३ आश्विन २०७८, आईतवार ५:०४ | 09/19/2021 7:19 AM



राष्ट्रवादको ‘अमिलो अङ्गुर’ र कलाकारको ‘कस्मेटिक स्माइल’ – शैलेश श्रेष्ठ

९ जेष्ठ २०७८, आईतवार १२:१० मा प्रकाशित

ठ्याक्कै तिथिमिति सम्झना छैन तर अघिल्लो वर्षको कुनै महिनातिर हुनुपर्छ, अग्रज कलाकार दाइ सरोज खनालले फेसबुकमा मेरो मनको किरा बहुराउने खालको एक सन्देश पठाए। त्यो मायावी र आत्मीय सन्देशमा लेखिएको थियो ‘आउनुहोस्, फेरि एकपटक कुममा कुम मिलाएर ‘बिनाचिहानको मृत्यु’ मरौँ!’ त्यो हप्ताभरि म मेरो अभिनय कर्मका ती सङ्घर्षशील दिनहरूका स्वप्निल स्मृतिमा हराएँ अनि रमाएँ। निद्रा र तन्द्रा दुवैमा निर्देशक, अभिनेता सुनील पोख्रेल र उनै सरोज खनाललाई देखिरहेँ। सरोज खनाल र मैले काँचको पर्दामा अभिनय यात्राको प्रारम्भ करिब–करिब एउटै समयमा गरेको हुनुपर्छ। २०४६ सालतिर कथा–यात्राअन्तर्गत नेपाल टेलिभिजनबाट प्रसारण भएको नरेन्द्र श्रेष्ठद्वारा निर्देशित टेलिफिल्म ‘डोको’मा उनले अभिनय गर्दा म इन्द्रबहादुर राईको ‘विपना कतिपय’को एउटा सशक्त कथा ‘सपना शक्ति’मा अभिनय गरिरहेको थिएँ, जसको निर्देशन प्रताप सुब्बाले गरेका थिए।

उमेरले हामी एक–दुई वर्षका तलमाथि हौँला तर म आदर अनि सम्मानपूर्वक उनलाई मनबाटै ‘सरोज दाइ’ भन्छु। मैले उनको उमेर कहिल्यै सोधिनँ किनकि अभिनय र अनुभव दुवैमा उनी उपल्ला अनि उम्दा छन्। उनले एकपछि अर्को सफलता प्राप्त गरेर नेपाली अभिनय जगतमा ‘नेम’ र ‘फेम’को सगरमाथा आरोहण गरिसक्दा पनि म कहीँ–कतै अभिनयको फेदीमै बसेर सपना अनि आकाङ्क्षासँगै निरन्तर लाप्पा खेल्दै थिएँ। अन्ततः लाप्पा खेल्दै भौगोलिक रूपले पाताल प्रवेश गरेँ। चालिसको दशक नेपाली नाट्यकर्मको लागि उर्बर दशक रह्यो। त्यही दशकको मध्यतिर हुनुपर्छ मेरो तन्नेरी मनमा पनि अभिनयको डरलाग्दो भूत सवार भयो। त्यो स्वार्थको एकात्मक केन्द्रीकृत साम्राज्य राजधानी काठमाडौँ र कलाकारिता क्षेत्रमा मेरा आफ्ना कोही थिएनन्, जसको दौराको फेरो समातेर अभिनयको वैतरणी पार गर्न सकियोस्। तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान अनि राष्ट्रिय नाचघर हाम्रो लागि बैगुनी, बिरानो तर लोभलाग्दो ठाउँ हुने गर्थ्यो। मजस्ता मोफसलका बबुरोहरूका लागि त्यहाँका ढोकाहरूमा फलामका ताल्चाहरू लगाइएका हुन्थे। वर्षौँको हन्डर अनि ठक्करपछि अन्ततः नाट्य कलाकार तथा निर्देशक हरिहर शर्माको फेरो समातेर हामीले नाट्य अभिनयका नवरसको रसास्वादन गरेका थियौँ। त्यसताका काठमाडौँमा नाट्य समूह खोल्ने उत्ताउलो फेसन नै चलेको थियो।

