७ बैशाख २०८१, शुक्रबार ८:१३ | 04/19/2024 10:28 AM



ओन्टारियोमा पीसीको ‘ब्लु-वेभ’ – शैलेश श्रेष्ठ

२० जेष्ठ २०७९, शुक्रबार ००:४३ मा प्रकाशित

सन् २०२० को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा परम्परागत दक्षिणी रिपब्लिकन राता राज्यहरु जर्जिया र टेक्सासमा एकखालको डेमोक्रेटिक ब्लुवेभ आएको थियो त्यसै गरि आज सम्पन्न भएको निर्वाचनमा ओन्टारियो प्रोभिन्समा पीसी प्रोग्रेसिभ कन्जरभेटिभ ब्लुवेभ आएको छ । सत्तारुढ पीसी पार्टीलाईर प्रिमियर डग फोर्डलाई कोरोना महामारी फलिफाप नै भएको छ हुन पनि प्रिमियर फोर्ड र उनको प्रशासनले सेवाग्राही ओन्टारियनहरुलाई आवश्यक सेवा र सुबिधा दिन कुनै कसर बाँकी राखेका थिएनन। केन्द्रमा लिबरल पार्टीलाई फलिफाप भएझैं ओन्टारियोमा सत्तारुढ प्रोग्रेसिभ कन्जरभेटिभलाई राजनैतिक फलिफाप अनि लाभ भएको छ।

सन् २०१८ को निर्वाचनमा ७६ सिट ल्याएर बहुमतको सरकार बनाउन सफल भएको पीसी पार्टीले आज सम्पन्न भएको निर्वाचनमा आफ्नो सिट संख्या बढाएको छ भने न्यु डेमोक्रेटिक पार्टीको प्रभाव प्रतिशत र सिट संख्या दुबैमा पहिलेको भन्दा खस्किएको प्रारम्भिक संकेत र सूचांक आउन थालेको छ। अघिल्लो निर्वाचनमा सात सिट मात्र जित्न सफल भएको लिबरल पार्टीले केही सिट बढाउने स्पष्ट छ तथापी पार्टी नेता स्टिभन डेल डुका आफ्नो निर्वाचन क्षेत्र भन उडब्रिजमा पराजित भएका छन।

तस्विरमा बायाँबाट क्रमश: दीपक, डली, भुटिला र मजहर
नेपाली समुदाय असल साथी र शुभचिन्तक दीपक आनन्द मिसिसागा मिल्टन क्षेत्रबाट पुनः निर्वाचित भएका छन भने स्कारबोरो साउथवेष्ट निर्वाचन क्षेत्रबाट प्रोग्रेसिभ फायरब्राण्ड बंगलादेशी मुलकी डली बेगमले न्यु डेमोक्रेटिक पार्टीको तर्फबाट सानदार जीत हाँसिल गरेकी छिन। त्यसैगरी तिब्बती मुलकी न्यु डेमोक्रेटिक पार्टीकी उम्मेदवार भुटिला कार्पोचे पनि पार्कडेल-हाईपार्क निर्वाचन क्षेत्रबाट पुनः निर्वाचित भएकी छिन। नेपाली क्यानेडालीहरुको बाक्लो बस्ति भएको स्कारबोरो सेन्टर निर्वाचन क्षेत्रका लिबरल उम्मेदवार मजहर साफीक पीसी पार्टीका उम्मेदवार डेभिड स्मिथबाट पराजित भएका छन। पाकिस्तानी मुलका साफीकलाई नेपालीहरुको साथ अनि समर्थन रहेको थियो।

आफु आफ्नो निर्वाचन क्षेत्रबाट सानदार बिजयी भएपनि पहिलेको तुलनामा पार्टीको स्थिति खच्चिएको तथ्यलाई स्वीकार गर्दै न्यु डेमोक्रेटिक पार्टीकी नेतृ आन्द्रिया होरवाथले नेतृत्वबाट हट्ने घोषणा गरेकी छिन भने लिबरल नेता स्टिभन डेल डुकाले पनि नेतृत्वबाट तत्काल हट्ने स्पष्ट संकेत गरेका छन। पीसी पार्टीको यो ऐतिहाँसिक जीतले प्रिमियर डग फोर्डलाई क्यानडाको सर्वाधिक सफल र लोकप्रिय नेताको रुपमा स्थापित गराई दिएको छ। यो ब्लूवेभ सफलताको समग्र जस नि:सन्देह प्रिमियर फोर्डलाई जान्छ।