१४ बैशाख २०८१, शुक्रबार ३:४८ | 04/26/2024 6:03 AM



कोरोना भाईरस राहत बिल र चुनावी राजनीति

२२ श्रावण २०७७, बिहीबार ००:५६ मा प्रकाशित

तस्विर: सिनेट मेजोरिटी लिडर मिच मकानोल पत्रकारहरुलाई सम्बोधन गर्दै |

तुलनात्मकरुपमा प्रतिपक्षी डेमोक्रेट्सलाई निक्कै सजिलो छ। राहत बिलमा जति धेरै सुबिधा थप्यो उसलाई त्यतिनै चुनावी फाईदा छ। त्यसैले त आफ्नो प्रचण्ड बहुमत भएको तल्लो सदन हाउसबाट मे १५ तारिखमै तीन ट्रीलियन डलरको “हिरोज एक्ट” पास गर्यो तर कर्पोरेट अमेरिकाका धनाढ्यहरुको पक्षपोषण गर्ने रिपब्लिकन र ब्यापारी राष्ट्रपति डोनाल्ड जे. ट्रम्पलाई जनसरोकारको शिक्षा, स्वास्थ्य, हुलाक-सेवा, बेरोजगारी बिमा भन्दा पनि कसरी बिना बिनियम ठुला कर्पोरेसनहरुलाई ठुलो रकम उपलब्ध गराउने भन्ने मात्र चिन्ता छ।

अहिले त्यसरी मिलाएर दिईएको मिलियन-बिलियन डलर आखिर फर्किएर ट्रम्पको ईलेक्सन क्याम्पेनमै आउने हो। त्यसैले ट्रम्प र राता-राज्यका अनुदार दक्षिणपन्थी रिपब्लिकनहरुलाई आम अमेरिकी जनता घरभाडा तिर्न नसकेर सडकमा आए पनि खास फरक पर्दैन। बेरोजगार बिमा बन्द हुँदा लाखौँ नागरिक भोकै पर्दा उनीहरुलाई खासै मतलब हुँदैन तथापि अमेरिकी राष्ट्रपति निर्वाचन नब्बे दिन मात्र पर भएको यो संगीन समय र अवस्थामा राष्ट्रपति र रिपब्लिकनहरुले पनि गोहीको आँशु बगाउन थालेका छन।

चुनाव केन्द्रित कृतिम सहानुभूति प्रकट गर्न थालेका छन। फेडेरलले उपलब्ध गराउँदै आएको अतिरिक्त ६०० डलर जुलाई ३१ तारिखबाट बन्द भएको छ। अब राज्यले ब्यहोर्ने बेरोजगार बिमाले आम जनताको चुल्हो बल्ने स्थिति छैन। उक्त सुबिधालाई निरन्तरता दिईनु पर्छ भन्ने डेमोक्रेट्सहरुको मागलाई अबज्ञा गर्दै छोटो घर बिदामा गएर फर्किएका रिपब्लिकनहरुको मनमा दया अहिले यही आउँदो चुनावको कारण पलाएको छ। हिल्स नामक पुरक बिल ल्याएर प्रति हप्ता २०० डलर मात्र दिने निर्दयी प्रस्ताब गर्ने मेजोरिटी लिडर मिच मकानलको पनि अहिले अचानक मन फर्किएको छ।

उनले ६०० डलर केही महिनाको लागि निरन्तर दिन सकिने कुरा अहिले भर्खर पत्रकारहरुलाई बताएका छन। उनको मन फर्किनुको एउटै कारण छ त्यो के हो भने आउँदो नोभेम्बर महिनामा हुने निर्वाचनमा उनी स्वयम् पनि उच्च जोखिममा छन। त्यसमाथि हरेक अस्त्रको नग्न प्रयोग गरेर चुनाव जित्न कस्सिएका डोनाल्ड ट्रम्पले अब नाई भन्ने कुरै छैन।

अमेरिकी नागरिकलाई सुबिधा र अधिकारहरु खटाई खटाई दिने बानी परेका रिपब्लिकन संस्थापनले प्रारम्भमा हिल्स एक्ट मार्फत प्रति महिना दुई सय डलर दिने प्रस्ताब गरेपनि अहिले आएर चार सयसम्म दिन सकिन पुरक प्रस्ताब डेमोक्रेट्स नेतृत्व सामु औपचारिकरुपमै पेश गरेको खबर छ। त्यसको अतिरिक्त अघिल्लो पटक केयर्स एक्टले प्रत्याभूत गराएको प्रति ट्याक्स पेयर १२ डलरको राहत सुबिधा पनि उपलब्ध हुनेछ भने आश्रित नाबालकहरुका लागि भनेर अर्को पाँच सय डलर उपलब्ध गराईने छ। डेमोक्रेट्सहरुको चट्टानी अडानका कारण रिपब्लिकन र राष्ट्रपति डोनाल्ड जे. ट्रम्प प्रति हप्ता उपलब्ध गराउंदै आएको ६०० डलर सुबिधा दिन अन्तत: बाध्य हुनेछन।

चुनाब नजिक छ दिन्न र हुन्न भन्यो कि चुनावी घाटा रिपब्लिकन र राष्ट्रपति डोनाल्ड जे ट्रम्पलाई छ। सम्भवत: यो राहत सुबिधा उपलब्ध गराउने बिल आउँदो हप्तासम्ममा पास हुने छ। डेमोक्रेट्स र रिपब्लिकनहरुलाई अग्रीमेन्ट गराउन चिफ अफ स्टाफ मार्क म्याडो र ट्रेजेरी सेक्रेटरी स्टीभन मन्युचेन अहोरात्र खटिरहेका छन राष्ट्रपतिका दूत बनेर। श्रोत र बिश्वस्त सुत्रहरुका अनुसार यो बिल करिब १.५ ट्रीलियन डलर बराबरको हुनेछ।