१४ बैशाख २०८१, शुक्रबार ११:१८ | 04/26/2024 1:33 AM



पुनः दाहिने फर्कन खोज्दैछ अमेरिकी राजनीति – शैलेश श्रेष्ठ, उत्तर अमेरिका

९ पुष २०७८, शुक्रबार ००:११ मा प्रकाशित

रेड स्टेट भनेर जानिने वेष्ट भर्जिनियाका एकजना परम्पराबादी डेमोक्रेटिक सिनेटर जो म्यान्चनका कारण राष्ट्रपति जो बाईडेनको १.७५ ट्रिलीयन डलरको महत्वाकाँक्षी सामाजिक तथा पर्यावरण खर्च बिधेयक विल्ड ब्याक बेटर अहिले तुहिने अवस्थामा पुगेको छ। अमेरिकी माथिल्लो सदन सिनेटमा रिपब्लिकन र डेमोक्रेट्सको ५०-५० सिट संख्या छन।

यो बिधेयक पास हुनको लागि डेमोक्रेटिक पार्टीका पचासै जनाले समर्थन गर्नु पर्दछ अनि त्यो अवस्थामा टाई ब्रेकरको निर्णायक मत डेमोक्रेटिक पार्टीकी उप-राष्ट्रपति कमला ह्यारिसले दिन पाउने संबैधानिक ब्यबस्था छ। तर परम्पराबादी सिनेटर जो म्यान्चन र अर्का सिनेटर क्रिस्टिन सिनेमाका कारण यो बिधेयकले एक पछि अर्को गर्दै सम्झौताहरु गर्नु परिरहेको छ।

प्रारम्भमा यही सगोल बिधेयक अन्तरगत कै बजेट रिकन्सिलियसन बिल अन्तरगतको प्याकेजमा राखेर डाका, टीपीएस, कृषी कामदार र ईसेन्सीयल वोर्करहरुलाई स्थायी अनुमति (ग्रिन कार्ड) उपलब्ध गराउने डेमोक्रेट्सहरुको मूल योजना थियो तर सिनेट पार्लियामेन्टेरियन एलिजाबेथ म्याकडोनोले त्यस्ता बिलहरुलाई अमेरिकी संविधानको व्याख्याले त्यसो गर्ने अनुमति नदिएको र आर्थिक बिलमा अध्यागमनको विषय जोड्न नमिल्नेभन्दै ति सम्पूर्ण बाटाहरु बन्द गरिदिएका थिए।

उनकै कारणले आफ्नो मूल योजना तुहेपछि डेमोक्रेटिक रणनीतिकार र संस्थापन बैकल्पिक संबैधानिक बाटोहरुको खोजीमा छन। कैयन डेमोक्रेटिक पार्टीका नेताहरु र अधिकारकर्मीहरुले पार्लियामेन्टेरियन एलिजाबेथ म्याकडोनोलाई पदमुक्त गर्ने संबैधानिक अधिकार उप-राष्ट्रपति कमला ह्यारिससंग भएकोले त्यसो गर्न सुझाव र दवाब पनि दिईरहेका छन।

अमेरिकी मध्यावधि निर्वाचन हुन अब एक बर्ष पनि बाँकी छैन। अहिलेको वर्तमान राजनैतिक परिदृश्य हेर्दा सन् २०२२ को मध्यावधि निर्वाचनमा तल्लो सदन रिपब्लिकनहरुको कब्जामा जाने सम्भावना देखिएको छ त्यस्तो अवस्था आएमा राष्ट्रपति जो बाईडेनको कार्यकारी हैसियत राष्ट्रपति ओबामाको सन् २०१४ को जस्तै ‘ल्यामडक राष्ट्रपति’ को हैसियत हुनेछ। ब्यबधान र यथास्थितीमा रमाउने रिपब्लिकनहरुका लागि त्यो नै आफ्नो जीत हुनेछ।

सिनेटर जो म्यान्चनको निर्णयले रिपब्लिकनहरु उत्साहित बनेका छन। उत्साहित बनेका सिनेट माईनोरिटी लिडर मिच् म्याक्नलले त उनलाई रिपब्लिकन पार्टीमा प्रवेश गर्न सार्वजनिक अनुरोध नै गरिसकेका छन। यसरी नै अनि यस्तै बहनामा अग्रगमनका राजनैतिक मुद्दा र बिषयहरुमा फिटिक्क अघि बढ्दैन अमेरिका। त्यै देखेर अनि भोगेर मैले अमेरिकी राजनीतिलाई समिक्षा गर्ने क्रममा बारम्बार भन्ने अनि लेख्ने गरेको छु अमेरिकामा परिवर्तन असम्भवनै चाँही होइन तर निक्कै कठिन छ। बैचारिकरुपमा मध्यपन्थ र यथास्थितिबादमा उन्मुक्त र उदात्त रमाएको अमेरिका एक कदम अघि बढेर दुई कदम पछि हटेको मैले धेरै पटक आफ्नै आँखाले देखेको छु।