६ चैत्र २०८०, मंगलवार १:०१ | 03/19/2024 3:16 AM



अब “मेरो” बाट “हाम्रो” अनि “म” बाट “हामी” भएछौं

२ जेष्ठ २०७२, शनिबार १४:५४ मा प्रकाशित

यो बिपत, त्राषद र आहतमा मातृभूमी आमा जननीसंगै नरोएको को छ र? सिमाना, भूगोल, जात, विचार, रंग र बर्ण भन्दा माथि भएको छ हाम्रो सोंच अनि चेत|मानिस जाती स्वभाबैले दु:खमा जोडिन्छ, अहिले हामी जोडिएका छौं| प्रत्येक बिपत र बिपत्ति भित्र असिमित अनि प्रचुर सम्भावना पनि लुकेको हुन्छ अहिले हामी संसारभरिबाट त्यहि सम्भावनाको ब्यबहारिक पहिचान गर्दैछौं| महा प्रलयकारी भूकम्पले ढालेको जस्तै ढांचा र डर्राको देवालय, मठ मन्दिर अनि धरहरा बनाउन नसके पनि अब हामी हाम्रो युग चेतनाले एक्काईसौं शताब्दीको मानवीय चाहनाको परिपुर्ती गर्ने प्रगति र समृध्दीको आयामिक अग्लो, सग्लो र उचा धरोहर बनाउन संसारभरबाट जुर्मुराएका छौं|

IMG_3642

जुट्न नजान्ने तर फुट्न र विभाजित हुन माहिर भनेर जानिने न्युयोर्कको बाक्लो प्रवासी नेपाली समाज अविश्वासिलो स्तर र धरातलमा एक धिक्का भएको छ चाहे त्यो राहत र उद्दारमा आर्थिक संकलन गरि नेपाल जाने या लैजाने क्रममा होस् चाहे अमेरिकी सरकारबाट प्राप्त हुने टीपीएस (टेम्पोरेरी प्रोटेक्टेड स्टाटस) को प्रत्याभूति लिने काममा होस अहिले सिंगो नेपाली समाज र संगठनहरु एक गट्ठा अनि एक ढिक्का भएको छ|

अमेरिकाका ठुला संगठन भनेर जानिने र चिनिने एनआरएन अमेरिका, शेर्पा क्यिदुग न्युयोर्क, टेक्सास नेपाली समाज, नेपाली जन सम्पर्क समिती अमेरिका, गुरुङ समाज अमेरिका, अधिकार, रिजउड नेपाली समाज, प्रवासी नेपाली मंच, तामांग समाज अमेरिका लगायत अन्य थुप्रै संघ संगठनहरुले ठुलो मात्रामा अर्थ संकलन गरेका छन| जसले जसरी पठाए पनि आहत र पिडित नेपालीहरुको राहत र उद्दारको लागि यो ठुलो रकम नेपाल भित्रदैछ|

त्यहि सेरोफेरोमा आज मे १६ तारिख राती न्युयोर्क सहरको प्रतिष्ठित न्यु स्कुलको जन एल तिसम्यान अडीटोरियमको प्रेक्षालयमा गुरुङ सोसाईटी अफ अमेरिकाको आयोजनामा बृहद सांगीतिक कन्सर्ट (बेनेफिट कन्सर्ट) को आयोजना हुँदैछ| यस कार्यक्रममा अन्तर्राष्ट्रिय कलाकारहरु रेड बाराट, डान जान्स, आस्ली फिलिप्स, टुईलो, लिटिल सिल्भर अनि नेपाली कलाकारहरु सपना श्री, निमा रुम्बा, राजु लामा, श्याम नेपाली, छाम-छाम गांग तथा ख्यातीप्राप्त पाहुनाहरु प्रबल गुरुङ, मन्जुश्री थापा, प्रशान्त झा, इअन मार्टिन, एस. डी. मुनी तथा केभिन बुरिस्कीको प्रस्तुति तथा गरिमामय उपस्थिति रहनेछ|
यो हामी आम प्रवासी नेपालीहरुको लागि प्राप्त हुने दुर्लभ अवसर पनि हो जहाँ संसार भरका ख्यातीप्राप्त कलाकारहरु एउटै मंचमा अनि मानवीय राहत र उद्दारका लागि आ-आफ्ना प्रस्तुतिहरु लिएर उपस्थित हुनेछन| यहाँ उपलब्ध गरिएको www.gurungs.org hamroNepalposter (1) वेबसाईटमा गएर आफुले सक्ने सहयोग उपलब्ध गराए पछि आज साँझको कार्यक्रममा सम्मानित प्रवेश पाईनेछ|

IMG_3644

गुरुङ सोसाईटी अफ अमेरिकाले एक लाख (सय हजार डलर) डलरको लक्ष राखेर आरम्भ गरेको अन लाईन फण्ड रेजिंग इभेन्टमा अहिले सम्म करिब ९६,०५० डलर संकलन भईसकेको छ| तर कति अवस्थाहरुमा आर्थिक रकम र संकलन भन्दा पनि हामी भनेर गर्ब गर्न सकिने सामाजिक सद्भाव र एक्यबद्धताको खाँचो हुन्छ| त्यही भाव अर्थमा पनि आज गुरुङ सोसाईटी अफ अमेरिकालाई “हामी” र “हाम्रो” साथ, समर्थन र उपस्थिति आवश्यक छ| त्यहि आशा र अदम्य बिश्वासले नै होला सायद कार्यक्रमको नाम नै “हाम्रो नेपाल” राखिएको रहेछ|

बिगतको हप्ताहरुमा ज्याक्सन हाईट्सको डिभर्सिटी प्लाजा, रिजउड अनि टाईम्स ईस्क्वायरमा ध्वनित र तरंगित भएको शोकलाई शक्ति र सम्भावनामा बदल्ने अदम्य साहसका आवाज र नाराहरु आज राती हामी सम्पूर्ण प्रस्तोता सर्जकहरुका साथ म्यानहटनको जन एल तिसम्यान अडीटोरियमको प्रेक्षालयमा पनि अझ उचो स्वरमा घन्काउने छौं…हाम्रो नेपाल, राम्रो नेपाल: हामी आफै बनाउने छौं-हाम्रो आफ्नै नेपाल!

तस्विर: श्याम श्रेष्ठ, ह्वाईट हिमाल टेलिभिजन, न्युयोर्क