१५ बैशाख २०८१, शनिबार १२:०४ | 04/27/2024 2:19 PM



नयाँ वाटरगेट: निक्सनकै बाटो हिड्दैछन राष्ट्रपति डोनाल्ड ट्रम्प – शैलेश श्रेष्ठ, न्युजर्सी, अमेरिका

३१ जेष्ठ २०७६, शुक्रबार ११:३२ मा प्रकाशित

अमेरिकी ईतिहाँसको खलपात्र वाटरगेट स्क्यान्डलका मास्टर माईण्ड रिचार्ड निक्सनलाई पढ्दा अनि वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नजिकबाट बुझ्दा यि दुई पात्रहरु फरक भएपनि प्रबृत्ति उही अनि उस्तै लाग्ने गर्दछ । नीतिगतरुपमा मात्र होइन चरित्रमा पनि यिनीहरु उस्तै उस्तै लाग्दछ । पुर्व राष्ट्रपति निक्सन पनि निक्कै जिताहा, जिराहा, मिचाहा अनि जिध्दी स्वभाबका थिए कुनै पनि कुरामा हार्नै नमान्ने अथवा नजान्ने । पहिलो राष्ट्रपतीय कार्यकालपछि उनले घर भित्र र बाहिर साह्रै धेरै सत्रु कमाएको कुरा अमेरिकी ईतिहाँसकार र राजनैतिक विश्लेषकहरुले बारम्बार भन्ने गरेका छ्न । आफ्नो पहिलो कार्यकालको दुई बर्षहरु मुस्किलले पार गरेका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि त्यही रफ्तारमा सत्रुहरु कमाएका छन । नियतमा मात्र होइन यिनी नियतिमै पनि निक्सनको बाटो पछ्याउँदैछन ।
shailesh
के हो त अमेरिकी ईतिहाँसको कालोधब्बा भनेर जानिने वाटरगेट काण्ड?
निक्कै जिध्दी अनि जिराहा स्वभाबका राष्ट्रपति निक्सनको पहिलो कार्यकाल केही हदसम्म सफल भएको कुरा अमेरिकी राजनीतिका विश्लेषकहरु बताउने गर्छन । उनले तत्कालिन सोभियत संघ, अरब राष्ट्रहरु र चीनसंगको आपसी सम्बन्धमा आंशिक सुधार गरेका थिए त्यसले उनको महत्वाकाँक्षा निक्कै चुलिएको थियो । उ जसरी हुन्छ दोश्रो कार्यकालका लागि राष्ट्रपति हुन चाहन्थे त्यही नियत र अभिष्टले उनले आफ्ना सुरक्षा संयोजक सहित अन्य पाँच जनालाई सन् १९७२ मा सम्पन्न भएको डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलनमा सुराकी गर्न खटाए र उनीहरुले वायर टेपीङ्ग गरेर थुप्रै कागजातहरु चोरेका थिए । त्यो घटना वासिंगटन डी.सी. को वाटरगेट कम्प्लेक्समा भएको थियो । ति खटाईएका सुराकीहरु उक्त होटल कक्षमा पक्राउ परेका थिए । त्यो घटनालाई ढाकछोप गर्न निक्सनले राज्य संयन्त्रको अधिकतम दुरुपयोग गरे तर वासिंगटन पोस्टका पत्रकारहरु बब उडवार्ड र कार्ल बर्न्सटीनको अनुसन्धानात्मक रिपोर्टिंगका कारण निक्सनले ढाकछोप गर्नै सकेनन । जुलाई महिनामा सर्बोच्च अदालतले सुराकी गरेर खिचिएका सम्पूर्ण टेप र कागजातहरु बुझाउनु भनेपछि बुझाउन उनि बाध्य भए त्यही समय माथिल्लो सदनको न्यायिक कमिटी र तल्लो सदन कांग्रेसले उनि बिरुध्द “ईम्पिचमेन्ट” को प्रस्ताब अघि बढाए अनि आफु बर्खास्तीमा पर्ने निश्चित भएपछी अगस्त आठ तारिखका दिन राष्ट्रको नाममा सम्बोधन गर्दै उनले अमेरिकी राष्ट्रपति पदबाट राजिनामा दिए र तात्कालिक उपराष्ट्रपति जेराल्ड फोर्डलाई राष्ट्रपतिमा नियुक्त गरे । पछि नव-नियुक्त राष्ट्रपति फोर्डले निक्सनलाई आफ्नो संबैधानिक कार्यकारी शक्तिको प्रयोग गर्दै क्षमादान दिए कमसेकम उ जेल जान परेन तर उनले खटाएका सुराकीहरुले भने तात्कालिक अमेरिकी मौजुदा कानुनको अधिनमा दण्डित भए ।

