१४ बैशाख २०८१, शुक्रबार ९:०६ | 04/26/2024 11:21 AM



क्यानेडी परिवार सदस्यको पहिलो पराजय – शैलेश श्रेष्ठ

१७ भाद्र २०७७, बुधबार ०१:३७ मा प्रकाशित

राष्ट्रपति निर्वाचन, सिनेट, हाउस र गभर्नरहरुको निर्वाचन नजिक आईरहेको बेला अहिले राष्ट्रपतिय निर्वाचनसंग केही चर्चित उम्मेदवारहरुको निर्वाचन क्षेत्रको प्राईमरी निर्वाचनले पनि राष्ट्रिय ध्यान तान्न सफल भएका छन। रिपब्लिकन पार्टी भित्रको अन्तरपार्टी संघर्षमा पुरातानिक संस्थापन मानिने कन्जरभेटिभ रिपब्लिकन, ट्रम्प रिपब्लिकन र टी-पार्टी समर्थितहरु बिच प्रतिष्पर्धा हुने गरेका छन।

पछिल्लो परिणाम अनुसार ट्रम्प रिपब्लिकनहरुले ठुलो संख्यामा जीत हाँसिल गरेका छन। ट्रम्पको गलत नीति र रवैयाको बिरोध गर्दै अन्तरपार्टी संघर्षमा लागेका केही पुराना सदस्यहरुको सर्मनाक हार भएको छ | त्यसरी पराजित हुनेहरुमा आप्रवासीहरु प्रति सदा सर्वदा कठोर र अनुदाररुपमा प्रस्तुत हुने आयोवाका कांग्रेसम्यान स्टिभ किङ्ग र अलाबामा राज्यका सिनेटर तथा पुर्व अटर्नी जनरल जेफ सेसन छन।

स्क्वाडकी नयाँ सदस्यको रुपमा उदाएकी कोरी बुश

त्यसैगरि डेमोक्रेटिक पार्टी भित्र पुरातनिक मडरेट लेन र प्रग्रेसिभहरु बिच अन्तरपार्टी शक्ति संघर्ष चलेको दृश्य भर्खर सम्पन्न भएका र भईरहेका प्राईमरी निर्वाचनहरुमा देख्न सकिन्छ। त्यस्तो शक्ति संघर्षबाट अपत्यारिलो जीत हाँसिल गर्ने नामहरु मध्य अहिले प्रगतिशील राजनैतिक वृत्तमा नर्स तथा ब्लाक लाईभ्स म्याटरका अधिकारकर्मी कोरी बुश चर्चाको शिखरमा छिन उनले मिसौरी राज्यको डिस्ट्रिक नम्बर एकबाट लामो काल प्रतिनिधित्व गरेका कांग्रेसम्यान विलियम ल्यासी क्लेलाई पराजित गरेकी हुन।

कोरी बुशलाई अहिले स्क्वाडको नयाँ सदस्यको रुपमा चित्रण गर्न थालिएको छ। अमेरिकी राजनीतिमा प्रगतिशील महिला नेतृहरु तल्लो सदनका सदस्यहरु आलेकसान्द्रा ओकासियो-कोर्टेज, रासिदा त्लाईब, ईल्हान ओमार र आयना प्रेस्लीको चार सदस्यीय मोर्चाकाई स्क्वाड भनेर जानिन्छ।

दी स्क्वाडका सदस्यहरु बायाँबाट क्रमश: रासिदा त्लाईब, ईल्हान ओमार, आलेकसान्द्रिया ओकासियो-कोर्टेज र आयना प्रेस्ली

सन २०१८ को प्राईमरी निर्वाचनमा यस्तै अपत्यारिलो किसिमले न्युयोर्ककी आलेकसान्द्रिया ओकासियो-कोर्टेजले डेमोक्रेटिक संस्थापनका शक्तिशाली सदस्य जोसेफ क्राउलीलाई परास्त गरेकी थिईन। त्यो जीतदेखि उनलाई डेमोक्रेटिक पार्टी भित्रको पनि प्रगतिशील राजनीतिमा पावर हाउसकै रुपमा हेरिन्छ। वर्तमान राजनीतिमा उनको ईन्डोर्समेन्टले ठुलो अर्थ राख्दछ। डेमोक्रेटिक पार्टी भित्रको जोड घटाउ र अन्तरपार्टी शक्ति संघर्ष र सन्तुलन बुझेका राजनैतिक ज्ञाताहरु उनलाई सिनेटर बर्नी स्यान्डर्सका दाहिने हात भनेर पनि भन्दछन।

