१४ बैशाख २०८१, शुक्रबार १०:०९ | 04/26/2024 12:24 AM



एकदिन पछि सर्यो ट्रम्प चुनावी-सभा – शैलेश श्रेष्ठ

३१ जेष्ठ २०७७, शनिबार ०१:०७ मा प्रकाशित

करोना कहरले थालिएको अमेरिकी राष्ट्रपतिय निर्वाचन अब बिस्तारै तात्न थालेको छ | कोभिड-१९ को संक्रमण अमेरिकामा कम भएको जस्तो देखिएपनि त्यो महामारी अहिले पहिले कम संक्रमित मानिएको १४ राज्यमा २५ प्रतिशतले बढेको रिपोर्ट सार्वजनिक भएको छ | यो भयावह यथार्थ बाहिर आएपछि डा. एन्थोनी फाउचीले बजार खुल्ला गर्ने निर्णय गरेका केही राज्यहरुले आफ्नो निर्णयमा पुनर्विचार गर्न सुझाब दिएका छन |

तर राष्ट्रपति डोनाल्ड जे. ट्रम्प यी प्रमाणिक यथार्थहरुको नजरअन्दाज गर्दै अमेरिकाभरि लकडाउन र सोसियल डिस्ट्यान्सिङ्गको प्रतिबन्ध पूर्ण रुपमा खुल्ला गर्न एकोहोरिएर लागि परेका छन | त्यसमा उनको एक मात्र चुनावी स्वार्थ जोडिएको छ | ट्रम्पको पोलिटिकल स्ट्रेन्थ भनेको नै ठुला र्यालीहरु हुन | त्यसैले डा. फाउचीको सुझाबको ठाडो उल्लङ्घन र उपेक्षा गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले आउँदो शनिबार बीस तारिखका दिन ओक्लाहोमा राज्यको तुल्सामा र्याली गर्ने घोषणा गरेका छन |

पहिले घोषणा गरिए अनुसार यो चुनावी सभा १९ तारिख शुक्रबारका दिन गर्ने योजना थियो तर १९ तारिख अफ्रिकन अमेरिकनहरुले दासता अन्त्य भएको उत्सब गर्ने दिन “जुनटिन्थ” परेकोले ट्रम्पले भर्खर ट्वीट गरेर चुनावी सभा एक दिन पर सारेका हुन |

ट्रम्पका क्याम्पेन म्यानेजर ब्राड पार्सकालका अनुसार चुनावी सभाका उपस्थित हुनको लागि अहिलेसम्म ३००,००० टिकट बुकिङ्ग भईसकेको छ | आफ्नै सरकारले प्रकाशित गरेको कोभिड-१९ निर्देशिका र डा. फाउचीको खबरदारीको उपेक्षा गर्दै राष्ट्रपति ट्रम्प चुनावी स्वार्थमा निर्लिप्त रमाईरहेका छन | जनस्वास्थ्यको उनलाई कुनै चिन्ता र सरोकार छैन सिर्फ उनलाई जसरी हुन्छ पुनः हस्तिनापुरमा राज गर्नु छ तर परिस्थिति र आफ्नै अकर्मन्यताहरुका कारण उनको राजनीतिक यात्रा र भविश्य यसपाली कसरी चपारी मुनीको बास हुँदैछ उनलाई बुझ्ने फुर्सद छैन |

आफु र आफ्नो परिवार बाँचे पुग्यो अमेरिकी जनताको जनस्वास्थ्यला बारे उनलाई खासै चिन्ता छैन त्यसैले त उनी यो बिशाल र्याली गर्न कस्सिएका छन | र्यालीमा सहभागी भएर कोरोना भाईरस संक्रमण भएमा आफुलाई अपजस आउने थाहा पाएर अहिले ट्रम्प क्याम्पेनले त्यसरी चुनावी सभामा जानेहरुलाई सुरुमै एउटा फारम भर्न लगाएर त्यस्तो भएमा ट्रम्प क्याम्पेन जवाफदेही हुने छैन भन्ने कागजमा सही गराउन लागेका छन |

आखिर ब्यापारी राष्ट्रपति डोनाल्ड जे. ट्रम्पको स्वार्थ भनेको आफु, आफ्ना परिवार अनि नाफा बाहेक अरु केही होइन | त्यो सफेद सत्य बुझ्न अब अमेरिकी मतदाताहरुले कत्ति पनि ढिला गर्नु हुन्न र त्यो सत्य बुझ्ने अवसर र मौका यसपाली अमेरिकीहरुले मात्र होइन सारा बिश्वले नै पाएका छन |