त्यही जोस, हुटहुटी र लहडमा हामी पनि बागबजारको बाक्लो नाट्य बस्तीमा एक थान अर्को नाट्य समूह नव–प्रतिभा नाट्यशालाको बिस्कुन सुकाएर नाट्य मैदानमा देखा पर्यौं। लड्दै, पढ्दै, सिक्दै जाँदा त्यसताकाको चर्चित नाट्य समूह आरोहणका अग्रजहरूको सामीप्यमा उठबस गर्ने अहोभाग्य पनि सोचेको भन्दा छोटै समयमा प्राप्त भयो। नाटक र जीवन सिक्ने क्रममा आरोहणमा सँगैसँगै काम गर्दा हामीले थुप्रै असल संस्कारको आरम्भमात्र गरेनौँ निरन्तर परिपालना पनि गर्यौं। अहिले सम्झन्छु, त्यसताका ‘जी’ को सम्बोधन नितान्त कम हुन्थ्यो। औपचारिकताभन्दा सम्बन्धमा गहिरो आत्मीयता हुन्थ्यो। एउटै परिवार बनेर हामी नाटकमै जीवन बाँच्थ्यौँ। हामी आत्मीय सम्बोधनहरूमा कल्पना दिदी, सूर्य दिदी, बद्री दाइ, सुनील दाइ, हरिहर सर, शकुन्तला दिदी, रामेश काका, रायन दाइ, प्रकाश सायमी दाइ, शैलेश आचार्य दाइ, शलभ दाइ, अनिल दाइ, सोमनाथ दाइ, नवीन दाइ, रमण दाइ, विधान दाइ, नारायण भाइ अनि थुप्रै थुप्रै। उमेरले कान्छी भए पनि म निशालाई दिदी नै भन्थेँ। अलिपछि हामी अर्को छिमलका युवाहरूबीच चाहिँ ‘साथी’को सम्बोधन हुन थाल्यो। अनि एक से एक विराट सम्भावना भएका कर्मवीर नाट्यकर्मी कलाकारहरू आए– अनुप बराल, रमेश रन्जन, वीरेन्द्र हमाल, शरद बटाजु, प्रकाश शर्मा, सुशील पोख्रेल, रमेश अधिकारी, हेमन्त बुढाथोकी, सिवानी राई, कमल अधिकारी, प्रेम सुब्बा, राजेन्द्र रिमाल, शारदा शाक्य, शशी थापा सुब्बा, शोभा खजुम, सुवास थापा बगाले, प्रेम पुन आदि।

प्रवासको लामो बसाइ अनि अभिनय क्षेत्रबाट लामै समय अलग रहेका कारणले होला सायद ती स्मृति र सम्झनाहरू अहिले धिमा अनि धूमिल बन्दै छन्। यसैबीच, सरोज दाइ र मैले अभिनय गरेको त्यसताकाको एउटा नाटक र पछि निर्माण भएको लोकप्रिय धारावाहिक टेलिफिल्म ‘बिनाचिहानको मृत्यु’को एउटा ऐतिहासिक, दुर्लभ तस्बिर उक्त नाटककी अनुवादक कल्पना घिमिरे नोरिसन दिदीबाट केही समयअघि सार्वजनिक भयो। त्यो तस्बिर सार्वजनिकीकरणसँगै अहिले हामी संसारभर छरिएर रहेका सहपाठीहरू ‘नोस्टाल्जिया’मा फेरि उचो उडान भर्दै छौँ। केही दिनअघि मैले आफ्नो फेसबुक स्टाटसमा ‘अब अभिनयमै फर्कनुपर्ला जस्तो पो भो त!’ भनेर मनको छटपटी अनि कुत्कुती पोस्ट गरेपछि संसारभरका सहधर्मी साथी तथा शुभचिन्तकहरूले मनको भावना अनि चाहना निरन्तर सार्वजनिक गरिरहेका छन्। सायद सरोज खनाल मभन्दा एक वर्षअघि मात्र अमेरिका आए। विचार अनि भावनालाई सम्प्रेषण गर्ने तरिका अनि शैली फरक भए पनि उनी र म अमेरिका आउनुको कारण केही हदसम्म मिल्दोजुल्दो छ। हामीले मनभरीको उत्कण्ठा अनि चाहनाहरूलाई अकालमा मारेर भावीपुस्ताको भविष्य अनि आर्थिक सुनिश्चितताको बनिबनाउ बहानालाई सधैँ अघि सार्ने गरेका छौँ।

