८ जेष्ठ २०७९, आईतवार ३:४५ | 05/22/2022 6:00 AM



आखिर आयातित ‘खोयाबिर्के’ कै कमाल रहेछ! शैलेश श्रेष्ठ, उत्तर अमेरिका

१९ पुष २०७८, सोमबार ००:१६ मा प्रकाशित

खोयाबिर्केको नशामा लट्ठ भएर अरुको शीर नै छेदन हुने गरि सिरुपाते खुकुरी चलायो अनि त्यै खोयाबिर्केको नशाबाट तंग्रिएपछि बिहानपख समुदायका गन्यमान्य पंचभलाद्मीको रोहोबरमा सिरुपातेको शारीरिक र मानसिक चोट र पीडा भुलौं बिर्सौं भन्दै फेरी अर्को दुई सिसी खोयाबिर्के चढाएर ‘शिर उठाउनी’ (शिर उभाउनी) गर्ने गरेको राई जातिको त्यो उदार मौलिक संस्कारलाई मैले तीन दशक अघि मेरो जन्मथलो माझकिरांतमा बाक्लै गरि देखेकै हूँ।

अब चैं देख्न नपरे हुन्थ्यो जस्तो लाग्छ मलाई तर दुर्भाग्य त्यसैको नयाँ संस्करण हाम्रो आफ्नै पाराले चल्ने न्युयोर्कको ज्याक्सन हाईट्समा फेरी देख्न पाईयो। नेपालीपाराको ‘युटोपियन साम्राज्य’ न्युयोर्कको ज्याक्सन हाईट्सको निकट या आसपासमा करिव दुई दशक क्रियाशील सामाजिक जीवन बिताएको नाता र हैसियतले म हाम्रो नपाली समुदायको अभिष्ट, नियति र मनोविज्ञान पनि बुझ्दछु। टाढैबाट हेर्दा पनि घटनासंगै पात्र र चरित्रहरू पनि छर्लंग देख्छु।

गायक राजेश पायल राईलाई खदा लगाई दिएर माफी माग्दै पासाङ्ग दावा शेर्पा।
घटना पश्चात मैले आफ्नै ब्लगमा एउटा विचार सम्प्रेषण प्रकाशित गरेपछि संसारभरबाट थुप्रै पाठक र साथीभाइहरुले ‘के यो आयोजकहरुले नै गराएको प्रायोजित घटना त होइन?’ भनेर सोधेका छन। मैले जवाफमा प्राय जसोलाई भन्ने गरेको थिएँ ‘सायद राजेश पायल राईलाई त्यो स्तरमा त्यसो गरिरहनु आवश्यक थिएन होला।’ मैले त्यसो भने पनि धेरैले शंकाको सुबिधा लिएका छन किनकी अहिलेको कलाकारितामा भाईरल हुने भाईरस मनोवृत्ति बढ्दो छ।

अब घटना छ्याङ्ग छर्लंग अनि सचित्र बाहिर आएको छ। राजेश पायल राईलाई स्टेजमा चढेर खोयाबिर्केकै नशामा अँगालो हाल्न जाने उनका एकजना डाईहार्ड फ्यान हामीले पनि जिने जानेकै पासाङ्ग दावा शेर्पा रहेछन। उनले माफी माग्ने क्रममा आफु मदिराको नशामा लट्ठ भएको कुरा स्वीकार गरेका छन। यहाँ पनि उता मेरो जन्मथलो माँझ किरांतमै जस्तो गरि पंचभलाद्मीहरुकै रोहबरमा आयातित ठुलो खोयाबिर्के गायक राजेश पायल राईलाई चढाएर ‘शिर उठाउनी’ कार्जे सम्पन्न भयो। धन्न उनले केही वर्षदेखि पिउन छाडेका छन पहिले पहिले जस्तो हो भने उनले यो आयातित अंगुरको रस एक्लै सिध्याई दिन्थे।

आफ्नो गल्ति स्वीकार गरेर सार्वजनिक माफी माग्नु र क्षेमा दिनु जस्तो उदार र उपकारी कर्म अरु के नै हुन सक्दछ र? तथापी यो घटनाबाट हामी जो कोहीले पनि धेरै पाठ सिक्न सक्दछौं। अबका दिनहरुमा राजेश पायल राई स्तरका कलाकारहरु न्युयोर्क या अन्य सहर आउँदा आयोजक संस्था र तिनका सुरक्षा संयन्त्रका बारेमा अग्रिम जानकारी लिएर मात्र अनुबन्ध-पत्रमा हस्ताक्षर गर्नेछन। मेरो चिन्ता र सरोकार त यत्ति हो ‘द्रब्य-आशक्त सर्जकहरुका लागि गीत-संगीत र कलाकारिता फगत ब्यबसाय नबनोस जसलाई सजिलै डलर, युरो अनि पाउण्डसंग महंगा आयातित खोयाबिर्केका चुस्कीहरुसंगै बेच्न सकियोस् ।

तस्विर: डिजे जाङ्ग्बु शेर्पा