८ जेष्ठ २०७९, आईतवार ३:३४ | 05/22/2022 5:49 AM



एउटा अविचलित यात्रा: न्युयोर्कदेखि टेक्साससम्म – शैलेश श्रेष्ठ, उत्तर अमेरिका

१९ बैशाख २०७९, सोमबार २०:२१ मा प्रकाशित

प्रवासी नेपालीहरुको बिस्तारित ‘युटोपियन साम्राज्य’ हरुमा सारा दुनियाँले समाजसेवी र तथाकथित सामाजिक अभियन्ताहरुको खोल ओडेको र ओडाईएकाहरुका बारेमा तितो यथार्थहरुको चिया-चर्चा हुँदा मैले किञ्चित अप्ठेरो नमानी ठुलै स्वरमा भन्ने गरेको छु ‘साँचो अर्थमा रिजउड निवासी मोहन ज्ञवाली चाँही सच्चा समाजसेवी हुन जसले आफ्नो नेल सलुन व्यवसायमा सयौं दिदी-बहिनीहरु मात्र होइन कैयन दाजु भाइहरुलाई नि काम सिकाएर रोजगारका लागि शिपमुलक अनि दक्ष बनाई दिएका छन अझ त्यति मात्र होइन कोठा या वासको ठेकान नभईन्जेल बस्ने खानेको बन्दोबस्त नि गरिदिने गरेका छन।’

आज पर्यन्त पनि त्यस्ता कथाका फेहरिस्तहरु कुईन्सको नेपाली समुदायमा उनका सेवाग्राहीहरुबाट म सुन्ने गर्दछु। अर्को तर्फ त्यही समुदायमा तल्लो बाटोबाट आउने दीनदुखीहरु माथि दलाल बिचौलियाहरुले ठगी गरेको कथाहरु नि बाक्लै गरि सुन्न पाईन्छ। आफुलाई ठुलै समाजसेवी अभियन्ता भन्ने र ठान्नेहरुले तिनै मानिसहरुलाई एउटा ‘सिफारिस-पत्र’ लेखिदिए वापत एक हजार डलरसम्म लिने गरेको झोसपोलहरु मेरा कानहरुसम्म आईपुग्ने गरेका छन। बिना प्रमाण आउने यस्ता झोसपोलहरु उपर हामी केही गर्नै नसक्ने र नमिल्ने गरि निरिह अनि मुकदर्शक बनेका छौं।

म त्यसताका न्युयोर्कको रेस्टुरेन्टमा काम गर्ने पूर्णकालिक बेरा थिएँ जीवन जिउन अनि महिनावारी गर्जो टार्न हम्मेहम्मे नै थियो तर उनी अर्थात् यिनै मोहन ज्ञवाली भने एक ब्यबसायी अनि एक किसिमको पूर्णकालिक समाजसेवा गर्थे। एकताका न्युयोर्क कै सर्वाधिक ठुलो ठानिएको रिजउड नेपाली समाज उनकै कोठाबाट जन्मिएको थियो। हरिबंश आचार्य दाई किरण केसी दाईहरुसंग म पहिलो पटक उनको घरमा पुगेको थिएँ सायद यो सन् २००० को दसैंताकाको कुरो हुनुपर्छ। मलाई अचम्म लाग्थ्यो यो स्तरको पूर्णकालिक समाजसेवा गर्न म जस्तै पहिलो पुस्ताको आप्रवासीलाई कसरी सम्भव हुन्छ? उनी बिनायशील मधुर स्वर र लवजमा भन्ने गर्दथे ‘सकिन्छ शैलेश सर, जहाँ ईच्छा त्यहाँ उपाय!’


