१४ बैशाख २०८१, शुक्रबार ५:०४ | 04/26/2024 7:19 PM



यस्तो हुन्छ: यो अमेरिका हो! शैलेश श्रेष्ठ, उत्तर अमेरिका

४ मंसिर २०७८, शनिबार १२:१० मा प्रकाशित

कायल रिटेनहाउस अहिले अमेरिकी मिडियाको केन्द्रमा छन। जुरीका रुपमा अधिकांश स्वेत छानिएको र स्वेत जजकै बेन्चमा परेको/पारिएको ज्यान मार्ने अभियोग सहित पाँच वटा बिभिन्न अभियोग लागेका अठार बर्षिय कायल रिटेनहाउसले अन्तत: न्यायालयबाट सफाई पाएका छन। कनोसा विस्कनसिनमा उनले अघिल्लो बर्ष दिन दहाडै आफ्नो सेमी अटोम्याटिक राईफलले दुईजनाको हत्या गर्दै तेश्रो व्यक्तिलाई घाईते बनाएका थिए।

उनी स्वेत नभएर अन्य वर्णको भएको भए त्यस्तो हतियार लिएर सडकमा निस्किएको जो कोहीलाई पुलिसले ठाडै गोली हानेर मार्ने थिए। ईनकाउन्टरको नाममा अमेरिकामा कैयन त्यस्ता घटनाहरु भएका छन र त्यस्तो निसाना कालो र खैरो वर्णका आप्रवासीहरुलाई बनाउने गरिएको छ। यो फैसलालाई स्वेत सर्बोच्चताबादीहरुले स्वागत गर्दै उत्सव मनाउन थालेका छन। डोनाल्ड ट्रम्पले यो फैसलाको स्वागत गरेका छन भने राष्ट्रपति जो बाईडेनले अमेरिकी जुरी सिस्टमको बिश्वास गर्ने भन्दै घुमाउरो पारामा फैसलाको समर्थन गरेका छन।

यो घटनाले अब अमेरिकी मध्यावधि चुनावसम्म नै निरन्तर चर्चा पाउने सम्भावना छ। कायल रिटेनहाउसले बोकेको जस्तो सेमी अटोम्याटिक राईफलहरु बोक्न पाउने संबैधानिक प्रत्याभूति विस्कनसिनमा नागरिकलाई अमेरिकी संबिधानले नै दिएको छ। स्वेत बस्तिहरुमा उनीहरु यसपाली ‘गन कल्चर’ भनेर गर्व गर्दछन। आखिर स्वेत निर्देशित अमेरिकी दक्षिणपन्थी राजनीतिका दुई आधार र धरोहर भनेकै ‘गड’ र ‘गन’ हुन।

अमेरिकी समाजमा गडको प्रभाव निरन्तर छ तर सन् २०२० को राष्ट्रपतीय निर्वाचनपछि गन-पोलिटिक्स अलिकति भुत्ते भएको हो कि जस्तो देखिएको थियो तर यो घटना र फैसलाले ‘सेल्फ डिफेन्स’ को बहानामा गन-पोलिटिक्स गर्ने शक्ति जुर्मुराउने सम्भावना छ। विभाजित अमेरिकालाई यो घटनाले थप विभाजित बनाउने सम्भावना स्पष्ट देखिन थालेको छ। फैसलाको बिरुध्दमा अमेरिकाका कैयन सहरहरुमा बिरोध-सभा र र्यालीहरु सुरु भएका छन भने केही सहरहरुमा तोडफोड समेत भएको कुरा अमेरिकी मिडियाहरुले जनाएका छन।

अमेरिका र अमेरिकी समाज दुई दशक नजिकबाट बुझेको नाताले यत्ति चाँही ठोकुवा गरेर भन्छु ‘अमेरिकी जनता चुप लागेर बस्दैनन।’