१६ बैशाख २०८१, आईतवार ९:४८ | 04/28/2024 12:03 PM



दुई अतिवादी समुहको चपेटामा एनआरएन अमेरिका

२६ जेष्ठ २०७२, मंगलवार ००:०८ मा प्रकाशित

NRNAहिसाब गर्दै लाँदा मेरो पनि निकै समय, सद्भाव अनि चिन्ता लगानी भईसकेको रहेछ एनआरएन अमेरिकामा| त्यसैले चिन्ता, मायाँ र सरोकार भईरहन्छ| डीआरसी सोनाम लामाजीले आज एउटा वक्तब्य प्रकाशित गरेर वर्तमान निर्वाचित कार्यसमितीलाई काम निरन्तर नगर्नु भन्ने लिखित आदेश दिएछन अथवा अलि चर्को शब्दमा भन्नु पर्दा निलम्बन गरेछन| मैले भर्खर खसोखास र प्रेसचौतारी पढे पछि थाहा पाएँ| अन्य संचार माध्यमलाई पनि यो प्रेस रिलिज प्रेषित गरिएको होला तर म समाचार नलेख्ने अनि सम्प्रेषण मात्र गर्ने भएकोले होला अहिलेसम्म मैले प्रेस रिलिज पाएको छैन |

हाम्रो यो अपरिपक्व समाज र संगठनहरुले प्रेस रिलिज गर्दा अथवा सुचना दिँदा आफुले भनेको मान्ने या अनुकुलमा छाप्नेलाई मात्र पठाउने चलन छ| पहिलेको कार्यसमितीले गर्ने गरेको त्यस्तो सौतेलो ब्यबहारको पनि म पिडित संचारकर्मी थिएँ तर मैले हारिन बरु एनआरएनको पदमा आसिन हुँदै आफ्नो नेपालको माऊ पार्टी रिझाउनेहरुको राजनैतिक खेल जोखिममा पारिदिने दुस्साहस गरें, प्राय सबैले भात्री संगठनहरुमा सम्हाली रहेको साविकको पद त्याग गर्न बाध्य भए| त्यसको बदला स्वरुप कांग्रेस र एमालेका कार्यकर्ताहरुले मौका पाउने साथ मलाई बाँकी राख्दैनन| अंगालो मारेर पछाडीबाट धारिलो छुरा प्रहार गर्छन| त्यो मैले साहसले रोजेको चुनौती हो स्वीकार गर्छु र आम प्रवासी समाजलाई त्यो आधुनिक दासताबाट मुक्त गराउने एकल प्रयास निरन्तर गर्छु| त्यो चलनको पुनरावृत्ति अहिले पनि भएको मात्र हो आकाशनै खसी हालेको छैन| प्रेस रिलिज नपाए पनि एनआरएनको दुनियाँबाट म टाढा हुन्न र भागेर जान्न |

अघिल्लो आलेखमा मैले आफ्नो विचार, विश्लेषण अनि शंसय सम्प्रेषण गरिसकेको छु| म यी दुवै खाले अतिवादको विपक्षमा छु| अन्तर्राष्ट्रिय समन्वय परिषदले डीआरसी सोनाम लामालाई छानविनको अधिकार दियो भनिएको छ, मेरो बुझाईमा केन्द्रले त्यसरी समन्वय गर्ने या सहजकर्ताको दायित्व निर्वाह गर्ने पदीय दायित्व भएको क्षेत्रीय उप-संयोजकलाई छानविन गर्ने जिम्मेवारी दिन हुँदैन (मिल्दैन नभनौं) किनकी संयोजक या उप-संयोजकले न्याय सम्पादन या निरुपण गर्ने होइन, उनीहरुको पदीय अहम जिम्मेवारी त भनिएका पिडित र पीडकहरु बीच समन्यवकर्ता या सहजकर्ताको अभिभावकत्व निर्वाह गर्ने हो| केन्द्रको हुकुमले अमेरिकी भुमी र कानुनलाई मिचेर या मिचिएर गरिएको दण्डहिनताको अन्त्य हुन्छ या गरिनु पर्छ भन्ने मान्यता कसैले राख्छ भने त्यो पराजित मानसिकताको उपजको चरणमा फेरी “मुतको न्यानोमा रमाउनु” मात्र हुने छ |

