१२ कार्तिक २०७७, बुधबार ७:४२ | 10/28/2020 9:57 AM



मिशन म्युजिक र सारेगम सपना – शैलेश श्रेष्ठ, अमेरिका

२७ असार २०७७, शनिबार २१:०२ मा प्रकाशित

तस्विरमा: लमजुङ्ग जिल्लाको मनोरम गिलुङ गाउँ जहाँ मिशन म्युजिक सपनाको बिजारोपण गरिएको छ |विश्व आप्रवासनको दौड र रफ्तारमा हामी नेपालीहरु ढिलै गरि समावेश भयौं त्यसका थुप्रै राजनैतिक र सामाजिक कारणहरु छन | अहिले करिब साठी लाख नेपालीहरु मुलुक बाहिर रहर या बाध्यतामा जीवन यापन गरिरहेको खेस्रा ओंठे फेहरिस्त हामीसंग छ तथापी एकिन संख्या अनि आँकडा भने नेपाल सरकार या अन्य कुनै निकायसंग उपलब्ध छैन |

मेरो आफ्नै भोगाईहरुकै आधारमा भन्ने हो भने पनि एउटा कटु यथार्थ चाँही के रहेछ भने अहिलेको चलायमान समाज र एक्काईसौं शताब्दीमा जन्मभुमी या माटोलाई माया गर्न या ऋण तिर्न त्यही चौघेरा या गौंडामा टाँसिएर बस्न भने जरुरी रहेन छ | भावनाको देशमा कर्म गरेरै पनि हामी भूगोलको देश नेपाललाई सकेको सहयोग गर्न सक्दछौं |

तस्विरमा: मिशन म्युजिकका परिकल्पनाकार गायक-संगीतकार गम गुरुङ र गायिका अन्जु पन्त

कुनै समय कलाकारिता मेरो आफ्नो पनि सपना भएको कारणले होला म भ्याएसम्म र भेटेसम्म मेरा सम्पर्क र सम्बन्धहरुमा निरन्तर रहेका कलाकार मित्र र बैनीभाईहरुलाई भन्ने गर्दछु “आफुले गर्दै गरेको कलाकर्म कुनै पनि बहानामा नछाड्नुस् है!” फुर्सद नै हुन्न, भ्याईदैन, प्रवासमा के काम र, समुदायले सहयोगनै गर्दैन आदी ईत्यादीको बनिबनाउ बहनामा निराशा बोल्ने र पोख्नेहरुसंग मेरो ठुलो बिमति छ |

लु ठिकै छ अभिनय गर्न या नाटक मन्चन गर्न अलि बढी समय, तयारी अनि जनशक्ति चाहिएला तर तपाईको कोठामा झुन्डिएको गितार, सारंगी, मादल या कतै थन्किएको हार्मोनियम निकालेर यसो गला सफा गर्न तपाईलाई केले र कल्ले रोक्छ? रोक्छ भने सिर्फ तपाईको आफ्नै नैराश्यता र कुण्ठाले रोक्छ!

प्रवासमा स्कोप नै छैन गीत-संगीत र कलाकारिताले चुह्लो पनि बल्दैन भन्दै साथीहरु आफ्नो अनुकुलतामा पन्छनु हुन्छ | गीत-संगीत र कलाकारितालाई “भात” या “ब्रेड र बटर” संग दाज्न थालेपछि तपाई हामीमा अन्तर्निहित रहेको कलाकारिता निस्प्राण अनि निर्जीव बन्दछ | त्यस्तो मरुभुमी जीवनको हामीले कल्पनासम्म पनि गर्नु हुँदैन भन्ने लाग्दछ मलाई | गीत-संगीतको सहाराले कुनै पनि खाले सुलभता, आर्थिक सम्पन्नता या सम्भ्रान्तताको खोजी गर्नु गीत-संगीतकै अपमान हो | गीत-संगीत त तपस्या, आराधना, समर्पण अनि अलौकिक जीवन दर्शनको अनवरत र असाध्य यात्रा पो हो त!

गीतार, मादल, सारंगी र हार्मोनियमलाई थन्क्याएर “ब्लु-लेबल” को रशास्वादनमा रुमल्लिएर अल्मलिएर तपाई हामीले त्यस्तो स्वर्गीय अलौकिक जीवनको परिकल्पना गरेका छौँ भने त्यो सर्वथा मिथ्या अनि मृगतृष्णा मात्र हो | अमेरिका आगमनका निराश दिनहरुमै पनि म त कलाकारिता र अधिकारकर्ममै रमाएँ | अरुहरुका निम्ति बाँच्ने आँट गरेपछि मात्र जीवन अर्थपूर्ण मात्र होइन सार्थक बन्दछ | म सम्झन्छु उ बेला न्युयोर्क आसपासका क्षेत्रहरुमा हामी औंलामा गन्न सकिने सिमित कलाकर्मीहरु थियौं तर बाक्लै गरि कार्यक्रमहरु आयोजना भने गरिरहन्थ्यौं |

