८ बैशाख २०८१, शनिबार ९:४८ | 04/20/2024 12:03 AM



राजेश पायल राई माथिको आक्रमण: ज्याक्सन हाईट्सको नियमित आकस्मिकता कि नियोजित षडयन्त्र? शैलेश श्रेष्ठ, उत्तर अमेरिका

१७ पुष २०७८, शनिबार १५:०५ मा प्रकाशित

जब गीत संगीत फराकिलो बन्दै स्टेज शो र रियालिटी शोहरु मार्फत बृहत व्यापक अनि ब्यबसायिक बन्दछ त्यसले स्वभावत: ब्यबस्थापकीय चुनौतीहरु पनि संगै लिएर आउने गर्दछ। त्यस्ता आईपर्ने चुनौतीहरुको समन्वय र ब्यबस्थापन गर्ने कैयन बिकशित देशका कलेजहरुले पाठ्यक्रमनै बनाएर शिक्षा समेत दिने गरेका छन तर हामी नेपालीहरु भने जहाँ रहे पनि अनि जत्तिनै स्तरिय कार्यक्रम गरेनी ब्यबस्थापन मै चुक्ने गर्दछौं।

आफुले पनि त्यही नेपालीहरुको बाक्लो आवादी अनि बस्ति रहेको नेपालीपाराको ‘युटोपियन साम्राज्य’ न्युयोर्कको ज्याक्सन हाईट्सको निकट या आसपासमा करिव दुई दशक क्रियाशील सामाजिक जीवन बिताएको नाता र हैसियतले म हाम्रो नपाली समुदायको अभिष्ट, नियति र मनोविज्ञान पनि बुझ्दछु। हामी दशकौं यता बसेपनि उता नेपालकै शैली, जीवन पध्दती र मनोविज्ञानद्वारा निर्देशित छौं। हिजो त्यही नेपालीहरुको ‘युटोपियन साम्राज्य’ न्युयोर्कको ज्याक्सन हाईट्समा नेपालका सर्वाधिक लोकप्रिय गायक राजेश पायल राई माथि भएको जघन्य आक्रमण ज्याक्सन हाईट्सको नियमित आकस्मिकता कि उनी माथिको नियोजित षडयन्त्र? यसको घनिभूत सामाजिक विश्लेषण गर्दै यस्ता जघन्य अराजकतालाई अमेरिकी मौजुदा कानुन अन्तर्गत न्यायिक निरुपण नगर्ने हो भने यस्ता नियमित आकस्मिकताहरुले स्वेच्छिक अराजकता हुँदै वैयक्तिक या ब्यबसायिक द्वेष, ईर्ष्या हुँदै जघन्य अपराधको स्वरुप ग्रहण गर्ने डरलाग्दो सम्भावना रहन्छ। आफु घटनास्थलको देखि जान्ने गवाहसम्म नभएको अवस्थामा यसको सुक्ष्म चिरफार र विश्लेषण गर्न जोखिम छ तथापी समुदायमा निरन्तर मौलाएको दण्डहिनता, अराजकता अनि समुहगत तिक्तता र द्वेषहरुबाट सिर्जित थुप्रै घटना परिघटनाहरुको आधारबाट हामीले समीक्षात्मक खबरदारी बोल्नु या लेख्नु पर्दछ।

यस्ता कार्यक्रमहरुमा हाम्रा ब्यबस्थापन नितान्त फितलो हुने गर्दछ। म आफु पनि आयोजककारुपमा रहेर सन् २००३ तिर गायक यम बरालको सांगीतिक साँझ ‘हिमालयका सुसेलीहरु’ आयोजाना गर्दा मैले त्यस्ता अप्ठेराहरुको सामना गरेको थिएँ। उद्घोषकसंगै आयोजकको जिम्मेवारी निर्वाह गर्न सजिलो थिएन त्यसमाथि मैले बाउञ्चरको नि काम गर्नु परेको थियो। मदिरापानले लट्ठ भएको एकजना भाइ स्टेज नजिकैको भित्तामा अडेस लागेर मलाई बारम्बार भन्थे ‘ए शैलेश दाई, तपाईले चान्स पाउनु भयो र पो यति मिठो बोल्नु हुन्छ लु एकचोटी मलाई नि चान्स दिनुस त अनि म देखाई दिन्छु।’ उ बारम्बार मन्चमा चढ्न खोज्थ्यो म उनलाई रोक्न बिबश हुन्थें।

