१५ बैशाख २०८१, शनिबार ६:१६ | 04/26/2024 8:31 PM



अमेरिकी राजनीतिमा “धर्म” – शैलेश श्रेष्ठ, अमेरिका

३२ श्रावण २०७७, आईतवार १५:३६ मा प्रकाशित

संबिधानत: संयुक्त राज्य अमेरिका धर्मनिरपेक्ष राष्ट हो तर लामो कालखण्डको क्रिस्चियानिटीको दबदबाका कारण वतमानसम्मै अमेरिकी राजनीतिमा धर्मले उपल्लो भूमिका निर्वाह गर्ने गरेको छ। पिउले गरेको पछिल्लो सर्वेक्षण अनुसार अमेरिकामा ७६.६ प्रतिशत क्रिश्चियन धर्मावलम्बी छन भने त्यसमध्य २५.४ प्रतिशत र ईभान्जलिकल क्रिश्चियन छन। बुध्दिष्ट, हिन्दु र ईस्लामहरु त १ प्रतिशत पनि छैनन।

नयाँ पुस्ता क्रमश उदार अनि प्रगतिशील बन्दै गएको अमेरिकामा २२ प्रतिशतले कुनै पनि धर्मको अनुशरण गर्दैनन। वर्तमान राष्ट्रपति डोनाल्ड जे ट्रम्प प्रतिद्वन्दी जो बाईडेन भन्दा “अर्थतन्त्र”, “धर्म” र “सुरक्षा” मा केही प्रतिशत पोईन्टले अगाडी छन। बाँकी अन्य बिषयहरुमा बाईडेन निक्कै अगाडी छन। बाईडेन पछि परेका यी बिषय र मुद्दाहरुमा कसरी सुधार ल्याउने भनेर उनका तत् तत् बिषयका सल्लाहकारहरु अहिले टाउको दुखाईरहेका छन।

ट्रम्प भनेपछि मरिहत्ते गर्ने ज्यानै दिन तयार हुने सन् २०१६ का साना राता राज्य र बस्तिहरुका डाईहार्ड फ्यानहरु अहिले पनि त्यही उमंग र उत्साहका साथ उनीसंगै छन। सन् २०१६ मा उनको जीतको कारक “धर्म” बनेको थियो। ओबामा कार्यकालमा अमेरिकी ईतिहासमै पहिलो पटक समलिङ्गी (गे राईट्स) लाई राष्ट्रिय मान्यता दिएपछि भड्किएका क्रिस्चियन धर्मावलम्बीहरु मध्यको पनि ठुलो संख्यामा रहेको ईभान्जलिकल क्रिस्चियनहरु ट्रम्पलाई जिताउने फोर्सका रुपमा देखिए।

अरु कुनै बिषय या मुद्दाहरुले उनीहरुको त्यो मनका गडेको धार्मिक आगोलाई निभाउनै सकेन या आकर्षित गराउन नै सकेनन। उनीहरु कुनै धार्मिक मसिहालाई क्यापिटल हिलको “सेतो घर” मा स्थापित गराएर अमेरिकालाई संबिधानले जे भने पनि जसरी ब्याख्या गरेपनि ब्यबहारिकरुपमा धर्मसापेक्ष राष्ट्र बनाउन चाहन्थे। त्यो धार्मिक समुह नितान्त सफल भए। सन् २०१६ को राष्ट्रपतिय निर्वाचनमा ८१ प्रतिशत एभान्जलिकलहरुले ट्रम्पलाई मतदान गरेर सेतो घरमा विराजमान गराई छाडे।

ट्रम्पका हरेक व्यभिचार, भ्रष्टाचार, अनैतिकता र स्खलित नैतिक आचरणहरुलाई आँखा चिम्लिएर त्यो धार्मिक समुह उनलाई जिजस क्राईष्टले रोजेको मुक्तिदाता मसिहा “चुजेन-म्यान” मान्दै उनको जीतका लागि आज पनि प्रार्थना गरिरहेका छन। ट्रम्पको कठोर आप्रवासन नीति, महिलालाई हेर्ने दृष्टिकोण र तल्लो सदनबाट अनुमोदन गरिएको महाअभियोगलाई आधार बनाएर केही ईभान्जलिकल समुह र संगठनहरुले यसपाली उनलाई समर्थन नगर्ने औपचारिक घोषणा गरेका छन तथापी अझै ७२ देखि ७६ प्रतिशतले समर्थन गर्ने गरेको पछिल्ला सर्वेक्षणहरुले देखाएको छ।