नेपाली नाटक र टेलिफिल्महरूमा अलिकति काम गरेर परदेश लागेको मजस्तो उदीयमान कलाकारका लागि नेपाली सिनेमा जगतमा पहिलो पङ्क्ति अनि दर्जाको नाम बनाएका कृष्टी मैनाली र सरोज खनालहरूको पाताल प्रवेश अनि बहिर्गमन बुझिनसक्नुको विषय थियो। उनीहरू आफ्नो कर्ममा चुप्प अनि ठप्प भएको अवस्थामा कर्मभूमि अमेरिका आएपछि उनीहरूको र मेरो स्तर अनि हैसियत करिब उस्तै–उस्तै रह्यो। कतिपय अवस्थामा त आंशिक कलाकर्म र सामाजिक अभियानहरूमा उनीहरूको भन्दा मेरो सक्रियता बढी नै रह्यो। त्यसबाहेक हिसाबकिताब नगरी भन्दा अमेरिकी भूमिमा हामी सराबरी अनि बराबरी भयौँ। पातालमा कृष्टी मैनाली आफूलाई मारेर बाँच्न सफल भएकी छन् तर सरोज खनालमा निहित अभिनयको अतृप्त भूतलाई मैले दशकौँदेखि नितान्त नजिकबाट अनुभूत गरेको छु। प्रत्येक पटकको भेटमा उनको त्यो अभिलाषा अनि उत्कण्ठाको सेरोफेरोमा पुगेको हुन्छु म। केही वर्षदेखि उनले नेपाली सिनेमा क्षेत्रमा सम्मानजनक पुनरागमनको आकाङ्क्षा राखेका छन् अनि समयानुकूल सुरक्षित अवतरण पनि खोजेका छन्।

केही नाटक अनि टेलिभिजन सिरियलहरूमा सँगै काम गरेको अनि नजिकबाट चिनेको नाताले दुनियाँले ‘वाह! सरोज खनालको अभिनय’ भने पनि मेरो विश्लेषणमा सूर्यमाला शर्मा खनाल अझ उपल्लो स्तरकी अभिनेत्री हुन्। नेपाली नाटक र सिनेमाले उनको अभिनय क्षमतालाई चिन्न या सदुपयोग गर्न सकेनन् भन्ने लाग्छ मलाई। अमेरिका आउनुअघि सूर्य दिदीसँग अभिनय गरेको धारावाहिक ‘सुरुचि’ खेलेपछि मैले त्यस्तो अनुभूति साँच्ने अवसर पाएको हुँ। मुखले व्यक्त नगरे पनि करिब डेढ दशकअघि नै उनीहरूको मेरिल्यान्डस्थित घर जाँदा मैले दुवै जनामा त्यस्तो हुटहुटी नजिकबाट देखेको थिएँ। खुसी छु भन्नु र खासमा खुसी हुनु फरक फरक कुरा हुन्। ‘आ–मरिखा’मा मैले थुप्रै स्थापित कलाकारहरूको ‘कस्मेटिक स्माइल’ देख्ने, नियाल्ने गरेको छु। आँतले नहाँसे पनि दाँतले हाँस्नेहरूको बाक्लो भिड छ प्रवासमा। तिनै सरोज दाइ अहिले महत्त्वाकाङ्क्षाका दुई आयामहरूमा मञ्चित भएका छन्।

