८ बैशाख २०८१, शनिबार ४:३६ | 04/20/2024 6:51 AM



दण्डहिनताको कारक हाम्रै क्षमाशिलता ~ शैलेश श्रेष्ठ, न्युजर्जी

१४ फाल्गुन २०७२, शुक्रबार ००:२९ मा प्रकाशित

संसारमा सबभन्दा बढी बिक्रि हुने चिज सपना रहेछ त्यो राजनीति देखि ब्यापारसम्म त्यहि रफ्तारमा बिक्रि हुन्छ | तर कुनै कुनै किनिएको अथवा स्वीकार गरिएको सपना यति महँगो हुन्छ कि त्यो जीवन पर्यन्त पिडा र घात भएर बल्झिरहन्छ | सपना अनि सम्भावनाको देश भनेर जानिने अमेरिकामा त्यो सपनाको आकार पनि ठुलै हुन्छ अनि त्यहि ठुलो आकारको सपना नै आखिरमा गएर चटके ठगहरुले चक्रब्यूह रच्ने फराकिलो धरातल बन्दछ |

हामी अक्सर हाम्रै र आफ्नै मान्छेबाट ठगिएका, मिचिएका, थिचिएका र बेचिएका छौं चाहे त्यो मातृभूमी नेपालमा होस अथवा त्यहि रंगीन सपनाको कर्मभुमी अमेरिकामा | सगर्व श्रम बेचेर खान पाईने अमेरिकामा पनि हामी हाम्रै मान्छेलाई ठग्ने बहाना र अप्ठेरा ठाउंहरु खोज्छौं: जीवन बीमा (लाईफ ईन्स्योरेन्स), काम लगाई दिने (एम्प्लोईमेंट एजेन्सी), मान्छे ल्याउने (मेनपावर कम्पनी) अनि अरु के के के के | नचाहिएको ठाउंमा छुच्चो र कडा जस्ता लाग्ने हाम्रा मान्छेहरु चाहिएको बेलामा कि त लाछी अथवा अधिक क्षमाशिलता बनिदिन्छन | तिम्रा श्रीमान र छोरालाई अमेरिका ल्याईदिन्छु भनेर बीसौं हजार ठग्नेलाई अमेरिकी कानुन अनुसार कारवाही गरौँ भन्दा “होइन हौ बाबु छाडी दिउँ त्यो पापीलाई अब त्यसलाई अमेरिकी जेलमा कोचेर के गर्नु मेरो पैसा असुल हुने होइन | त्यसको पनि श्रीमती लालाबाला होलान तिनको बिजोक हुन्छ |” भन्छन अनि प्रवासी समाजमा त्यस्ता हुडारहरु अर्को शिकारको बहाना खोज्छ | यो मैले आफैले भोगेको यथार्थ र घटना हो |
10606045_868204129880257_7345423498580241580_n

अहिले चर्चाको शिखरमा छ जीबन बीमा (लाईफ ईन्स्योरेन्स) को नाममा नेपाली एजेन्टहरुले गर्ने गरेको ठगी धन्दा | यो प्रोडक्ट आफैमा खराब होइन तर अधिकांश नेपाली एजेन्टहरुले यो उत्पादन बिक्रि गर्दा गलत सुचना, तथ्याङ्क र गणित दिएर ग्राहक (सेवाग्राही) लाई ईन्स्योरेन्स प्लान होइन कोरा सपना बेचेका हुँदा रैछन | त्यो सत्यको ढिलै भएपनि अहिले पर्दाफास हुँदैछ | अघिल्लो हप्ता संचारकर्मी राम प्रसाद खनालले यसै बिषयका ज्ञाता अनिल खनालसंग वार्तालाप गरेको श्रब्य-दृश्य सार्वजनिक सम्प्रेषण भएपछी यो बिषय प्रवासी नेपाली समाजमा भाईरल बनेको छ | प्रवासी नेपालीहरुको बाक्लो आवादी भएको सहरको घर-आँगन, चौक, गल्लि, मोहल्ला अनि डबलीहरुमा यहि बिषय र सम्भावित ठगहरुको बारेमा चर्चा-परिचर्चा सुरु भएको छ |

यसो गरिरहँदा अथवा भनिरहँदा गहुँ पिस्दा घुन चाही पिस्नु हुँदैन त्यो बिषयमा हामी संचारकर्मीहरु सचेत र संबेदनशील हुनुपर्दछ किनकी त्यो उनीहरुले स्वेच्छाले अङ्गीकार गरेको पेशा हो तर उत्पादन नबेचेर उनीहरुले पनि सिर्फ उडन्ते सपना मात्र बेचेका रहेछन भने अमेरिकी कानुन र कानुनले तोकेको दण्डबाट चाँही कुनै पनि बहानामा उनीहरुले उन्मुक्ति पाउनु हुँदैन | राम प्रसाद खनालले आरम्भ गरेको यो साहसिक अभियानले अहिले सपना बेचेर महल ठड्याउने सपना बोकेका ठगहरुको मनमा ८.५ रेक्टर स्केलको भुकम्प आएको छ | त्यसो परकम्पनले अहिले अरु खाले पेशेवर ठगहरुको पनि ओंठमुख सुक्न थालेको छ | यो चेतनामुलक अभियानले बृहद परिबेग ल्याएको छ | अहिले पछिल्लो चरणमा थुप्रै संचारकर्मीहरुले यथार्थपरक अनि खोजमुलक आलेख तथा समाचारहरु सम्प्रेषण गरिरहेका छन | पछिल्ला दिनहरुमा लेखक शिब प्रकाश, दिनेश कार्की, गुणराज लुइंटेल, चन्द्र खतिवडा, भोला आचार्य, सहदेब पौडेल, सम्झना आत्रेय, ससंग लामा जस्ता संचारकर्मीहरुले आफ्ना विचार र अनुभब सम्प्रेषण गरिरहेका छन |

यस खाले दण्डहिनता हामी आफ्नै कारणले मौलाईरहेको छ | हामी देख्छौं तर बोल्दैनौं, चुपचाप सहन्छौँ त्यसैको फाईदा उठाएर प्रवासमा पनि हाम्रो समाज परपीडक बनिरहेको छ | लुटको साम्राज्य बनिरहेको छ | तपाई हाम्रो रगत पसिनाको कमाई लुटेर सपना बेच्दै अमेरिकी सपना साकार पर्ने घरभित्रमा ठग र लुटेराहरुलाई अमेरिकी कानुनको दयारामा ल्याउने काममा हामी सबै लागौं |
न्युयोर्कको रेल स्टेशनको डिब्बा भित्र र बाहिर होर्डिंग बोर्डहरुमा एमटीएले लेख्ने गरेको छ “इफ यु सी समथिङ्ग, से समथिङ्ग” यत्ति गर्न सके हाम्रो प्रवासी नेपाली समाज एक कदम अगाडी बढ्छ |