राम नगरकोटीले अल्पायुमै हामीलाई छाडेर परलोक जानु भो उ बेला उहाँले हामीलाई एउटै मालामा उन्नु हुन्थ्यो | हरेक जसो नेपालीहरुको चाहाडपर्व र उत्सवहरुमा सांस्कृतिक कार्यक्रमहरुको समायोजन उहाँले नै गर्नु हुन्थ्यो | ति दिनहरुको स्मरण गर्दा म अहिले शीशिर श्रेष्ठ, राज कपुर, न्हुच्छे नारायण डंगोल, गम गुरुङ, तारा गुरुङ, सन्तोष थपलिया, सर्वा थपलिया, सृजना योञ्जन स्याङ्गदेन, नन्दा गुरुङ, गोमा गुरुङ, गगन बिरही, बिनिता पौड्याल, हरि सिवाकोटी, माया श्रेष्ठ, उज्ज्वल मैनाली (मैले केही नाम बिर्सिएको पनि हुन सक्छ) हरुलाई स-सम्मान सम्झना गरिरहेको छु |

दशक अघि सांगीतिक क्रियाशीलताबाट झपक्कै ओझेल परेका गायक तथा संगीतकार गम गुरुङ केही महिना अघि गीतकार तथा संगीतकारका रुपमा अहिलेकि लोकप्रिय गायिका अन्जु पन्तको स्वरमा “देउरालीको कसम भाकी जीवन सुम्पी दिउँला है” बोलको सांगीतिक कोशेली म्युजिक भिडियो लिएर उदाएको देखेर र अझ त्यो उनको सिर्जना सुनेर हेरेर म निक्कै रमाएँ |

मलाई अचम्म लाग्दथ्यो उनीहरु जस्ता प्रतिभाशाली कलाकारहरु गीत-संगीत र कलाकारिताबाट बिमुख भएर कसरी बाँच्न अनि रमाउन सक्दा हुन? म आफैलाई मात्र होइन उनीहरुका बिच पनि मेरो यो यक्ष प्रश्न तेर्स्याएर उनीहरुलाई एकखाले अप्ठेरो परिस्थितिमा पार्ने गर्दथें | आज मलाई असाध्य खुसी लागेको छ उनी अर्थात् गायक तथा संगीतकार सांगीतिक आकाशमा फर्किएछन “म्युजिक” मात्र होइन परोपकारी सांगीतिक “मिशन” नै लिएर |

लामो समयपछि बधाई र क्याबात भन्न फोन गरेपछि मलाई उनले परिकल्पना र समायोजन गर्दै गरेको त्यो सांगीतिक मिशनका बारेमा थप जानकारी प्राप्त भयो | उनले आफ्नो जन्मथलोको श्री बुद्धोदय उच्च माध्यामिक बिद्यालय गिलुङ लम्जुङमा “कृष्ण संगीत प्रशिक्षण केन्द्र” नामक संगीत पाठशाला खोल्ने अबधारणा संसारभर छरिएर रहेका आफ्ना गाउँका परोपकारी मनहरु समक्ष पुर्याएका रहेछन जहाँ उनले त्यस्ता मनकारीहरुबाट आर्थिक सहयोग संकलन गरेर जम्मा चालीस लाख रुपैया बराबरको अक्षयकोश खडा गरि त्यही स्कुलका साना स्कुले बालबालिकाहरुलाई संगीतको आधारभूत शिक्षा प्रदान गर्ने महान उदेश्य राखेका रहेछन |

अहिलेसम्ममा संसारभर छरिएर रहेका त्यस्ता मनकारीहरुबाट पन्द्र लाख रुपैया जम्मा गरिसकेको र बाँकी रकमको जोहो गर्न सक्रिय भएर लागेको कुरा उनले मसंगको मित्रवत वार्तालापमा सगर्व बताए |
हामी प्रवाशिएका नेपालीहरुले कुनै न कुनै रुपमा माटो र मातृभूमिको ऋण खाएर नै आएका हुन्छौं यदी हामी प्रत्यकले उनी अर्थात् गायक -संगीतकार गम गुरुङले जस्तै माटोको मुल्य ईमानका साथ चुक्ता गर्ने साँचो चाहना राख्ने हो भने अनावश्यकरुपमा एक पटकको नेपाली सँधैको नेपालीको तामसी नाराको स्वैरकल्पनामा रमाउनै पर्दैन |

हामी आफ्नो औकात र यथार्थतामा नै गच्छे अनुसारको मानवीय सत्कर्म र सहयोगहरु आफ्नो गाउँ-ठाउँ, स्कुल, स्वास्थ्य चौकी, पुस्तकालय र त्यस्ता कैयन परियोजनाहरुमा गर्न सक्छौं | पछिल्लो समयमा त्यस्ता परोपकारी सत्कर्म गर्ने अभियानहरु ह्वात्तै बढेको छ | आखिर आफ्नो गच्छे र औकात अनुसार आफ्ना मनकारी हात र साथ बढाउनु नै साँचो अर्थको राष्ट्रप्रेम हो, होइन र?

गम गुरुङको सांगीतिक परोपकारी मन र उनले समायोजन गरेको “मिशन म्युजिक” ले सफलता चुमेको अनि पहुँचको अभावमा रहरहरु लुकाएर बाँचेका साना नानीबाबुहरुले “सा रे ग म” गाउँदै डाँडापाखा घन्काएको चाँडै सुन्न अनि हेर्न पाईयोस |