१५ बैशाख २०८१, शनिबार १:५६ | 04/27/2024 4:11 AM



जेम्स कोमीको “जीवनजल” र डोनाल्ड ट्रम्पको भिरालो राष्ट्रपतीय यात्रा – शैलेश श्रेष्ठ, सम्प्रेषण, न्युजर्जी

१६ कार्तिक २०७३, मंगलवार २३:३८ मा प्रकाशित

खोई, अमेरिकी राजनीति बारे केहि लेख्यो कि मेरा केहि भाई-बन्धुहरु “यो शैलेशदाई सी.एन.एन. हेरेर अनि न्युयोर्क टाईम्स पढेर अमेरिकी राजनीति बारे उपदेश छाँट्छ” भन्छन | के गर्नु मातृभूमी रुचिले छाडेपछि उताको पार्टीको मुखपत्र पढेर यताको राजनीतिको कुरा मैले कहिल्यै गरेको छैन | फेरी आमाको गर्भमै कसले सबै कुरो सिकेर आएको हुन्छ र ? अलिकति पनि न ढाँटी सधै सत्य लेख्ने अनि भन्ने गरेको छु | म अहिले अमेरिकी समाज र मुलधारको राजनीति बारे जे जति लेखिरहेको छु “पढेर” होइन “परेर” लेखिरहेको छु |
Thumbnail for 783

यसपाली एउटा यथार्थ लेख्छु/लेख्दैछु: उदारबाद तर्फ उन्मुख अमेरिकामा स्वेत सर्बोच्चता र स्वेत साम्राज्यबादको दिवास्वप्न देख्ने डोनाल्ड ट्रम्प जस्ता अनुदार उम्मेदवारहरुलाई हराउन यहाँको उदार अनि प्रगतिशील मिडिया अनि संचारले अहम भूमिका खेल्ने गर्दछ | यसपाली पनि अत्यन्त खराबलाई हराएर कम खराब अनि ढाँटलाई जिताउन यहि मिडियाहरुले उपल्लो भूमिका खेल्ने छ | त्यस्तो सत्य हामीले सन २००८ र २०१२ को राष्ट्रपतीय निर्वाचनमा देख्यौं | यहाँको उदार मिडिया मौसम अनुसार रंग फेर्ने डेमोक्रेट्स अनि रिपब्लिकन नेताहरु भन्दा धेरै दूरदर्शी छ | उदार अनि लोकतान्त्रिक अमेरिकाले यो एक्काईसौं शाताब्दीमा रंग, वर्ण, जात, धर्म अथवा कर्मको नाममा विद्वेष अनि घृणा बोल्ने राष्ट्रपति थाम्न अनि थेग्न सक्दैन भन्ने कुरा यहाँको मिडियालाई राम्ररी छ | अहिले हिलारी क्लिन्टनलाई ईन्डोर्स गर्ने मिडियाहरुको लिष्ट हेर्दा त्यो कुरा छर्लङ्ग देखिन्छ |

अघिल्लो महिना वासिंगटन पोष्टले सार्वजनिक गरेको घिनलाग्दो टेप प्रकरणले घाईते भएको ट्रम्प चुनाब हुन ठिक एक हप्ता बाँकी रहँदा आज अर्को उदारबादका पक्षपोषक लोकप्रिय र विश्वसनीय पत्रिका न्युयोर्क टाईम्सले सार्वजनिक गरेको उनको ट्याक्स छली प्रकरण र आर्थिक बिचलन सम्बन्धि अनुसन्धानात्मक लेखले अब उनको नियत अनि कर्तुतलाई थप उदाङ्ग पारिदिएको छ | तेश्रो अथवा अन्तिम राष्ट्रपतीय बहसमा आफुले आयकर नतिरेको प्रसंगलाई रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले आफुले “स्मार्ट” भएर अमेरिकाको संघीय नीतिहरुको प्वाल अनि छिद्रहरुको उपयोग गर्दै फाईदा लिएको बताएर उनी पानी माथिको ओभानो बनेका थिए तर आज न्युयोर्क टाईम्सले प्रकाशित गरेको यथार्थपरक विवरणले उनी अब कुनै पनि बहानाले उम्कन नसक्ने स्थितिमा पुगेका छन | त्यो कुरा उनको आफ्नै कानुनी सल्लाहकारले पनि स्वीकार गरेका छन |

एफ.बी.आई.का निर्देशक जेम्स कोमीले उपलब्ध गराएको पछिल्लो “जीवनजल” ले पनि अब ट्रम्प बहुरिने सम्भावना छैन | जतिनै ढाँट भएपनि हिलारी क्लिन्टनको बिकल्प डोनाल्ड ट्रम्प हुन सक्ने कुरा अरुहरु त के उनकै पार्टीका पुर्व राष्ट्रपति जर्ज बुश प्रथम, उनकै प्रतिष्पर्धी जन केसीक र हाउस स्पिकर पौल रायन समेत मान्न तयार छैनन | मैले प्रारम्भदेखि लेख्ने गरेकोछु यदि यो अवस्थामा क्लिन्टनको प्रत्यासीका रुपमा जेब बुश, जन केसीक अथवा मार्को रुबियो भएको भए पासा पल्टने सम्भावना हुन्थ्यो |

