स्वार्थले ओतप्रोत उन्मादी अहम लामो काल टिक्न सकेनl

न्युयोर्कमा भएको पदस्थापन समारोहमा एनआरएन अमेरिकाका बिजयी पदाधिकारीहरु
न्युयोर्कमा भएको पदस्थापन समारोहमा एनआरएन अमेरिकाका बिजयी पदाधिकारीहरु

हड्सन र ईष्ट रिभरमा धेरै पानी बगीसक्यो, समयले अलिकति कोल्टे फेर्यो ति उन्मादी परिघटनाहरुको करिब छ महिना पछि अहिले बन्दुकको नाल उनिहरु तिरै फर्किएको छl अरुलाई खाने बाघले यिनीअरुलाई चाँही किन बाँकि राख्थे अब ढिलै भए पनि साथीहरुको चेत खुल्यो, नराम्ररी झट्का लाग्यो अनि कुरो बुझे र अहिले भन्न थालेका छन् “शैलेशजी तपाईले ठिकै भन्नु भएको रहेछ पहिले कुरो यसरी बुझिएन”l म त दंग छु ढिलै भए पनि साथीहरुले कुरोको गुदी अहिले बुझे, खेप गयो जनम गएको छैन, समय र परिस्थितिले हामीलाई अर्को मौका दिएको छl आफ्नो घर बलियो बनाउँ अरुको घर र परिवारमा आँखा नलागौंl अहिलेलाई तपाईहरुमा यति औसत ईमान भए पुग्छl

नेपाली जनसम्पर्क समितिको टेक्सास अधिबेशनबाट फर्किए पछि केहि साथीहरुले मलाई भन्नु भो, “शैलेशजी एनआरएनहरुले त गर्नु गरे नी” मैले नबुझे जस्तो गरेर प्रति प्रश्न तेर्स्याएँ “के गरे र?” “ल..खुल्लम खुल्ला हाम्रो प्यानललाई हराउन “फलानो” लाई भोट माग्दै कोठा कोठा पुगे”l उनि भन्दै गए “लु भन्नुस त एनआरएन अमेरिकाका हाम्रा प्रतिनिधिहरुले त्यसरी खुलेरै कसैको पक्षमा लाग्न पाईन्छ?”

बुझेर पनि बुझ पचाउने साथीहरुले बल्ल कुरो बुझेछन, मैले कहिले भनेको छु या थिएँ र त्यस्तो खाले दलगत स्वार्थले अभिप्रेरित राजनीति गर्न पाईन्छ भनेर? मैले त जहिले पनि कराएको छु, लेखेको छु एनआरएनलाई दलगत राजनीति गर्ने खेल मैदान नबनाऊ भनेर, त्यति बेलै रोकौं भनेको तपाईहरुले नै मान्नु भएनl

नेपाली जन सम्पर्क समितिको निर्वाचनमा खेल्न पुगेका केहि एनआरएन अमेरिकाका “कांग्रेस बढी, एनआरएन कम” पदाधिकारीहरु मध्य केहिले “गुणको बदला गुण अनि नुनको बदला नुन” तिरेको चर्चा अहिले डल्लासबाट ज्याक्सन हाईट्ससम्म आईपुगेको छl एनआरएन अमेरिकाका हाम्रा जिम्मेवार पदाधिकारीहरुले नेपाली जन सम्पर्क समितीमा कसलाई जिताउने र कसलाई हराउने भनेर आलेख र फेसबुकमा पोस्टिंग गर्दै उक्त खेल मैदानमा सामेल भएको तथ्य त हामी कसैबाट छिपेको पक्कै छैनl

त्यसको हिसाब किताब आम प्रवासी नेपाली र स्वामित्व ग्रहण गरेका सदस्यहरुले पक्कै राखेका छन् र राख्नेछन् अब मे महिनामा हुने निर्वाचनमा निश्चितरुपमा त्यसको नाफा घाटाको वासलात सार्वजनिक हुनेनै छl निलज्ज भएर लाग्नेहरुको ओखति भनेको समय हो जो नितान्त नजिक छl

