२१ बैशाख २०८१, शुक्रबार १:१४ | 05/03/2024 3:29 AM



“सय” बाट “हजार” बनाउने सम्प्रेषणको सामुदायिक पहल – शैलेश श्रेष्ठ, कार्यक्रम निर्माता तथा प्रस्तोता

१७ फाल्गुन २०७१, आईतवार ०१:२५ मा प्रकाशित

shailesh
हामी कति सजिलै भनि दिन्छौं, लु एनआरएनको सदस्य बनौं है दश डलर त हो नि…अनि यहि आउँदो मे महिनामा चुनाब हुँदैछ राम्रो र सक्षम मान्छेलाई जिताऔं है…आदि ईत्यादी| भोली शनिबार, जनवरी १७ तारिख दिनको एक बजे डी.सी. महानगरीय क्षेत्रमा सम्प्रेषणको आयोजनामा हुने सामुदायिक अन्तरक्रियामा सहभागी बन्न अभिप्रेरित गर्ने क्रममा मैले उक्त क्षेत्रका मानिसहरुलाई निरन्तर सम्पर्क र सम्बाद गरिरहेको छु|

यो क्रममा मैले अचम्म लाग्दा केहि जवाफ र क्रिया-प्रतिक्रिया पाएको छु, कतिले त “के रे शैलेशजी एनआरएन?’ सम्म पनि भने, बुझेरै बुझ पचाएका हुन कि थाहा नभएको हो म त अचम्भित भएँ| कुरो, प्रसंग या कथानक जता गए पनि यो संगठन आम मानिससम्म नपुगेको सत्य चाँही अब हामीले स्विकार्नै पर्छ|

न्युयोर्क, लस एन्जेलस, टेक्सास, डी.सी. मेट्रो एरिया तथा अन्य केहि प्रवासी नेपालीहरुको बाक्लो आवादी भएको र संगठनमा लाग्ने र खेल्ने ठाँउका हामी आम मानिस र संचारकर्मीहरुमा पनि एउटा सफेद भ्रम छ| ए अब एनआरएनले डाँडाकाँडा ढाक्यो..अहं त्यस्तो भईसकेको छैन तर हिजोको ३२९ बाट ३९८८ हुँदै अब दशौँ हजार सदस्य बन्ने क्रमको सुखद आरम्भ भने भएको छ|

भोली शनिवार, जनवरी १७ तारिख डी.सी. महानगरीय क्षेत्रमा हुन सम्प्रेषणको सामुदायिक बहस र अन्तरक्रिया त्यहि “सय”बाट “हजार” बनाउने लक्ष्य र सानो प्रयास मात्र हो| न्युयोर्क र अन्य राज्यबाट पनि थुप्रै शुभचिन्तक, सक्रिय व्यक्ति-व्यक्तित्व अनि संचारकर्मी बाक्लैरुपमा कार्यक्रम स्थल पुग्दैछन| कार्यक्रमको खाका अनुसार वर्तमान कार्यसमितीका सबै जिम्मेवार सदस्यहरु, निर्वाचन प्रमुख, बिधान संसोधन कमिटीका संयोजकको उपस्थिति रहने छ| त्यसमा हामीलाई खुशी लाग्छ तर केहि मित्रहरु असान्दर्भिक अनि अप्ठेरो निजि स्वार्थले लिप्त प्रश्न र सरोकार हामीलाई तेर्स्याएर अप्ठेरो पारिदिन्छन|

डी.सी. महानगरीय क्षेत्रमा आयोजना हुने सम्प्रेषणको सामुदायिक अन्तरक्रिया  डिजाईन: प्रशान एलुंग राई
डी.सी. महानगरीय क्षेत्रमा आयोजना हुने सम्प्रेषणको सामुदायिक अन्तरक्रिया डिजाईन: प्रशान एलुंग राई

उनीहरु भन्छन “हामी पनि आउन त आउछौं तर.. ..” बुझ्नु भो नि हैन? हाम्रो सिधा जवाफ हुन्छ सम्प्रेषणको अन्य सामुदायिक शृंखलाहरुमा जस्तै बिषयगत सामुदायिक बहस र अन्तरक्रिया हुन्छ| त्यहाँ कसैको पनि लामो पट्यारलाग्दो आधा घण्टालामो भाषण, उपदेश, आदेश, उर्दी या घोषणा केहि हुँदैन| र, सम्बोधनको नाममा र सम्मानको नाममा लामो आशन ग्रहण र अनावश्यक व्यक्ति पूजा या मलजल केहि हुँदैन| डी.सी. क्षेत्रका आम एनआरएन (सदस्यता लिएका या नलिएका) र वर्तमान कार्यसमितीका जिम्मेवार पदाधिकारीहरुलाई त्यो मंचमा घेरा बन्दी गर्दै सत्य तथ्य बाहिर ल्याउनु हो|

कति आकांक्षी या खेलाडीहरुलाई यहि मौकामा चौका हानेर उम्मेदवारीको पासा फ्याक्ने रहर र लालच पनि रहेछ, मैले उनीहरुलाई बुझ्ने नेपाली भाषामा भनेको छु: सम्प्रेषणले एनआरएन अमेरिकाको सदस्यता वितरणलाई सघाउने नियत र सदिक्षा राखेर एनआरएन अमेरिकाको अनुमति र सम्मतिमा यो सामुदायिक अन्तरक्रिया गर्न लागेको हो|

कृपया यहि सद्भाव, सदिक्षा र सदस्यतालाई आ-आफ्नो ठाँउबाट सघाउने नियत र हैसियतमा यो कार्यक्रममा आफ्नो प्रश्न र जिज्ञाशा सहित उपस्थित भईदिन हुन हामी हार्दिक अनुरोध गर्दछौं|