के डोनाल्ड ट्रम्पले त्यस्तै खाले संबैधानिक उन्मुक्ति पाउलान त?
नियत उस्तै भए पनि पुर्व राष्ट्रपति निक्सनको भन्दा फरक नियति वर्तमान राष्ट्रपतिले भोग्नु पर्ने स्थितिको आँकलन अहिले गर्न थालिएको छ । नियतबस गरिएका थुप्रै कसुरहरुमा तादम्यता भेट्न सकिन्छ यो दुबैजनाले आफ्नो कुकर्महरुको ढाकछोप गर्न “हस-मनी” प्रयोग गर्ने गरेको तथ्य फेला परिसकेको छ । उ बेला दोश्रो कार्यकालको निम्ति जीत हाँसिल गर्न निक्सनले सुराकीहरुलाई त्यस्तो धनरासी उपलब्ध गराएका थिए भने वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले स्त्रीगमन र पोर्नस्टारहरुसंग रंगीन रातहरु बिताउन अकुत पैसा खर्च गर्ने गरेको सत्य उनका पुर्व कानुनी सल्लाहकार माईकल कोहेनले प्रमाणिकरुपमै मुलर आयोगलाई बताई सकेका छन त्यसै बापत अनि एफ.बी. आई. झुटो विवरण दिएको, आयकरमा बेईमानी गरेको अभियोगमा कोहेनले तीन बर्षको जेल सजाय पाईसकेका छन । पोर्टस्टार स्टोर्मी ड्यानियल्ससंग सन् २०१६मा रात बिताए बापतको रकम एक सय तीस हजार अमेरिकी डलर उनका पुर्ब कानुनी सल्लाहकार कोहेनले तिरिदिएका थिए र पछि ट्रम्पले निजिरुपमै उनलाई दिएको बताईएको छ । कसुर गर्ने राष्ट्रपति चाँही सेतोघर (ह्वाईट हाउस) मा अनि बिचरा केटी मिलाईदिने सहयोगी चाँही जेलमा? यो कस्तो अमेरिकी न्याय हो भनेर पनि अहिले अमेरिकी कानुनको खिल्ली उडाउन थालिएको छ ।

