७ बैशाख २०८१, शुक्रबार ४:०५ | 04/19/2024 6:20 AM



अब पालो निमा म्याकईल्हिने र भुटिला कार्पोचेको – शैलेश श्रेष्ठ

२६ जेष्ठ २०७९, बिहीबार ०१:३० मा प्रकाशित

आम संचार र अझ त्यसमा नि सामुदायिक संचारमा उत्पातै रमाएको मान्छे हूँ म। म जहाँ रहेनी समुदायको कुरोमा अलि बढी चासो अनि सरोकार राख्दछु। दुई दशक अमेरिका बस्दा हाम्रो सम्भावनायुक्त प्रवासी नेपाली समुदाय र समुदायका अगुवाहरुलाई परम्परागत सुबिधा घेरा तोडेर मुलधारको समुदाय र राजनीतिमा फड्को मारौं है भनेर खुबै उकेरा लगाएँ। अमेरिकी राजनीतिमा ह्यारी भण्डारी, किरण सिटौला, मधु पन्थी, प्रदिप ढकाल, रामचन्द्र श्रेष्ठ र टिका पौडेल हरुले सफलताको गोरेटाहरु पैल्याउँदा औधि रमाएँ। यता क्यानडामा कुञ्जर शर्मा, विजय पौडेलहरुले त्यही गोरेटो पक्रिएको सुन्दा आ-मरिखा बाटै उन्मुक्त खुसीहरू व्यक्त गरें।

टोरोन्टोका नेपाली क्यानेडाली ईन्द्र महर्जनले ‘उत्कृष्ट पच्चीस क्यानेडियन इमिग्रेन्ट अवार्ड-२०२१’ जिते रे भन्ने सुनेको थिएँ केही महिना अघि स्कारबोरो तिर यसोचिसो खान निस्किएको बेला कम्युनिटीका खबर-कागज पत्रपत्रिका पाउने बक्सबाट केही थान म्यागेजिन टिपेर ल्याएको थिएँ एउटा त त्यै ‘क्यानेडियन इमिग्रेन्ट’ पत्रिकानै पो परेछ जसमा उत्कृष्ट २५ जनाकै छोटो परिचय र उनीहरुका ब्यबसायिक,सामाजिक र राजनैतिक उपलब्धिहरुका बारेमा जानकारी दिईएको रहेछ। नेपालको नोस्टाल्जिक पोलिटिक्स र पार्टी बफादारीको प्रत्युत्पादक कर्ममा लाग्नेहरुको बाक्लै भिंड भएको टोरन्टोमा नेपाली क्यानेडाली ईन्द्र महर्जनले ‘उत्कृष्ट पच्चीस क्यानेडियन इमिग्रेन्ट अवार्ड-२०२१’ जित्नु चानचुने कुरो होइन।

खबर पढेर टोरोन्टोको कठ्यान्ग्रिँदो चिसोमा खुबै रमाएँ। उनीसंगै उत्कृष्ट २५ मा पर्नेहरु मध्य ब्राम्पटन साउथबाट निरन्तर तेश्रो पटक मेम्बर अफ पार्लियामेन्ट बनेकी लिबरल पार्टीकी सांसद सोनिआ सिधु पनि परेकी रहेछन। यो भन्दा अघि नि डा. तुलसी धरेल उत्कृष्ट पच्चीस क्यानेडियन इमिग्रेन्ट अवार्डद्वारा सम्मानित हुँदा आ-मरिखाबाटै खुसी व्यक्त गर्दै बधाई लेखेको थिएँ। यहाँहरुलाई थाहै छ मलाई उताको प्रत्युत्पादक ‘नोस्टाल्जिक पोलिटिक्स’ भन्दा कर्मभुमिकै मुलधारको समाज र राजनीतिमा अभिरुचि छ।

उताको भात्री संगठनमार्का राजनीतिमा लागेर आफु आफै भिंडेर लडेर शक्ति क्षयिकरण गर्नुको साटो यताकै राजनीतिमा लाग्ने हो भने हाम्रो संख्या र औकातले उत्तर अमेरिकामा हामीले ठुलै बाजी मार्न सक्छौं। यसपालीकै कन्जरभेटिभ पार्टीको प्राईमरीमा नि मिस्सिसागा मिल्टन क्षेत्रबाट विजय पौडेल अत्यन्त झिनो मतले पराजित भएका रहेछन। बिगत केही बर्ष यता क्यानेडाली नेपालीहरुले मुलधारको समाज, ब्यबसाय र राजनीतिमा आफ्नो प्रभाव बढाउँदै लागेका रहेछन।

डा तुल्सी धरेल र ईन्द्र महर्जनको विरासतलाई अर्को उचाईमा पुर्याउन यसपाली अर्की उद्यमशील नेपाली चेली सामाजिक अभियन्ता निमा म्याकईल्हिने जीतको नजिक आईपुगेकी छिन। क्यानडाको बुर्लिंगटन निवासी निमा म्याकईल्हिने रिटायरमेन्ट होमहरु संचालन गरेर सिनियर सिजिटनहरुलाई सेवा दिईरहेकी छिन भने सर एडमण्ड हिलारी फाउन्डेसन मार्फत नेपाल बिपन्न्न अनि सिमान्तकृतहरुलाई शिक्षाको अवसर दिने सत्कर्मका दशकौदेखि क्रियाशील छिन। उनी नाफामुलक ब्यबसायसंगसंगै लोककल्याणकारी सत्कर्म र महिला स-शक्तिकरणमा पनि क्रियाशील छिन। उनीसंगै उत्कृष्ट पच्चीस क्यानेडियन इमिग्रेन्ट अवार्डका लागि तिब्बतियन मुलकी एमपीपी भुटिला कार्पोचे (न्यु डेमोक्रेटिक पार्टी) पनि अन्तिम प्रतिष्पर्धामा छिन।

अबको करिव ३६ घण्टा अर्थात् जुन दस तारिखको मध्यरातसम्ममा तपाई हामीले उनीहरुलाई आफ्नो अमुल्य भोट दिन सक्नेछौं त्यही स्व-स्फुर्त अभिमतकै कारण हामीले यो सम्भावनायुक्त अवसरको भुमी क्यानडामा आफ्नो परिचय र पहिचानको स्वपान गर्न सक्नेछौं।

यता क्यानडामा नि उता अमेरिका जस्तै प्रत्युत्पादक ‘नोस्टाल्जिक पोलिटिक्स’ मा रमाएका भिंड मात्र रहेन छन । हिलोमा फुलेका कमलको फूल जस्ता प्रतिभा र व्यक्तित्वहरु पनि रहेछन जसले मुलधारको समाज, ब्यबसाय अनि राजनीतिमा निरन्तर फड्को मारिरहेका छन। कम्फर्ट जोनको आत्मरति र काहालीलाग्दो कचहरीबाट निस्किएर मुलधारमा गर्विलो परिचय र पहिचान बनाउने अरु थुप्रै डा. तुल्सी धरेल, कुञ्जर शर्मा, ईन्द्र महर्जन, ज्योति बैद्य, मुगा राजभण्डारी र विजय पौडेलहरु आउँदैछन। अग्रिम बधाई निमा म्याकईल्हिने! हार्दिक शुभकामना एमपीपी भुटिला कार्पोचे!!