१५ बैशाख २०८१, शनिबार ६:१६ | 04/26/2024 8:31 PM



राष्ट्रपति ट्रम्पको जिध्दी – शैलेश श्रेष्ठ

१९ आश्विन २०७७, सोमबार १६:४७ मा प्रकाशित

राष्ट्रपति ट्रम्पको जिध्दी र जिराहापनको अगाडी स्वास्थ्य बिज्ञानको पनि केही चलेन। हुन त उनको बिश्वास बिज्ञान र ज्ञानमा कहिल्यै भएन। उनी आरम्भदेखिनै मिराकल (चमत्कार) कै भरोसामा बसिरहे। बिज्ञान र उचित सल्लाहलाई समयमै स्वीकार गरेको भए कोरोना भाईरसका कारण अमेरिकामा दुई लाख दस हजार मानिसको मृत्यु हुने नै थिएन। आफ्नै सल्लाहकारहरुको सल्लाहलाई घोर उपेक्षा गर्दै अन्तत: राष्ट्रपति ट्रम्प आज राति ह्वाईट हाउस फर्कने भएका छन ।

राष्ट्रपति ट्रम्प वाल्टर रीड अस्पताल कक्षबाटै काम गर्दै

उनका निजी डाक्टर सन कन्लीले भर्खर सम्पन्न भएको प्रेस ब्रिफिंगमा पत्रकारहरुको थुप्रै समसामयिकको प्रश्नहरुको जवाफ दिन सकेनन। हामी बुझ्दछौं उनलाई पनि अप्ठेरो छ। एक शब्द चिप्लियो भने उनको जागीर चट हुन्छ। डाक्टर फाउची निराश भएर हिजोआज संचार माध्यमहरुलाई भन्न थालेका छन “भो उनको कुरै नगरौं!”

ट्रम्पलाई कुनै कानुन या आचार-संहिताले रोक्दैन छेक्दैन। वाल्टर रीड अस्पतालमा उपचार गरिरहेकै अवस्थामा पनि हिजो साझ उनले “फोटो प्रदर्शनी” को लागि सीडीसी गाईडलाईनको अवज्ञा गर्दै नि सुरक्षाकर्मीहरुको स्वास्थ्य जोखिममा पार्दै आफ्नो मोटरकेडमा हात हल्लाउँदै अस्पताल परिसरमा एक फन्को मारे। “मेक अमेरिका ग्रेट अगेन” को ब्यानर लिएर जम्मा भएका आफ्ना समर्थकहरुलाई एक नजर मारेर उनी अस्पताल सैयामा फर्किए।

मोटरकेडबाटै आफ्ना समर्थकहरुलाई अभिबादन गरेर राष्ट्रपति अस्पताल फर्कंदै

उनको छटपटी बुझ्न हामीलाई कत्ति पनि गाहो छैन। चुनाव हुन अब एक महिना पनि छैन। पहिलो राष्ट्रपतिय बहस पछि उनको लोकप्रियता झनै ओरालो लागेको छ। राष्ट्रिय पोलहरुमा बाईडेन १४ पोईन्टले अगाडी छन भने पछिल्ला सर्वेक्षणहरुका अनुसार उनको भरोसाको आफ्नै राज्य फ्लोरिडामा समेत उनी पछाडी परेका छन।

औषधिहरुको सहारा र जिध्दीले अबको केही दिनमै उनी ठुला ईन्डोर चुनावी सभाहरुमा बिना मास्क पुगेर “यो चाईना भाईरस केही होइन रहेछ, म ७४ बर्षको बुढोले त परास्त गरें यो भाईरसलाई अब तपाईहरु ढुक्क हुनुस अब चाँही साँच्चीकै मिराकल हुन्छ।” भन्दै भाषण गरे भने पनि अब चाही दुनियाले आश्चर्य मान्ने छैन।
अब के नै पो हेर्न र सुन्न बाँकी छ र राष्ट्रपति डोनाल्ड जे ट्रम्पबाट!