उनीसंग जोडिएका हिस्स र किस्साको बेलिबिस्तार मैले यसरी नै लगाउन थालें भने कथा टेक्सास नपुगेर न्युयोर्कमै अड्कन्छ। अहँ, मैले किमार्थ त्यस्तो गर्न हुन्न किनकी आजको शिर्ष पात्र अर्थात् मोहन ज्ञवाली केही बर्ष अघि नै टेक्सास पुगिसकेका छन।
त्यो बेलाको तुलनामा हाम्रो मित्रवत सम्बन्ध त्यतिकै सुमधुर भए पनि भेटघाट भने पातलो हुन थालेको थियो तथापी सामुदायिक प्राथमिकताका सवाल र बिषयहरुमा हामी जुटी हाल्थ्यौ। सन् २०१९ तिरको कुरो हुनुपर्छ नेपालले पाईआएको टीपीएस नवीकरण गर्ने गराउने अभियानमा कांग्रेसउमेन ग्रेस मिङ्गको कार्यालयमा प्रतिनिधि मण्डल जाने क्रममा हामी संगै थियौं।

सदा झैं मैले डन्किन डोनटमा रोकिएर कफी पिउने प्रस्ताव गरि हालें। खाने पिउने कुरोमा मतभेद हुने कुरै भएन हामीले लामै राजनैतिक भलाकुसारी गर्यौं। त्यो दिन नर्बदा क्षेत्री र मैले निक्कै कडा भएर उनलाई भनेका थियौं ‘अब अरुहरुको मुख ताक्ने र अरुलाई बोक्ने काम नगरौं अब अमेरिकी मुलधारको राजनीतिमा जान तपाई कस्सिनुस हामी छौं तपाईको ब्याकअप।’ हुन पनि न्युयोर्क सिटी काउन्सिलदेखि क्यापिटल हिल र अल्बानीसम्मै उनको जस्तो चिनाजानी र पहुँच अरु कोही नेपालीहरुको थिएन र छैन। मैले नि सिटी काउन्सिल, अल्बानी र क्यापिटल हिलमा मिसन बेस्ड र ईस्स्यु बेस्ड एड्भोकेसी दशकौं गरें तर उनको जस्तो व्यक्तिगत चिनारी र पहुँच कहिल्यै बनाउन सकिन।

अहिले तीन बर्षपछि त्यही डन्किन डोनटमा भएका कुराकानीका आशलाग्दा क्षेणहरुको मिठो सम्झना गरिरहेको छु। बिषयले सकारात्मक गति पक्रियो भने फ्लासब्याक अचाक्ली मिठो हुन्छ। त्यो प्रस्ताव उपर त्यो समय उनले ठोस जवाफ दिएको मलाई सम्झना छैन उनी त्यही प्रस्ताव कैले म तिर अनि कहिले डा. तारा निरौला तिर प्रति प्रहार गर्थे। उनको त्यो बिनायशील नम्र अनि भद्र स्वभावका बारेमा म जानकार नै थिएँ त्यसैले उनको त्यो मौन सम्मति हो भन्ने कुरो मैले उ बेलै बुझेको थिएँ।

आहा कस्तो मिठो सुयोग र संयोग त्यही हाम्रा प्रतिनिधि पात्र अर्थात् मोहन ज्ञवाली नेपालीहरुको बाक्लो आवादी र बस्ति भएको उर्बर भुमी टेक्सास पुगेका छन हामीले न्युयोर्कमा बस्दा रहंदा संगसंगै बुनेका सपना साकार पार्न! मैले सन् २०१८ मा सम्प्रेषणको सामुदायिक अन्तरक्रियात्मक बहस गर्न टेक्सास पुग्दै यस्ता अथाह सम्भावनाहरु देखेको थिएँ। अघिल्लो बर्ष नेपाली अमेरिकी टिका पौडेलको बिजयले त्यो मेरो आँकलनको पुष्टी भयो भने अर्का लामो दौडका राजनैतिक नक्षत्र दिनेश शर्माले नयाँ आशा र सम्भावनाहरुको अंकुरण गरे। टेक्सासबासी नेपालीहरु असाध्य भाग्यशाली हुन जसले न्युयोर्कले ठुलो लगानी तयार पारेको ठुलो मन र दिलका उदार मृदुभाषी समाजसेवी र सामाजिक अनि राजनैतिक व्यक्तित्व पाए।