कोरी बुशको जीतमा पनि उनको ईन्डोर्समेन्टले अहम भूमिका खेलेको बिश्वास गरिएको छ। प्रगतिशील उम्मेदवारहरुले परम्परागत डेमोक्रेट्सहरुलाई प्रतिस्थापित गर्ने क्रममा न्युयोर्क डिस्ट्रिक १६ मा सम्पन्न भएको प्राईमरीमा एकजना तन्नेरी जमाल बाउम्यानको जीतलाई पनि लिन सकिन्छ जसले हाउस फरेन अफेर कमिटिका चेयरम्यान तथा शक्तिशाली कंग्रेसम्यान ईलिअट एङ्गललाई पराजित गरे।

अस्वेत तन्नेरी जमाल बाउम्यान जसले शक्तिशाली कंग्रेसम्यान ईलिअट एङ्गललाई पराजित गरे

यसै गरि राष्ट्रिय राजनीति र आम संचारमा उपल्लो चर्चा पाउन सफल भएको अर्को प्राईमरी दौड हो म्यासाच्युसेट्स राज्यका वर्तमान सिनेटर एड मार्की र क्यानडी बिरासतका राजनैतिक व्यक्तित्व वर्तमान कांग्रेसम्यान जो क्यानडी बिचको घम्साघम्सी। यी दुई ह्याबीवेट बिचको भिडन्तमा पार्टीका शक्तिशाली सदस्यहरु देखिने गरि विभाजित भए र आ-आफ्नो उम्मेदवारलाई जिताउन ईन्डोर्समेन्ट गर्दै क्याम्पेनमै सामेल भए।

कांग्रेसम्यान जो क्यानडीको पक्षमा सभामुख न्यान्सी पलोसी लागिन भने अर्को तिर वर्तमान सिनेटर एड मार्कीको पक्षमा राष्ट्रपति पदका लागि उम्मेदवार समेत भईसकेकी शक्तिशाली सिनेटर एलिजाबेथ वारेन र न्युयोर्कका उदयमान कांग्रेसउमेन आलेकसान्द्रिया ओकासियो-कोर्टेज खुलेरै लागिन।

अन्तत: क्यानडी बिरासतका सम्भावनायुक्त राजनीतिक पात्र वर्तमान कांग्रेसम्यान जो क्यानडी करिब दस प्रतिशत मतान्तरको फरकले सिनेटर एड मार्कीसंग पराजित भए। म्यासाच्युसेट्स राज्यमा अहिलेसम्म भएका निर्वाचनहरुमा क्यानडी परिवारका कुनै पनि सदस्य पराजित भएको बिगत र ईतिहास थिएन तर आजको प्राईमरीमा क्यानडी बिरासतका तेश्रा पुस्ता जो क्यानडीले पराजय बेहोर्नु पर्यो।

एड मार्कीलाई बिश्व-बिद्यालयहरु भएको सहरी क्षेत्रबाट भारी समर्थन र मत प्राप्त भएको थियो जहाँ बर्नी स्यान्डर्स र उनका मेडीकेर फर अल, न्यु ग्रीन डिल जस्ता प्रगतिशील एजेन्डाहरु सर्वाधिक लोकप्रिय छन।
अमेरिकाको राजनीति हरेक किसिमले ध्रुविकृत हुँदैछ। जीओपी भनेर जानिने पुरानो रिपब्लिकन पार्टीको अस्तित्व नै जोखिममा रहेको छ भने त्यसलाई ट्रम्पिज्सको स्वेत सर्बोच्चताबादी धारले प्रतिस्थापित गरिदिएको छ भने डेमोक्रेटिक पार्टी भित्र अस्वेत तथा अल्पमत समुदायको बर्चस्व निरन्तर बढ्दो छ त्यस अर्थमा डेमोक्रेटिक पार्टी परम्परागत मध्यपन्थबाट क्रमश सेन्ट्रीष्ट लेफ्ट बन्दैछ।