अमेरिकी न्याय सम्पादन सबैलाई बराबरी हुन्छ भनेर भन्ने गरिएपनि केही मान्छेहरुले बिशेष उन्मुक्ति पाउने गरेको कुरा पनि एकहदसम्म सत्य हो । राष्ट्रपति ट्रम्प अहिलेसम्म त्यो सवालमा निक्कै भाग्यशाली देखिएका छन । वाटरगेट काण्डले स्थापित गरेको नजिर र मौजुदा अमेरिकी मूल कानुनको ब्यबहारिक ब्याख्या गर्दा त्यस्तो “ईम्यूनिटी” राष्ट्रपतिलाई प्राप्त छ र हुन्छ भनेर भन्ने आम बुझाई रहेको छ । राष्ट्रपति ट्रम्पले आफ्नो शक्तिको दुरुपयोग गरेको दर्जनौं प्रमाणिक फेहरिस्तहरु बाहिर आउँदासम्म पनि उनि कानुनको फन्दामा पर्न सकेका छैनन । चुनाब जित्न उनले आफैले नियुक्त गरेका क्याम्पेन मेनेजर पल मेनाफोर्टदेखि कानुनी सल्लाहकार माईकल कोहेन अमेरिकी कानुन र अदालतको नजरमा दोषी देखिईसकेका छ्न भने उनका सुरक्षा सल्लाहकार माईकल फ्लाईन जेल अबधिको प्रतीक्षामा छन । चुनाबताका ट्रम्पलाई जिताउन रसिया र त्यो संजाल सक्रिय भएको यथार्थ पत्ता लगाउन अहोरात्र काम गरिरहेको रबर्ट म्युलरको बिशेष आयोग आफ्नो बिस्तृत विवरण अब छिट्टै सार्वजनिक हुने सम्भावना छ । अमेरिकीहरुको स्वाधीन सर्बोच्च संस्था ह्वाईट हाउसलाई राष्ट्रपतिले आफ्नो नाफाको लागि ट्रम्प एण्ड कम्पनी बनाएको सत्य दुनियाका सामु छर्लंगै छ । राष्ट्रपतिले आफ्नी छोरी ईभान्का ट्रम्प र ज्वाई जारेड कुस्नरलाई बरिष्ट सल्लाहकारको लाभदायी पदमा नियुक्त मात्र गरेका छैनन वेस्ट उइन्ग्सका भित्ताहरुमा आफ्नी छोरीलाई ईभान्का डिजाईनर ड्रेसहरुको फोटो टाँस्दै ब्यबसायिक प्रचार गर्न छुट पनि दिएका छन । छोरीप्रेम मार्फत उनले बेथितिहरुको प्रचलन समेत आरम्भ गरेका छ्न । बिदेशी पाहुना र राष्ट्राध्यक्षहरुसंगको मैत्रीपूर्ण भेटघाटहरुमा मात्र होइन अन्य राष्ट्रिय सुरक्षाका बिबिध छलफलहरुमा पनि उनीहरुको संलग्नता हुनेगरेको सत्य तथ्यले उनको मिचाहा प्रबृत्तिको फेहरिस्त देखिने गरि सतहमा आएको छ । पछिल्लो रिपोर्टहरुका अनुसार ट्रम्प टावर मस्को निर्माण र संचालन गर्दा पनि राष्ट्रपतिले आचार संहिताको उल्लङ्घन गरेको कुरा बाहिर आएको छ । ट्रम्पका पुर्व कानुनी सल्लाहकार कोहेन र सुरक्षा सल्लाहकार फ्लाईन मार्फत म्युलर आयोगले यसका बारेमा थप प्रमाण हात पारेको कुरा अमेरिकी सुचना श्रोत र विश्वसनीय संचार माध्यमहरुले सार्वजनिक गरेका छन ।

न्युयोर्क राज्यमा दर्ता भएर संचालन गरिएका ट्रम्प बिश्वविद्यालय र ट्रम्प फाउन्डेसनले अबैधानिक गतिबिधि गरेको आशंकामा न्युयोर्क राज्यका अटोर्नी जनरल बर्बरा अन्डरउडले अन्तिम छानविन गरिरहेकै अवस्थामा अघिल्लो हप्ता मात्र ट्रम्प फाउन्डेसन बन्द गर्न सहमत भएका छ्न तर संचालकहरु भएका र गरिएका भनिएका कर्तुतहरुको न्यायिक भागीदार भने पक्कै बन्नेछन । परोपकारी कार्यहरु संचालन गर्ने शर्तमा न्युयोर्क राज्यमा दर्ता भएर संचालनमा आएको यो फाउन्डेसनले उनीहरुको निजि तथा राजनैतिक फाईदाको नियत राखेर रकम बाँडेको कुरा अटर्नी जेनेरलको प्रवक्ताले बताएका छन । एक बर्ष अघि न्युयोर्क राज्यका पुर्व अटर्नी जनरल एरिक स्नाईडरम्यानको पालामा ट्रम्प फाउन्डेसनले गैर कानुनी काम गरेको अभियोगमा डोनाल्ड ट्रम्पलाई गिरफ्तार गरेर छानविन गर्न म्यानहटन फेडेरल कोर्टमा मुद्दा हालेको थियो तर त्यो मुद्दामा बहालवाला राष्ट्रपतिलाई गिरफ्तार गरेर छानविन गर्ने यो क्षेत्रको अदालतको क्षेत्राधिकारमा नपर्ने भन्दै उक्त मुद्दालाई रध्द गरिदिएको थियो । त्यसको अर्थ डोनाल्ड ट्रम्पले न्यायिक उन्मुक्ति पाएको भनेर बुझ्नु हुँदैन राष्ट्रपति पदबाट निवृत्त भएको केही घण्टामै बाँकी मौजुदा कानुनहरुको अधिनमा उनि छानविनका लागि योग्य हुनेछन ।