पहिलो गाँसमै ढुंगा: एनआरएन अमेरिकाले न्युयोर्कको ज्याक्सन हाईट्समा आयोजना गरेको मेला
पहिलो गाँसमै ढुंगा: एनआरएन अमेरिकाले न्युयोर्कको ज्याक्सन हाईट्समा आयोजना गरेको मेला

ढिलै भएपनि एउटा बिराट चेतना सबैमा आएको छ र एनआरएन अमेरिकालाई राजनीतिमुक्त सबैको बृहद र व्यापक संगठन बनाईनु पर्छ भन्ने स्वाधीन चेत र मत सर्वाधिक शक्तिशाली बन्दै गईरहेको छl अहिले एनआरएन अमेरिकाले औपचारिकरुपमा सदस्यता नवीकरण र नयाँ सदस्य बन्नको लागि सार्वजनिक सूचना सम्प्रेषण गरेको छ, जस अनुसार आउँदो जनावरी महिनाको ३१ तारिख भित्रमा सदस्यता लिईसक्नु पर्ने छl सदस्य बनौं भनेर सदस्यतापुर्वक सार्वजनिकरुपमा बिज्ञप्ति, परिपत्र या आलेख मार्फत लेखे या भने पनि “सदस्यता किन बन्ने?” र “सदस्य बनेपछि के फाईदा हुन्छ?” भन्ने अहम र यक्ष सवाललाई सम्बोधन गर्न हामी निरन्तर चुक्छौँl

सामाजिक संजालका सशक्त र सक्रिय लेखक ससंग लामाको स्पष्ट, निडर र खरो तर्क यस्तो छ:

एनआरएनमा सदस्य भएमा (बिदेशी कागज लिइसकेको हकमा):

~ एक पटकको नेपाली संधैको नेपाली हुनेछ

~ अर्थात बिदेशी नागरिकता लिए पनि अंग्रिकृत ढाँचाको नेपाली नागरिकता लिन पाईन्छ|

~ आफ्नै नाममा नेपालमा चल् अचल सम्पत्ति जोडन सकिन्छl

~ निश्चित रकम तिरेर दश बर्षको नेपाली मल्टिपल भिसा लिन सकिन्छ |

यस्तै ढांचाको फेहरिस्त बनाएर पो सद्स्यताको लागि आमन्त्रण गर्नुपर्दछ| लु सदस्य बन भनेर यत्रो पनि बन्दैनl चुनावताका मानिस बटुलेर सदस्यता शुल्क आँफैले तिरी सदस्य बनाउने अभ्यासलाई निरुत्साह गरी त्यस्तालाई भविष्यमा अयोग्य हुने गरी हटाइनु पर्छ| ‘सदस्य बन’ भनेर प्रचार गरेर मात्र पुग्दैन | सदस्यताबाट प्राप्त हुने अल्पकालिन र दिर्घकालिन सहुलियतहरु बताएर एक किसिमको मार्केटिङ पो गर्नुपर्छ|

ठाडो तरिकाले सदस्य बन भनेर संगठन सल्टिन्छ र ? डिमाग् लगा पासा! डिमाग् !!

पासा ससंग लामाले सुझाए जस्तै गरि प्रवासी नेपालीहरुको बाक्लो बस्ति र आवादी रहेको राज्य र क्षेत्रको पहिचान गरि केहि सामुदायिक अन्तरक्रिया कार्यक्रमहरुको आयोजना गर्दै आफुहरुले स्थापना गरेको भनिएको लस एञ्जलस र न्युयोर्कको कार्यालयलाई क्रियासिल मात्र राख्न सके अहिलेको मौजुदा ३९८८ जनाको सदस्य संख्यालाई बढाएर कम्तिमा दस हजार पुर्याउन सकिन्छl तर दुर्भाग्य सधै भुलभुलैया, दिवास्वप्न अनि उचीउडानमा रमाएका वर्तमान नेतृत्व र कार्यसमिती कानमा तेल हालेर बसेका छनl

(सम्पूर्ण तस्विरहरु फोटो पत्रकार अशोक पन्तको निजि वेबसाईट नेपालफोटोन्युज डट कमबाट साभार)