हिजोको कार्यक्रममा राजेश पायल राईलाई आक्रमण गर्न मंच तिर फटाफट चढ्दै गरेको दृश्य फेसबुक लाईभ हेर्ना साथ म सन् २००३ को त्यो फ्लासब्याकमा पुगें। यस्ता कार्यक्रमहरुमा अक्सर मदिरा र मदिराको बहानामा अराजक बन्ने मानिसहरु ठुलो समस्या हुने गर्दछन। आयोजकहरुको कमाईको सबभन्दा ठुलो हिस्सा मदिरा बिक्रिबाटै हुने गर्दा रहेछन। त्यो दारुण र दयनीय सत्य बुझेपछि मैले त्यसपछि कहिल्यै कलाकारितालाई मदिया या द्रब्यमा साट्ने कुकर्म र दुस्साहस गरिन।

हिजोको कार्यक्रम मात्र होइन हिजोआज फेसन र कमाई धन्दाका रुपमा गरिने यस्ता कार्यक्रमहरुमा ब्यबस्थापन नितान्त कमजोर हुने गर्दछ। म सम्झन्छु हामीले तीन दशक अघि राष्ट्रिय नाचघर, राष्ट्रिय सभागृह र प्रज्ञा प्रतिष्ठानमा नाटक हुँदा कोही मानिस स्टेजमा जान पाउँदैनथे। नाटक सकिएपछि हामी कलाकारहरुलाई हेर्न र भेट्न दर्शकहरु बाहिर लाईन लागेर बसेका हुन्थे।

अन्यत्र जस्तै यो भाईरल भन्ने जिनिस भाईरस बनेर हाम्रो कलाकारिता र गीत-संगीतमा नि छिरेको छ। हिजोको घटनालाई नि आयोजकहरुको बनिबनाउ ब्यूहरचना हुन भनेर भन्नेहरु नि ठुलै संख्यामा निस्कनेछन त्यसको जवाफ आयोजकहरुले दिनुपर्ने हुन्छ। सयौं हजारौं नाङ्गा आँखाहरुले देखेको मन्चमा चढेर राजेश पायललाई गलत्याउने त्यो तथाकथित आक्रमणकारी पात्रलाई आयोजक संस्था बुध्द ट्याक्सले सार्वजनिक गर्छ कि गर्दैन अब आम मानिसका आँखा त्यता सोझिने छन। कि त आयोजकहरुले त्यो त टिकटकको छायांकन थियो भनेर त्यो टिकटक पनि सार्वजनिक गर्नु पर्यो!

हिजो न्युयोर्कका भएको घटनाको छानविन गरेर अमेरिकी मौजुदा कानुन अनुसार आक्रमणकारीलाई कसुर अनुसार कारवाही नगर्ने हो भने यो त्रास र अराजकता नेपालीपाराको ‘युटोपियन साम्राज्य’ न्युयोर्कमा निरन्तर मौलाउँछ। बुढी मरी भन्दा नि काल पल्कियो भन्ने डर हुन्छ। अझै पनि हामी नेपालकै पाराले भनि दिन्छौं ‘आ भैगो नि त अमेरिकन खोयाबिर्के धोकेका थिए होलान मन्चमा चढेर ठेलठाल गरेछन।’ यो एकजना गायक राजेश पायल राई मात्रको अपमान होइन गीत संगीतकै मानमर्दन हो। यी र यस्तै घटनाहरुबाट हामीले पाठ सिक्नु पर्दछ । द्रब्य आशक्त सर्जकहरुका लागि गीत-संगीत फगत ब्यबसाय नबनोस जसलाई सजिलै फगत डलर, युरो अनि पाउण्डसंग महंगा आयातित मदिराका चुस्कीहरुसंगै बेच्न सकियोस ।