२४ माघ २०७९, मंगलवार २:०५ | 02/07/2023 3:20 AM



उदारबादमा उदाएका निरङ्कुश पात्र र प्रबृत्तिहरु – शैलेश श्रेष्ठ, उत्तर अमेरिका

१० माघ २०७९, मंगलवार २१:३२ मा प्रकाशित

नेपालको वर्तमान राजनीतिमा सफल हुने हो भने नेताहरुले सबभन्दा पहिले भक्तजन अर्थात सामाजिक संजालमा चौबिसै घण्टा आफ्नो पक्षपोषण गर्न तम्तयार डाईहार्ड “साईबर सेना” हरुको अथाह भिंड जन्माउन सक्नु पर्ने रहेछ। त्यस्तो अथाह “भक्तजन” अर्थात “साईबर सेना” हरुको भिंड जन्माउन काठमाडौँका मेयर बालेन शाह र गृहमन्त्री रवि लामिछाने सर्वाधिक सफल भएका छन भने धरानका मेयर हर्क साङ्ग्पाङ्ग आंसिकरुपमा सफल भएका छन। हाम्रो राजनीतिमा अब नेता-नागरिकको लोकतान्त्रिक हैसियत र सम्बन्ध होइन अब त हार्डकोर “भगवान-भक्त” को साईनो अनि सम्बन्ध स्थापित हुने चरणमा छ।

उनीहरुको अन्धोभक्ति गर्न हतियार बिनाका अराजक हिंशक लाखौँ आक्रामक साईबर सेनाहरु चौबिसै घण्टा तयारी अवस्थामा रहेका हुन्छन। पंचायतीकालमा जस्तै गरि अहिले भिजिलान्तेहरु क्रियाशील छन यो उदारवादी राज्य ब्यबस्था अनि बहुलवादी लोकतान्त्रिक पद्धती र समाजका लागि खतरनाक सूचांक हो। यस्तो अन्धो पक्षधरता अक्सर “रिलिजियस कल्ट” हरुमा मात्र हुने गर्दछ, राजनीतिमा चाँही यस्तो नहुनु पर्ने हो । यो पोलिटिकल ट्रेन्ड भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अनि अमेरिकी पुर्व राष्ट्रपति डोनाल्ड जे ट्रम्पसंग ठ्याक्कै मिल्दछ। मोदी र ट्रम्पका आकर्षणहरु क्रमश: हिन्दुत्व र नश्लीय स्वेत सर्बोच्चताबाद हुन तर बालेन र रविको सन्दर्भमा ठम्याउन गाह्रो छ सायद आम जनतामा भएको संस्थापन बिरोधि भावना हो कि?

संजालमा मलाई नियमित पढ्नेहरुले मात्र होइन मलाई नजिकैबाट जान्ने र चिन्नेहरुले समेत हिजोआज “शैलेश बालेन र रवि बिरोधि हो।” भनेर ठोकुवा लेख्न थालेका छन। मेरो आलोचनात्मक चेत अर्थात “मनको आदेश” लाई बिरोधको अर्थमा बुझ्ने भक्तजनहरु प्रति मेरो कुनै तिक्तता अनि गुनासो छैन। “चौतारीमा राजा भेटियो, चौतारीमा रानी भेटियो” शैलीका स्तुतिगान भक्ति संगीत सुनेर अनि तिनका ख्वामित “प्रभु” हरु बिरुद्ध नि लडेर आएको भएर होला मलाई त्यस्ता मित्थ्या आरोपहरुले रत्तिभर पनि छुंदैन। सडक छेउमा आफ्नो औकात अनुसारको उद्यम गरेर बालबच्चा पढाई रहेका गरिखाने श्रमजीवी गरिवलाई खेदेर सडक उद्यमशीलताबाट बिस्थापित गरेर काठमाडौँलाई सुन्दर अनि शान्त सहर बनाउने बालेनको निरङ्कुश सपना र योजनाहरु मलाई मन नपरेकै हो।

मैले खुलेरै “डोजर मेयर” को उपमा दिने गरेको छु। सामर्थ्य हुने कार्यकारीले विस्थापन होइन नियमन नि ब्यबस्थापन गर्ने हो। मैले बीस बर्ष बाँचेको रमाएको कहिल्यै ननिदाउने इन्द्रेणी सहर न्युयोर्क साह्रै गरिव-मैत्री छन त्यो कुरा मैले कैयन पटक प्रमाणिक लेखेको छु । सहरले निमुखा गरिवलाई गरिखान दिएका छन। रेस्टुरेन्टको भन्दा आधा मुल्यमा त्यही स्तरको खाना बाहिर सडकको किनारामा राखिएका भेन्डर (मिनीट्रक) हरुमा उपलब्ध हुन्छन। खाना मात्र होइन अत्यावश्यक लत्ताकपडा अनि अन्य सामग्रीहरु पनि सुपथ मुल्यमा किन्न पाईन्छ। त्यसरी ब्यबस्थित र नियमन गर्न किन सकिन्न र काठमाडौँलाई?

उनलाई सघाउने जिताउने तन्नेरी प्रगतिशील साथीभाइहरु मार्फत मैले कैयन पटक मेरो सन्देश उहाँसम्म पुर्याउन प्रयत्न गरेको छु। बालेन बिस्तारै बिस्तारै बेलायतका राजा लुई तेह्रौं जस्तै “म नै राज्य हूँ” को घमण्ड अनि दम्भमा अघि बढ्न थालेका छन। ढिलै भए पनि उनलाई साथ र सहयोग गर्ने साथीहरुले नि कुरा बुझ्न थालेछन। सहकर्मी सुमन सायमीहरु नै बालेनको बिरोधमा सडकमा उत्रन बाध्य हुनु भनेको सामान्य कुरा या अवस्था हुँदै होइन।

कमेडी च्याम्पियनका निर्माता निर्देशक बिशाल भण्डारीले खरो प्रश्न गरेछन “माफ पाउ श्री ८ बालेन शाह, भत्काउनु बाहेक के बनाउनुभयो? जवाफ कत्ति अहंकारयुक्त अनि निरङ्कुश शैलीको थियो त्यो मैले अर्थ्याउनै पर्दैन। अभिनेता दीपकराज गिरीले उनकै भलो चिताएका थिए त्यहाँ नि जवाफी अंगार ओकलेछन। अहंकारको पारो ह्वात्तै चढ्यो डोजर मेयरलाई! भक्त नै त होइन तर सदा शुभचिन्तक समर्थक कै हैसियतमा रहेका संचारकर्मी नुन चिनी पानीका अर्जुन दाहालले नि आज भर्खर सचेत गराएछन। बालेनका समर्थक, शुभचिन्तक तथा “डाईहार्ड” फ्यान संचारकर्मी ज्योतिकुमार श्रेष्ठले भन्नु भएकै जस्तो “डोजर मेयर” बालेन शाहलाई “बोसो” लाग्न थालेकै हो त?
तस्विर साभार: अनलाईन खबर र नेपालप्रेस डटकम