यति बेलीबिस्तार लगाएर मात्र मेरो भागको जिम्मेवारी पुरा भयो र हुन्छ भनेर म ठान्दिन । न्युयोर्कका कैयन भेट र औपचारिक बैठकहरुमा मैले ठुलै स्वरमा मोहन ज्ञवालीलाई दिएको बचन मैले यो बेला पुरा गर्न नसक्दा मलाई एकखाले लज्जा र ग्लानीको महसुस भईरहेको छ तर ब्यबहारिक परिस्थितिका कारण झट्ट उडेर पुगेर ‘कलिङ्ग टेक्सास’ लेख्न नि सकिरहेको छैन । मोहन ज्ञवाली जिताउँ क्याम्पेनका दरिला साथ र हातहरुलाई उकेरा लगाउने बाहेक केही गर्न सकिरहेको छैन। युलिस सिटी प्लेस-३ को अर्ली भोटिंग अप्रिल महिनाको २५ तारिखबाटै सुरु भईसकेको छ र यो क्रम भोली मे ३ तारिख स्थानीय समय सात बजेसम्म सुचारु रहनेछ भने चुनावी दिन चाँही आउँदो सात तारिख शनिबारका दिन बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म तोकिएको छ।

क्याम्पेनको माहौल र ब्यबस्थापन अत्यन्त चुस्त अनि दुरुस्त देखिएको छ। यस्ता खाले निर्वाचनहरु फेसबुके फोटो शेसन र तामसी उत्सवहरुले मात्र जितिदैन भन्ने उनलाई राम्ररी थाहा छ किनकी उनले न्युयोर्क रहंदा अरु उम्मेदवारहरुलाई सघाउने क्रममा थुप्रै चुनावी अभियानहरुको नेतृत्व गरेका थिए। आफ्ना काका-मामा अनि नजिकका बिश्वास पात्रलाई क्याम्पेन मेनेजर बनाएर अनि फेसबुके उत्सव गरेर चुनाव जित्न सकिन्न भन्ने उनलाई राम्ररी थाहा छ। त्यै भएर त उनी र उनको क्याम्पेन गैर नेपाली व्यक्ति, समुदाय र सम्भावित मतदाताहरुमा केन्द्रित हुने गरेको छ। जीवनभर अरुकै निम्ति बाँचेका परोपकारलाई आफ्नो जीवन दर्शन मानेका मोहन ज्ञवाली जस्ता भद्र, बिनयशील, शालीन र मृदुभाषी साँचो अर्थका समाजसेवीलाई कुनै पनि नेपाली मतदाताले मत नदिने भन्ने कुरै हुन्न त्यसको अतिरिक्त गैर नेपालीहरु बीच उनले छोटै समयमा स्थापित गरेको मित्रवत सम्बन्ध उनको सम्भावित जीतको ‘ओपन सिक्रेट’ हुन।

अथाह सम्भावना भएको नेपाली समुदायका व्यक्ति व्यक्तित्वहरु अमेरिकी मुलधारमा समाहित हुँदै आफ्नो परम्परागत कम्फर्ट जोनबाट माथी उठ्नु पर्छ भन्ने अभियानका एक सदस्यको हैसियतमा म ह्यारी भण्डारीको पदचाप पछ्याउँदै जीत उन्मुख रहेको मोहन ज्ञवालीको यथार्थ र परिदृश्यहरु हेरेर, पढेर अनि बुझेर लेक ओन्टारियोको डाँडोबाटै औधि खुसी भएको छु। आदरणीय टेक्सासवासीहरु, मोहन ज्ञवालीको जीतमा उत्सव मनाई रहंदा कमसेकम ‘धन्यबाद न्युयोर्क!’ भन्न चाँही नभुल्नु होला। राजनीतिमा अन्यत्र भन्दा पनि बढी ईमान्दारिता र संस्कार चाहिन्छ।