अमेरिकी राजनीतिमा “रेस” ले जस्तै “रिलिजन” ले पनि ठुलो भूमिका खेल्ने गर्दछ। बाईडेन धार्मिक आस्थाका दृष्टिकोणले क्याथोलिक क्रिस्चियन हुन भने आफु चर्च र मन्दिर दुवै ठाउँ जाने गरेको बताउने उप-राष्ट्रपतिकी उम्मेदरवार कमला ह्यारिस बाप्टिस्ट क्रिस्चियन हुन। कमलादेबी ७ बर्षको हुँदा उनको बा-आमाको पारपाचुके भएको थियो र उनी धार्मिकरुपमा ब्लाक बाप्टिस्ट क्रिस्चियन समुदायमै हुर्किईन।

सिनेटर कमला ह्यारिस बाईबललाई छोएर सपथ लिंदै |

अमेरिकी माथिल्लो सदन सिनेटमा बाईबल छोएर सपथ लिएको दृश्यहरुले उनको धार्मिक आस्थालाई पुष्टी गर्ने गर्दछ तर धर्मले समाज र राजनीतिलाई निर्देशित गर्नु हुँदैन भन्ने उदार र प्रगतिशील विचार र नीतिमा उनको चट्टानी अडान रहेको तथ्य सहजै देख्न अनि अनुभूत गर्न सकिन्छ। दुई जना बच्चाहरुका पिता लसएन्जेलसका कानुन ब्यबसायी डग्लस ईम्होफसंग यहुदी धार्मिक परम्परा अन्तर्गत बिबाह गरेपछि उनी समाज र संचारबाट आलोचित भईन तथापी उनले बहुधार्मिक परिवार, समाज र संकारको पक्षपोषण गरेर आफुलाई सग्लो र अग्लो राखिरहिन।

पछिल्लो समय डेमोक्रेट्सहरुमा पनि “धर्म” को डर पसेको छ। बाईडेन र डेमोक्रेट्सहरुको पक्षमा राष्ट्रिय परिबेग सिर्जना भईरहेकै वर्तमान अवस्थामा पनि बाईडेन क्याम्पका रणनैतिक सल्लाहकारहरु “ईकोनोमी” र “रिलिजन” मा पछि परेका बाईडेन-ह्यारिस टिमलाई कसरी यी बिषयहरुमा अगाडी ल्याउन सकिन्छ भनेर छलफल गरिरहेका छन। पछिलो अपडेट्स अनुसार डेमोक्रेटिक नेशनल कमिटीले आज र बीस तारिख गरि दुई वटा ईन्टरफेथ काउन्सिलको मिटिङ्ग र अन्तरिक भेटघाटको तयारी गरिरहेको छ।

क्रिश्चियानिटी टुडेका पुर्व प्रधान सम्पादक केटलीन बिटीले बाईडेन क्याम्पले जतिनै मेहेनत गरेपनि ३/४ प्रतिशत भन्दा बढी ईभान्जलिकलहरुलाई आफु तिर आकर्षित गर्न असम्भव भएको हुँदा यसरी निर्वाचनको मिति नितान्त नजिक रहेको यो बहुमुल्य समय खेर फाल्नु भन्दा डेमोक्रेटिक पार्टीले आफ्नै बेसमा अतिरिक्त मेहेनतका साथ क्याम्पेन गर्दा ईलेक्टोरल बेनेफिट हुने सुझाब दिएका छन।

प्रदर्शनकारीहरुलाई अश्रुग्याँस प्रहार गर्दै सुरक्षा घेरा पार गरेर चर्चमा फोटो-शेसन गर्दै राष्ट्रपति ट्रम्प |

उनले भने जस्तै अमेरिकालाई स्वेत सर्बोच्चताबाद सहितको धर्म सापेक्ष स्वेतराज्यको स्थापना गर्ने सपना र परिकल्पनाका बिक्रेता ब्यापारी राष्ट्रपति डोनाल्ड जे. ट्रम्पको लागि जिउ-ज्यान दिन सैनिक पोशाकमा गोला-बारुद अनि स्वचालित अत्याधुनिक बन्दुक बोकेर र्यालीमा आउने साना राज्य र सहरका अदक्ष स्वेतहरु र ईमान, जमान र नैतिकता नभएका ट्रम्पलाई “चुजेन-वन” मुक्तिदाता मसिहा मान्ने र ठान्ने धार्मिक अतिबादीहरुलाई जे भनेर या जसो गरेर सम्झाए बुझाई गरे पनि उदारबाद र प्रगतिशीलताका पक्षधर डेमोक्रेट्स जो बाईडेन र कमला ह्यारिसलाई आफ्नो मन या मत दिन्छन भनेर म पनि रत्तिभर बिश्वास गर्दिन।