अहिले निर्वाचनको अन्तिम पहरमा नियतबस यो बिषय र मुद्दा उरालेको आरोप खपिरहेका कोमीले त्यहि अभेध्य अश्त्र अहिले डोनाल्ड ट्रम्प तर्फ सोझ्याएका छन | निर्देशक कोमीले ट्रम्प र उनको क्याम्पेनको अनुचित सम्बन्ध रसिया र पुटिनसंग हुनसक्ने भन्दै अनुसन्धान अघि बढाउने कुरा बताएका छन | यी र यावत बिषय अनि प्रसंगहरुलाई जोडेर म हिलारी क्लिन्टनको ढाँट र कुकर्महरुको बचाऊ अथवा पक्षपोषण गरिरहेको छैन | मैले प्रारम्भदेखि नै स्पष्ट शब्दहरुमा लेखिरहेको छु, हिलारी क्लिन्टनको पक्षमा लेख्नलाई मसंग धेरै “खुराकहरु” छैन तर उदारवादतर्फ उन्मुख अमेरिकामा एक जना उदारबाद अनि प्रगतिशीलताको पक्षधरका हैसियतले डोनाल्ड ट्रम्पलाई हराउनै पर्ने दस कारणहरु सहित म जहाँ जोसंग पनि खुला मनले बैचारिक बहस गर्न तयार छु |

अर्को जिद्दी पनि मैले बिगत दुई तीन महिनादेखि निरन्तर लेख्दै आएको छु, त्यो हो यदि रिपब्लिकन पार्टीले यहि रफ्तार अनि हैसियतमा आप्रवासी र अल्पमत प्रति निरन्तर अनुदारवादी सोंच, नीति र अभिमत राखिन्जेल उसले राष्ट्रपतीय निर्वाचन कहिल्यै जित्न सक्दैन | राष्ट्रिय सर्वेक्षणहरुमा डोनाल्ड ट्रम्प ५ या ७ प्रतिशत मतले अगाडीनै देखिए पनि अमेरिकाको ईलेक्टोरल कलेज मत पध्दतीको आधारमा हुने निर्वाचनमा हिलारी क्लिन्टनले सजिलै आवश्यक २७० ईलेक्टोरल मत हाँसिल गर्नेछन | स्मरणीय रहाेस्, संयुक्त राज्य अमेरिकाको जम्मा ५३८ ईलेक्टर्स् मा विजय हुनको लागि २७० इलेक्टोरल मत अावश्यक पर्छ |

ठुला उदार अनि प्रगतिशील राज्यहरुमा डेमोक्रेटिक पार्टीको बर्चस्व भएकोले डेमोक्रेटिक पार्टीको राष्ट्रपतीय उम्मेदवारलाई जित्न निकै सजिलो हुने गर्छ | धेरै इलेक्टोरल मत भएका ठुला राज्यहरु क्यालिफोर्निया, न्युयोर्क, फ्लोरिडा, पेन्सलभेनिया र इलिनोईस जित्नासाथ हिलारी क्लिन्टनलाई १५३ इलेक्टोरल मत प्राप्त हुन्छ | रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले मध्यपश्चिम अनि उत्तरका मोन्टाना, वायोमिङ्ग, टेनेस्सीजस्ता १५/१६ वटा रेड स्टेट भनिने साना रिपब्लिकनहरुको बाहुल्य भएको राज्य जित्दा पनि त्यो संख्या पुग्दैन | अमेरिकाभरिकै सबभन्दा अनुदार अध्यागमन नियम एस.बी. १०७० लागू गर्ने रेड स्टेट आेरिजोनामा अहिले प्रायशः सबै सर्वेक्षणमा हिलारी क्लिन्टन अगाडि देखिएकी छिन भने अर्को २९ ईलेक्टोरल मत रहेको टेक्सासमा पनि हिलारी क्लिन्टनको जित्ने सम्भावना बढेको छ |

अहिले प्रत्येक पाँच जना मतदातामा एक जना ल्याटिनो मत छ अब सन २०३० पछि अहिले अल्पमत भनिएका हामीहरु यो देशको बहुमतमा हुनेछौं | यस्तो भू-राजनैतिक समीकरणमा श्रमजीवी कर्मबीर म्याक्सिकनहरुलाई “रेपिष्ट” र “क्रिमिनल” भन्ने सृष्टिका जननी महिलाहरुलाई लेख्नै नमिल्ने अश्लिल अनि असभ्य शब्दबाणहरुले प्रहार गर्ने, मुस्लिम धर्मावलम्बीहरु माथि एक्काईसौं शताब्दीको फतवा जारी गर्ने, आफ्नै सह-कर्मी टेलिभिजन प्रस्तोताहरुको ब्यबसायिक मानमर्दन गर्ने, शारीरिकरुपले अशक्त अनि अपाङ्गहरुलाई धज्जी उडाउनेलाई किन र केका आधारमा अमेरिका जस्तो शभ्य, शिक्षित , सम्मुन्नत समाज र राष्ट्रले आफ्ना राष्ट्रप्रमुखका रुपमा रोज्लान ?

अमेरिकाको साख र लाज बचाउन मात्र भए पनि अन्य असल र धेरै बिकल्प नभएको वर्तमान अवस्थामा आम स्वाधीन अनि स्वतन्त्र अमेरिकी मतदातासंग एउटै मात्र उपाय अनि बिकल्प छ, त्यो भनेको स्वेत सर्बोच्चता, स्वेत साम्राज्यबाद, युध्दउन्मादका परिकल्पनाकार अतिवादी डोनाल्ड ट्रम्पको विपक्षमा आफ्नो अभिमत जाहेर गर्नु | अबको सात दिन अनि केहि घण्टामा ढाँट अनि यथास्थितीबादको पृष्ठपोषक क्लिन्टन बिरासतकि भाग्यमानी पात्र हिलारी रोधाम क्लिन्टन संयुक्त राज्य अमेरिकाको पैंतालिसौं राष्ट्रपति बनेको खुसीमा भन्दा पनि अमेरिकालाई पुनः युध्द अनि आन्तरिक विभेदयुक्त अशान्तिको डरलाग्दो भयबाट बचाएकोमा आम अमेरिकी जनताले एक आपसमा उत्सब गर्नेछन |