१४ बैशाख २०८१, शुक्रबार ९:५१ | 04/26/2024 12:06 AM



‘ओन्स न्युयोर्कर, अल्वेज न्युयोर्कर’ – शैलेश श्रेष्ठ, उत्तर अमेरिका

२२ मंसिर २०७८, बुधबार ००:१७ मा प्रकाशित

भौतिकरुपमा जहाँ रहे नि करिव दुई दशक लामो अधिकारकर्म (लेबर मुभमेन्टदेखि लेजिस्लेटिभ एड्भोकेसीसम्म) का कारण म ‘ओन्स न्युयोर्कर अल्वेज न्युयोर्कर’ को हैसियतमा न्युयोर्क सहरमै रहनेछु। म एकजना रेस्टुरेन्ट कामदारको हैसियतमा सन् २०१० देखि २०१४ सम्म ‘पेड सिक डेज’ (बिरामी बिदा पाउने बिधेयक) अभियानमा क्रियाशील रहें त्यही बिधेयक कानुन बनेपछि अहिले न्युयोर्क सहरका सेवा ब्यबसायमा काम गर्ने कामदारहरुले ब्यबसायको साईज हेरेर हरेक कामदारले बर्षमा ५ देखि ७ दिनसम्म अनिवार्य बिरामी बिदा पाउँदछन। त्यो भन्दा पहिले कामदारहरुले त्यस्तो कुनै सुबिधा पाउँदैनथ्यो। अमेरिका मात्र त्यस्तो एउटा अति बिकसित राष्ट्र हो जसले कामदारहरुलाई बिरामी बिदाको प्रत्याभूति गर्दैन। हाम्रो अभियानले कानुनको रुप लिएपछि कमसेकम न्युयोर्क सहरमा चाँही त्यो लज्जाको ढाकछोपसम्म भएको छ।

त्यसपछि मलाई निक्कै अगाडीदेखि सुरु भएर थन्किएको ‘आवर सिटी, आवर भोट’ (हाम्रो सहर, हाम्रो मतदान) बिधेयकको कोलिसन अन्तर्गतको स्टेरिंग कमिटीमा बसेर काम गर्ने अवसर मिल्यो। करिव ४२ वटा अधिकारकर्मी संस्थाहरु जोडिएको त्यो कोलिसनमा अहिले १३५ भन्दा बढी कोलिसन पार्टनरहरु छन र खुसीको कुरो शक्तिशाली नेपाली संगठनहरु अधिकार, फिप्ना र शेर्पा क्यिदुगलाई पनि समायोजन गर्ने र बृहत मोर्चामा समेट्ने अवसर सम्प्रेषण ईन्कको तर्फबाट मलाई मिल्यो।

त्यो भन्दा खुसीको कुरो ३५ जना सिटी काउन्सिल मेम्बरहरुको समर्थन रहेको गैर नागरिकहरुले पनि सिटी भित्रको निर्वाचनहरुमा मतदान गर्न पाउने अधिकार प्रत्याभूत गर्ने यो बिधेयकमा यही आउँदो बिहिबार डिसेम्बर ९ तारिखका दिन न्युयोर्क सिटी काउन्सिलमा मतदान हुँदैछ। उक्त दिन बिहान ११ बजे सिटी हलको बाहिर हामी बिजय उत्सव गर्ने छौं र त्यसको केही बेरपछि सम्भवत: बिना व्यवधान यो बिधेयक माथि मतदान हुनेछ। म आफु न्युयोर्क र अमेरिका बाहिर भएकोले चाहेर पनि उपस्थित हुने स्थिति छैन। कोभिड महामारी र अर्को नयाँ ओमीक्रोन भेरिएन्टका कारण हवाई यात्रा असाध्य महँगो अनि झन्झटिलो हुने गरेको कुरा मैले अनुभव गरेको छु।

अघिल्लो बर्ष यो बिललाई न्युयोर्क सिटीमा रि-लन्च गर्दा आयोजना गरिएको कार्यक्रममा हामी नेपाली भाषीहरुको संख्या उल्लेख्य रहेको थियो अब पर्सि बिहिबार नौ तारिखमा हुने विजय उत्सव र मतदान कक्षमा यहाँहरुको उत्साहप्रद र उल्लेख्य उपस्थितिको अपेक्षा राखेको छु।
हामी संग ३५ जनाको सुपर मेजोरिटी अर्थात् भिटोप्रुफ मेजोरिटी छ त्यसको अर्थ हो अब मेयरले रोक्न चाहेर पनि रोक्न सक्दैन। यो बिधेयक कानुन बनेपछि करिव एक मिलियन गैर नागरिकहरु जो संग बैधानिकता पुष्टी गर्ने कागजातहरु छन उनीहरुले न्युयोर्क सहरको क्षेत्राधिकार भित्र मतदान गर्न पाउने छन। खसोखासका प्रधान सम्पादक किशोर पन्थीका अनुसार त्यसरी मतदानको अधिकार पाउने नेपालीहरुको संख्या करिव ४५ हजार छन।

यस बिधेयकका मुख्य प्रायोजक सिटी काउन्सिल डिस्ट्रिक नम्बर दसका काउन्सिल मेम्बर एडानिस रोडरिगेस हुन भने उनलाई अन्य ३४ जना काउन्सिल मेम्बरहरुले समर्थन गरेका छन। १३५ भन्दा बढी अधिकारकर्मी संगठनहरुको संजाल रहेको यो अभियानलाई न्युयोर्क ईमिग्रेसन कोलिसन र युनाईटेड नेबरहुड हाउजिङ्गले समायोजन गरेका छन। यो ऐतिहाँसिक अभियानमा हात र साथ दिनु हुने अधिकार, फिप्ना, शेर्पा क्यिदुग लगायत समुदायका अग्रज-अभियन्ताहरु प्रति पनि ‘आवर सिटी, आवर भोट’ कोलिसनका तर्फबाट हार्दिक आभार व्यक्त गर्दछु।