अब एउटा जटिल अनि पेचिलो यक्ष प्रश्न खडा हुन्छ, अब यो छानविन कमिटी भनेको कसले कुन बिधि बिधान कानुन या कानुनको कुन महल र दफामा टेकेर बनाउछ? कि माथिबाट कुमार पन्तजी ले पाँच सदस्यीय टोली पठाउछ| अमिरिकामा बस्नु भएको साथीहरु, तपाईहरुले कुरो बुझ्नु भएको छ कृपया यो क्षेणिक आवेश या उत्तेजनामा आएर “खुचिङ्ग” र “ठिक्क पर्यो” को बाल हठ नदेखाउनुस| अघिल्लो बर्षसम्म एनआरएनको नाम सुन्दा खिसी गर्दै मुन्टो बटार्ने केहि छिचिमिराहरु अहिले जितेको भनिएको र हारेको या हराईएको भनिएको लिष्टमा हुनुहुन्छ| अहिले मैले तपाईका केहि आक्रोशपूर्ण र आवेगपूर्ण सम्प्रेषित विचारहरु पढें, त्यति लेख्न या भन्न समेत तपाई लायक हुनुहुंन्न |

मानिस भित्र भएको सबभन्दा डरलाग्दा दुइटा समस्या हुन “घृणा” र “निषेध”| त्यसमा अतिवाद या कसैलाई सिध्याउने कायाकल्प रहन्छ भने त्यहाँ समाधान हुँदैन| हामी जानीनजानी त्यस्तो गन्तब्यको पहिचान गर्दैछौं| अमेरिकी न्याय प्रणाली महँगो, झन्जटिलो अनि अनिश्चित छ भन्ने मेरो अघिल्लो लेखाईलाई मेरा अनन्य स्नेही भाई र केहि मित्रहरुले शैलेशले “न्यायको लागि अगाडी नबढ” भनेर लेख्यो भन्ने बुझेछन| यो आधा जीवन अधिकारकर्म र न्यायको आवाज र लडाईमा बिताएको म जस्तो मान्छेको लागि तपाई हामीले प्राप्त गर्ने अबको न्याय मेरो लागि चीरप्रतिक्षित हुनेछ| त्यसको न्यायिक जीतमा हामी उल्लास र उत्सब गर्ने छौं| मैले बारम्बार लेखेको छु निर्वाचन परिणाम प्रति मलाई पनि शंका र संसय छ, त्यस्ता केहि लिखित दस्तावेजहरु मकहाँ पनि आएका छन् जसका कारण थुप्रै अनियमितता भएको शंका उत्पन्न हुन्छ |

तर त्यस्तो दण्डहिनताको समुल अन्त्य गर्दै अनियमिततामा संलग्नहरुलाई कानुनी कारवाहीको दयरामा ल्याउन बिधि र बिधानले तोकेको बाटो मार्फत जानु उचित हुन्छ भन्ने जिकिर मात्र हो मेरो| बिना प्रमाण हंचुवाको भरमा अथवा पराजित भएको झोंकमा बिनोद रोकाले धाँधली गरेर फलानोलाई जितायो अनि न्यायिक कमिटीको दुर्गा भुर्तेलकोमा के जानु उसले न्याय दिदैन भनेर “प्रेजुडिस” सोंच राख्न कति जायज हुन्छ? अहिले एनआरएनमा लागेका मित्रहरु प्राय जसो सबै म भन्दा ज्ञानी र पढेलेखेकै हुनुहुन्छ, अब यति भनि दिनुस कुनै पनि मुद्दा डीष्ट्रिक कोर्टमा नगई सुप्रिम कोर्टमा लान मिल्छ? भोली नियमसंगत र विधानसम्मत तवरले न्यायिक कमिटीमा लैजाँदा त्यहाँ उचित कानुनी उपचार भएन भने अमेरिकाको अन्य कानुनी निकायमा जान पाउने तपाईहरुको नैसर्गिक अधिकारलाई कस्ले रोक्न सक्छ?

अधिकारकर्मको दायरा अनि चाहनामा यस्ता हुकुमी निलम्बन या आदेशहरु पर्दैनन् बरु कुकर्म र कर्तुत गर्ने र गराउनेहरुले राज्य र मुलुकको कानुन अनुसार उपल्लो स्तरको सजाय पाँउछन ताकी आगामी दिन र निर्वाचनहरुमा दलको दादागिरी अनि पैसाको बलमा कब्जा गर्ने सपना नदेखुन |

अन्तमा अझै सबै पक्षसंग बिनम्रतापुर्वक आग्रह गर्दछु कृपया उत्तेजना र तिक्तता कम गरौँ अनि न्यायिक निरुपणका लागि सहि मार्गको पहिचान गरौँ| सम्बाद निरन्तर कायम राखौं| थुप्रै गल्ति र कमी कमजोरीहरुबाट सिक्दै, लड्दै पढ्दै हामी यहाँसम्म आईपुगेका हौँ, ति अप्ठेरा दिनहरुलाई नभुलौं| जय एनआरएन अमेरिका!