राष्ट्रपतिलाई जिताउन रसियाको संलग्नता रहेको भन्ने आरोपको छानविन आफ्नै ठाउँमा छ त्यो त्यसको प्रबृत्ति र प्रकृति निक्कै अमुक अनि निरपेक्ष लाग्दछ तर प्रमाणिकरुपमा सतहमा फेहरिस्त सहित बाहिर आएका यि र यस्ता कैयन अपराधिक अभिष्ट र नियत सहितका कर्तुतहरुले डोनाल्ड ट्रम्पलाई मौजुदा अमेरिकी कानुनको साङ्ग्लोले कस्ने सम्भावना बलियो हुँदै आएको छ । अन्त्यन्त चलायमान अनि क्रियाशील रहेको अमेरिकाको मौजुदा क्याम्पेन फिनान्स ल बलियो अनि शक्तिशाली छ त्यो कानुनले अहिलेसम्म कसैलाई पनि बाँकि राखेको छैन अनि पूर्ण उन्मुक्ति दिएको पनि छैन । ट्रम्पले कानुनी सल्लाहकार मार्फत होस् या आफ्ना योजनाकारहरु मार्फत नै किन नहोस अहिलेसम्म भए गरेका थुप्रै अबैध क्रियाकलापहरुले पैसा खर्च गरेर चुनाब जित्ने अतिशयोक्तिपूर्ण राजनैतिक अभिलाषा राखेको स्पष्ट देखिन्छ । ट्रम्प फाउन्डेसन मार्फत आफ्नो रुचीका मान्छे र संगठनहरुलाई निस्फिक्री बाँडेका रकमहरु होस् अथवा आफ्ना पुर्व कानुनी सल्लाहकार माईकल कोहेन मार्फत पोर्नस्टार स्टोर्मी ड्यानियललाई बेश्यागमन बापत भुक्तानी दिईएको एक सय तीस हजार अमेरिकी डलर नै हुन त्यसको जरो र जडले चुनावी आचार संहिताको प्रमाणिक उल्लङ्घन गरेको प्रष्ट छ । ढाँटेको कुरो काटेर मिल्दैन भनेको जस्तो पोर्नस्टारको आरोपलाई होइन होइन भनेर ट्रम्पले टारिरहेको बेला उनलाई बचाउन कानुनी मसिहा बनेर आएका उनका कानुनी सल्लाहकार रुडी जुलियानीले “त्यो रकम चुनाबी क्याम्पेन फण्डबाट होइन ट्रम्पले निजिरुपमै माईकल कोहेनलाई दिईसकेका छ्न र चुनाब पहिल्यै भएको यो घटनाले ट्रम्पलाई केही असर नपार्ने बताई दिएर अर्को बिपत निम्त्याईदिएका छन ।

