१४ बैशाख २०८१, शुक्रबार ४:२६ | 04/26/2024 6:41 AM



जो बाईडेन जीतको नजिक – शैलेश श्रेष्ठ

२० कार्तिक २०७७, बिहीबार ००:३७ मा प्रकाशित

डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाईडेनका समर्थकहरु अहिले उत्सव गर्ने मूडमा सामाजिक संजालहरुमा प्रस्तुत हुन थालेका छन तर बाईडेनको जीतको अधिक सम्भावना भए पनि सार्वजनिक उत्सवनै गर्ने समय भने भईसकेको छैन। खेल अझै बाँकी छ। अन्तिम औपचारिक परिणामका लागि अमेरिकी जनताकै ठुलो धैर्यताका साथ निक्कै लामो समय पर्खनु पर्ने हुन सक्दछ।

एरिजोना राज्यको ११ ईलेक्टोरल मतको प्रोजेक्सन जो बाईडेनको पक्षमा फक्स न्युजले मात्र गरेको छ। सीएनएन, एनबीसी र अन्य न्युजहरुले अहिलेसम्म गरेको छैन कारण त्यहाँ अहिले मारिकोपा काउन्टीको ३९२,००० मत गन्ति भईरहेको छ। त्यस मध्य ७० हजारको एउटा लटको गन्ति भर्खर सकिएको कुरा काउन्टीका अधिकारीले बताएका छन । सम्भवत: अबको डेढ घन्टामा त्यो लटको परिणाम र मत संख्या सार्वजनिक हुनेछ। त्यस अर्थमा एरिजोना बाईडेनले जितिसक्यो भनेर बुझ्नु हुँदैन ।

ट्रम्प भन्दा बाईडेन करिव ७९ हजार मतले मात्र अगाडी छन। सँधै रिपब्लिकन पार्टी र डोनाल्ड ट्रम्पको पक्षपोषण गर्ने फक्स न्युजले त्यस्तो प्रोजेक्सन गरेको बिरोधमा अहिले मेरिकोपा काउन्टी बाहिर हतियार सहित जम्मा भएका ट्रम्प समर्थकहरुले “फक्स सक्स्” भन्दै चर्का नारा लगाईरहेका छन।

अहिलेसम्ममा बाईडेनले २५३ र ट्रम्पले २१४ ईलेक्टोरल मत हाँसिल गरेका छन। राष्ट्र्पति हुनको लागि आवश्यक पर्ने २७० ईलेक्टोरल मत पुर्याउनको लागि अब बाईडेनले एरिजोना (११ ईलेक्टोरल मत) र नभडा (६ ईलेक्टोरल मत जित्दा पुग्छ। नभाडा राज्यमा बाईडेन ७,६४७ मतले मात्र अगाडी छन। मत गन्ति हुँदै गरेका अन्य बाँकी अन्य राज्यहरुमा पनि प्रतिष्पर्धा तिब्र हुँदै गएको छ। पछिलो सार्वजनिक परिणाम अनुसार जर्जिया राज्यमा बाईडेन ट्रम्पलाई पछ्याउँदै छन। अहिले ट्रम्प बाईडेन भन्दा ३१, ७४८ मतले मात्र अगाडी छन।

ठुलो मतान्तरमा अगाडी गरेको जर्जियामा अहिले बाक्लो बस्ति भएको डेमोक्रेट्सहरुको बाहुल्य क्षेत्रको मतगणना भएरहेकोले यस्तो परिणाम आउन थालेको कुरा न्युयोर्कबाट जर्जियाको एटलान्टा बसाई सरेका नेपाली मुलका संचारकर्मी प्रशान एलुंग राईले बताएका छन। उनले टेक्स्ट म्यासेज गर्दै भनेका छन “हामो भोट खेर जान्न नि दाइ”!

पेन्सलभेनिया राज्य आरम्भदेखिनै बिबादित रहँदै आएका छन। पछिलो परिणाम अनुसार करिव ८९ प्रतिशत मत गन्ति भईसक्दा ट्रम्पले १६४,४१८ ले अग्रता लिएका छन तर बिर्सन नहुने तथार्थ के हो भने अझै पनि त्यो राज्यमा दस लाख मत गणना हुन बाँकी छ | डोनाल्ड ट्रम्पले मतगणना रोक्नको लागि अदालतको शरणमा गएको पनि खबर आएको छ तर केही घण्टा अघि त्यहाँका सेक्रेटरी अफ स्टेटले मतगणना निरन्तर हुने बताएका छन।

त्यसै गरि अर्को ब्याटलफिल्ड राज्य नर्थ क्यारोलिना ट्रम्पको पोल्टामा जाने सम्भावना देखिएको छ। पछिलो मत गणना अनुसार ट्रम्प ७६,७०१ मतले अगाडी छन भने खसेको मतको करिव ९४ प्रतिशत गन्ति भईसकेको छ।

अहिले समाचारहरुले सार्वजनिक गरेको परिणाम भनेको प्रमुख न्युज नेटवर्कहरुले गर्ने गरेको बस्तुगत प्रोजेक्सनको आधारमा गरिएको बिवरण मात्र हो। काउन्टी क्लर्क र सेक्रेटरी अफ स्टेटले प्रमाणित गरिसकेपछि मात्र त्यसले बैधानिक मान्यता पाउने गर्दछ। बाँकी ब्याटलफिल्ड राज्यहरुको पछिल्लो मतगणना, गणित र परिणाम हेर्दा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाईडेनलाई बिजयी हुन आवश्यक पर्ने २७० ईलेक्टोरल कलेज मत सजिलै प्राप्त हुने स्थिती देखिएको छ ।