१४ बैशाख २०८१, शुक्रबार ४:०० | 04/26/2024 6:15 AM



खुम्चदैछ अमेरिकी राजनीतिमा “गन” को प्रभाव – शैलेश श्रेष्ठ, उत्तर अमेरिका

२ माघ २०७७, शुक्रबार २३:३८ मा प्रकाशित

अमेरिकी पुरातनबादी दक्षिणपन्थी समाज र राजनीतिका दुई दर्विला आधारहरु “गड” र “गन” मध्य बिगत केही बर्षदेखि “गन” को हैसियत क्रमश खस्कँदो अवस्थामा छ। लामोकाल अमेरिकी दक्षिणपन्थी राजनैतिक कित्तामा एकत्र प्रभाव जमाउन सफल भएको बलियो पोलिटिकल लब्बीइष्ट ग्रुप नेशनल राईफल एशोसियसन (एनआरए ) ले आफ्नो केन्द्रिय कार्यालय न्युयोर्कबाट टेक्सासमा मात्र सारेन परन्तु अमेरिकी संघीय प्राबधान अनुसारको टाईटल ११ बेन्क्रप्सी नै फायलगर्न बाध्य भयो ।

लामो समयदेखि न्युयोर्कलाई आफ्नो प्रधान कार्यालय बनाएर अमेरिकी राजनीति र बिशेष गरेर अनुदारवादी दक्षिणपन्थी धारमा आफ्नो बलियो पहुँच बनाउन सफल भएको एनआरए अहिले खुम्चन बाध्य भएको छ। करिव दुई महिना अघि मात्र न्युयोर्क राज्यकी अटर्नी जेनेरल लातिसिया जेम्सले एनआरए बिरुध्द कानुनी कारवाही अघि बढाउने दृढताका साथ मुद्दा दायर गरेकी थिईन।

तर अमेरिकी अनुदारवादी दक्षिणपन्थी आन्दोलन र अभियानमा “गड” को राजनैतिक हैसियत भने खासै खस्किएको छैन। स्वेत सर्बोच्चताबादको आधारभुमीमा टेकेर त्यही वर्ग र बर्णलाई उत्तेजित गरेर रिपब्लिकन पार्टी मात्र होइन सन् २०१६ को राष्ट्रपतीय निर्वाचन मार्फत अमेरिकी राजनीतिमै एकत्र हैकम जमाउन सफल भएका डोनाल्ड जे. ट्रम्पको शक्तिको श्रोत भनकै “गड” हुन।

त्यो धार्मिक कट्टरपन्थी समुह ट्रम्पको आदेशलाई बिना हिच्किचाहट सिरोपर गर्ने गर्दछन। उनीहरुको बिश्वास के छ भने उनीहरुको गुमेको धार्मिक एकाधिकार सिर्फ ट्रम्पले मात्र फिर्ता गर्न सक्दछन। बराक ओबामाले आफ्नो कार्यकालमा समलिंगी बिबाहलाई बैधानिक राष्ट्रिय मान्यता दिएपछि यो कट्टरपन्थी धार्मिक समुह ट्रम्पको आश्रय र शरणमा पुग्यो भने उत्तेजना र आश्वासन बाँडेर राजनैतिक फाईदा दिन माहिर ट्रम्पले त्यो अवसरलाई हरेक किसिमले उपभोग गर्यो। सन् २०१६ मा उनको जीतमा यो धार्मिक समुहको ठुलो योगदान रहेको थियो।

प्रतिष्ठित अमेरिकी पिउ रिसर्च सेन्टरले सार्वजनिक गरेको पछिल्ला सर्वेक्षण अनुसार करिब ७८ प्रतिशत ईभान्जलिकल क्रिस्चियनहरुको बलियो साथ ट्रम्पलाई छ। भने सानै संख्यामा भएपनि अन्य क्रिस्चियनहरुको समर्थन पनि उनलाई छ। प्रो-लाईफलाई आफ्नो जीवन दर्शन ठान्ने र मान्ने अनुदारवादी ईभान्जलिकलहरु ट्रम्पलाई अमेरिकाको उद्दारकर्ता “मसिहा” ठान्दछन। अघिल्लो हप्ता क्यापिटल हिलमा भएको आततायी हमला र घटनामा क्वोनान लगायतका अन्य कट्टरपन्थी धार्मिक समुहहरुको सक्रिय सहभागिता रहेको कुरा पुष्टी भईनै सकेको छ ।

अमेरिकी राजनीतिमा “गन” को प्रभाव खच्किए पनि “गड” को प्रभाव भने केही काल निरन्तर रहने सम्भावना छ।