राष्ट्रपतिका कर्तुतहरु अहिले एकातिर टाल्यो अर्को तिर देखिने स्थितिमा पुगेका छ्न । सारा दुनियालाई थाहा भएकै कुरा हो वर्तमान राष्ट्रपति ट्रम्प राजनैतिक व्यक्तित्व होइनन उनि विशुध्द ब्यापारी हुन । एउटा प्रचलित आहान नै छ ब्यापारीको जात, धर्म केही हुन्न उसलाई सिर्फ नाफा कमाउनुसंग मतलब छ । वित्तीय ब्यबस्थापनमा निक्कै कमजोर धनी बाउका अपुताली सम्पतिले “रियलस्टेट मोगुल” को कलेवर र नक्कली आवरणमा बाँचेको ट्रम्पले आफ्नो ब्यबसायिककालमा तीन पटक बैन्क्रप्सी गरिसकेका छ्न । तर अमेरिकी संस्थापन, दुवै पार्टी र सदनहरु नितान्त कमजोर भएको फाईदा उठाउँदै उनले राजनीति मार्फत ब्यापार गर्ने कसैले नसोंचेको नचिताएको अपुताली हात पारे । बनिबनाउ अमेरिकी शासकीय संयन्त्र उनको लागि ब्यापारिक लाभको मार्ग भयो । उसंग देखाउनको लागि उकालो लागेको वर्तमान अर्थतन्त्र छ भने भाषण गर्नकै लागि रोजगारीको भारी अभिवृद्धी तर कानुनी राज्य र सामाजिक न्यायको सवालमा उनले अमेरिकी “फाउन्डीङ्ग फादर” ले परिकल्पना गरेका हरेक समुन्नत प्रणाली र पध्दतीलाई आफ्नो स्वार्थका लागि तहसनहस गएका छन ।

गत नोभेम्बर महिनामा सम्पन्न भएको मध्यबधी निर्वाचनको अभिमतले राष्ट्रपति ट्रम्पलाई स्वेच्छाचारी बन्नेबाट रोकेको मात्र छैन “तिमी मौजुदा अमेरिकी नियम कानुन भन्दा माथि छैनौं है” भनेर चेतावनी पनि दिएको छ । वाटरगेट काण्डको उत्तरार्ध तिर देखिएको राजनैतिक परिदृश्यसंग अहिले बिकसित हुँदै गरेका घटना परिघटनाहरु निक्कै हदसम्म मिल्दाजुल्दा छ्न । अटेर गरेर बसेका जिराहा जिध्दी निक्सनलाई जसरी न्यायालयले ठिक ठाउँमा ल्याईदिएका थिए अहिले पछिलो समयमा ट्रम्प प्रशासनको विपक्षमा न्यायालयले गरेका फैसलाहरु वर्तमान स्वेच्छाचारी ट्रम्पलाई पनि न्यायिक अंकुश लगाईदिएका छन भने त्यही बेला निक्सनका बिरुद्धमा ल्याईएकै खाले “ईम्पिचमेन्ट” प्रस्ताबको सम्भावना पनि अहिले देखिन थालेको छ । मध्यावधि निर्वाचन मार्फत नयाँ अभिमत सहित तल्लो सदनमा प्रचन्ड बहुमत हँसिल गरेका डेमोक्रेट्सहरुले पुराना रिपब्लिकन संस्थापनसंग आवश्यक छलफल गरिरहेका छ्न । पुरानो स्थापित पार्टी धरासायी भएको रमिते बनेर हेर्नु भन्दा एकजना डोनाल्ड ट्रम्पलाई बिस्थापित गरेरै भएपनि पार्टी बचाउन रिपब्लिकनहरु तयार हुने पक्का छ । अटर्नी जेनेरल जेफ सेसनलाई बर्खास्त गरेर रिपब्लिकनहरुकै बिरोधको सामना गरिरहेका ट्रम्पले अहिलेसम्म “चिफ अफ स्टाफ” पाउन सकेका छैनन भने राष्ट्रपतिले सिरियाबाट सेना तत्काल फर्काउने निर्णय गरेपछि भर्खर डिफेन्स सेक्रेटरी जेम्स म्याटिसले पनि राजिनामा दिएका छ्न ।