एउटा मनको आदेशपालकका रूपमा निर्वाह गर्ने अभिनय क्षेत्रको भूमिका अनि अर्को त्यसैको छेउछाउको निर्देशकीय महत्त्वकाङ्क्षा! हुन त बीचमा उनले त्यसअघि कहिल्यै नगरेको अनि त्यति नजानेको राजनीतिक मानोकाङ्क्षाको पनि परीक्षण गरे। प्रयोगहरूमा जे–जस्ता कलेवरसहितका भूमिकाहरूमा प्रक्षेपण भए पनि उनी उम्दा अभिनेता, कलाकार हुन्। जे गरे पनि अनि जे भने पनि उनले आफ्नो कर्मको परिधि र सीमा जन्मभूमिभित्रै तय गरेका छन्। त्यस अर्थमा उनको कर्म र निर्णय दुवै अनुकरणीय छन्। नेपालमा अहिले जताततै ‘अमिलो अङ्गुर’ राष्ट्रवाद मौलाएको छ। राजनीतिमा मौलाएको अन्धो अनि उग्र राष्ट्रबादको डरलाग्दो रोग कलाकारितामा पनि सर्लक्कै सरेको छ। हामी जो, जसले, जे कारणले अस्थायी रूपमा नेपाल छोड्यौँ, अहिले नेपालमै टाँस्सिएर बस्ने स्वनामधारी राष्ट्रवादीहरूका लागि हामी अपराधीजस्ता भएका छौँ। मानौँ अब देशलाई अनि दशकौँ आफूले गरेको कामलाई निरन्तरता दिने अनि माया गर्ने नैसर्गिक हक र अधिकार पनि अब हामीसँग सुरक्षित छैन। मानौँ अब देश दन्दनी बलेको बेला शान्तिका दुई शब्द लेख्ने, जनता निरन्तर उत्पीडन अनि अन्यायमा पर्दा प्रवासबाट न्यायका दुई शब्द बोल्ने आधारभूत मौलिक हक अनि अधिकार पनि हामीसँग छैन। त्यस्ता सतही ‘अमिलो अङ्गुर’ राष्ट्रवादको शिकार सरोज खनालहरू निरन्तर बन्ने गरेका छन्।

मैले आफ्ना आलेख अनि ब्लगहरूमा बारम्बार लेख्ने गरेको छु– म ‘मनको आदेश’मा सत्य र निष्ठा लेख्छु भनेर। तर जीवनका यथार्थहरूमा मनका प्रत्येक आदेश अन्तिम सत्य या निर्णय नहुन पनि सक्छन्। नोस्टाल्जियामा एकछिन उन्मुक्त, उदात्त रमाउनु अनि सामना गरिरहेको वर्तमानमा यथार्थमा जीवन बाँच्नुमा आकाश–पातालको फरक छ। ‘लु, शैलेशजी, सरोज खनालपछि अब तपाईको पालो आउनुहोस्, फर्किनुहोस् कलाकारितामा,’ भनेर अहिले संसारभरका थुप्रै शुभचिन्तक र साथीहरूले उत्प्रेरक निजी विचार, शुभेच्छा र बयानहरू सार्वजनिक गर्नुभएको छ। म सबैप्रति अन्तरमनबाट उच्च सम्मान गर्छु। आजको आलेखको शीर्षपात्र मेरा स्नेही सरोज दाइले केही समयअघि ‘शैलेशजी’को औपचारिक सम्बोधनमा यिनै मनका भावहरू लेखेर मलाई अभिनय यात्रामा पुनरागमनका लागि मित्रवत् आमन्त्रण गरेका थिए– ‘शैलेशजी, आफ्नो मनले भनेको कुरा नमानेर केको पर्खाइमा हुनुहुन्छ? आउनुहोस् फेरि एकपटक कुममा कुम मिलाएर ‘बिनाचिहानको मृत्यु’ मरौँ… जे पर्ला–पर्ला!’

खोइ खे जवाफ फर्काऊँ सरोज दाइ! खान पाउने पनि पछुताउने अनि खान नपाउनेहरू पनि पछुताउने यो ‘बनारसी लड्डु’जस्तो सपनै–सपनाहरूको देश आ–मरिखामा हामी पनि त हरेक दिन अनि हरेक पल ‘बिनाचिहानको मृत्यु’ मरिरहेका नै छौँ! भावनाले भात पाक्ने भए त मलाई पनि भन्न मन लागेको छ, ‘सरोज दाइ, जे पर्ला–पर्ला म पनि ‘बिनाचिहानको मृत्यु’ बाँच्न चाँडै नेपाल आउनेछु!’

(नेपालटच अनलाईनमा पुर्व प्रकाशित सामग्री साभार गरिएको)