राष्ट्रपति डोनाल्ड ट्रम्प निरन्तर एक्लिदैछन । भनिएका र उल्लेख गरिएका यावत आरोपित मुद्दा र अभियोगहरुका प्रमाणिक आधारमा उनि माथि राज्यले कुनै पनि स्तरको दण्डजरिवानाको प्रक्रिया कुनै पनि दिन सार्वजनिक गर्न सक्दछ । बहालवाला राष्ट्रपति माथि पनि सार्वजनिक मुद्दा या अभियोग लगाउन पाउनु पर्दछ भन्ने बहस पनि तल्लो सदनका नव-निर्वाचित सदस्यहरुले उठाउन थालेका छ्न ।
सन् १९७४ को अगस्त ८ मा राजिनामा दिन बाध्य भएका तात्कालिक राष्ट्रपति रिचार्ड निक्सनलाई उनैले नियुक्त गरेका राष्ट्रपति जेराल्ड फोर्डले संबैधानिक उन्मुक्ति दिएका थिए त्यही कारणले उ जेल जानबाट बच्यो तर वर्तमान राष्ट्रपतिमाथि धेरै मुद्दाहरुमा छानविन भईरहेको छ । केन्द्रबाट उनले त्यसखाले उन्मुक्ति पाएपनि उनि न्युयोर्क राज्यका बासिन्दा भएको कारणले न्युयोर्क राज्यको क्षेत्राधिकारमा पर्ने अन्य थुप्रै अभियोगका आधारमा उनी मौजुदा कानुनको फन्दाबाट उम्कने सम्भावना नितान्त कम छ । न्युयोर्क राज्यको राजधानी अल्बनीमा ३७ बर्ष एकाधिकार जमाएका एसेम्बली स्पिकर डेमोक्रेट्स सेल्डन सिल्भर अहिले सात बर्ष लामो जेल सजाय भोग्दैछन भने सरकारी सवारी सुबिधा आफ्नी श्रीमतिलाई उपलब्ध गराएको अभियोगमा सजाय पाएका न्युयोर्क राज्यका कम्पट्रोलर आलान हभासी भर्खर जेल मुक्त भएका छ्न । त्यसै गरि न्युयोर्क राज्यकै मेजोरिटी लिडर रिपब्लिकन डीन स्कलोसले पनि आफ्नो पदीय दुरुपयोगको अभियोगलाई स्वीकार्दै अघिल्लो महिना प्रशासन समक्ष आत्मसमर्पण गरेका छ्न ।

कानुन नितान्त निर्दयी हुने गर्दछ र हुनै पनि पर्दछ । सात बर्षको जेल सजाय न्यायाधिसले सुनाएपछि आफ्ना कानुनीविद मार्फत पुर्व एसेम्बली स्पिकर सेल्डन सिल्भरले अदालत समक्ष अनुनय बिनय गरे “म यहुदीको सन्तान हुँ अरुहरुले जस्तै जे पायो त्यही खान हुन्न त्यसैले मेरो लागि बिशेष सेल (झ्यालखाला) को बन्दोबस्त होस् ।” जवाफमा फैसला सुनाउने न्यायाधिसले भनिन “त्यस्ता जघन्य भ्रष्टाचार गर्न अनि पदीय दुरुपयोग गर्न चाँही तिम्रो धार्मिक आस्था र बिश्वासले रोकेन अब खान बस्न चाँही बिशेष ठाउँ चाहियो अहं त्यस्तो सुबिधा दिन न्यायोचित हुन्न ।”

अमेरिका बसाईको यो दुई दशक मैले भ्रष्ट अल्बनी र सिकागोको बारेमा धेरै फेहरिस्त पढेको अनि लेखेको पनि छु त्यसैले तिनै अनुगमन अनि मौजुदा कानुनहरुको विश्लेषणको आधारमा र अहिले बिकसित भएका घटना परिघटना अनि स्थापित नजीरहरुको आधारमा मैले बारम्बार भन्ने अनि सार्वजनिकरुपमै लेख्ने गरेको छु वर्तमान राष्ट्रपति डोनाल्ड जे. ट्रम्प पदच्युत भएको केही घण्टा या दिनहरुमै जेल सजाय पाउने पहिलो पुर्व राष्ट्रपति हुनेछन ।

ब्लगर नोट: बिषयको सान्दर्भिकतालाई मध्यनजर राखेर सेतोपाटी डिजिटल पत्रिकामा प्रकाशित भईसकेको आलेखलाई यहाँ पुनः प्रकाशित गरिएको छ