१५ बैशाख २०८१, शनिबार ९:२१ | 04/26/2024 11:36 PM



अन्तिम राष्ट्रपतिय बहस: ट्रम्पको लागि “डु अर डाई” – शैलेश श्रेष्ठ

६ कार्तिक २०७७, बिहीबार १९:५१ मा प्रकाशित

यस बखत संसारको नजर अमेरिकामा परेको छ यसको कारण आगामी नोभेम्बर तीन तारिखका दिन हुने राष्ट्रपतिय निर्वाचन हो। आज राती ९ (नौ) बजे टेनेसी राज्य स्थित नासभिल सहरको बेलमोन्ट युनिभरसिटीमा हुन गईरहेको रिपब्लिकन पार्टीका उम्मेदवार वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीमा उम्मेदवार पुर्व उप-राष्ट्रपति जो बाईडेन बिचको अन्तिम बहस हरेक किसिमले महत्वपुर्व र केही हदसम्म निर्णायक पनि हुनेअपेक्षा गरिएको छ ।

आज रातीको बहस करिब ८० मिलियन अमेरिकीले हेर्ने अनुमान सार्वजनिक गरिएको छ। राष्ट्रिय सर्वेक्षणहरुमा ९ देखि १२ प्रतिशतको अन्तरले अगाडी रहेको बाईडेनलाई भेट्ने या अन्तर कम गर्ने दौडमा सामेल हुनको लागि राष्ट्रपति ट्रम्पले धेरै ठुलो मेहेनत गर्नु पर्ने देखिएको छ। राष्ट्रिय सर्वेक्षणहरुको अलावा ब्याटल फिल्ड राज्यहरुमा पनि बाईडेनको अग्रता निरन्तर छ त्यस अर्थमा ट्रम्पको स्थिति प्रतिरक्षात्मक अवस्थामा पुगेको छ।

कोरोना भाईरस संक्रमणको कारणले राष्ट्रपति ट्रम्प उपस्थित हुन नसकेको र भर्चुअल फर्म्याट राष्ट्रपति ट्रम्पलाई मन नपरेको कारण उनले दोश्रो बहसमा भाग नलिने निर्णय गरेपछि उक्त बहस रध्द भएको थियो। आज रातीको बहसलाई एनबीसीका क्रिस्टीन वाल्करले संचलान गर्नेछन। पहिलो बहस फक्स न्युजका क्रिस वालेसले संचालन गरेका थिए र त्यो बहस अमेरिकी राष्ट्रपतिय बहसको ईतिहासमै सबभन्दा सर्मनाक रहेको थियो जहाँ होस्टको हाउस रुलहरुको खुलेआम उल्लङ्घन गरिएको थियो।

त्यही दुरुहतालाई मध्यनजर राखेर आजको बहसमा बिपक्षीले बोलिरहँदा बाधा-व्यवधान गर्न नपाईने नियम मात्र लागु गरिएको छैन माईक्रोफोनलाई नै “म्युट” गरिने भएको छ। अमेरिकी राष्ट्रपतिय बहसको ईतिहासमा यो पनि नौलो अभ्यास नै हो। दुई दिन अघि मात्र पनि सीबीएसको सर्वाधिक लोकप्रिय टक-शो “सिक्सटी मिनेट” का लागि अन्तरवार्ता रेकर्ड गराउने क्रममा प्रस्तोता लेस्ली स्टालले आफुलाई एकपक्षीयरुपमा कडा प्रश्न सोधेको आरोप लगाउँदै राष्ट्रपति ट्रम्प सेट छाडेर हिंडेका थिए। ट्रम्पबाट हुने गरेका यस्ता रवैयाहरुलाई अमेरिकी प्रेस र जनताहरु नियमित आकस्मिकताका रुपमा स्वीकार गर्न बाध्य हुन थालेका छन।

यस्ता कडा विनियम र बन्देजहरुका बाबजुद पनि अहिले हुन लागेको आजको अन्तिम बहसमा पनि राष्ट्रपतिबाट त्यस्ता अप्रत्यासित अराजक रवैया हुन सक्ने सम्भावना उनीसंग काम गरिसकेका व्यक्तिहरुले व्यक्त गर्न थालेका छन। राष्ट्रपति ट्रम्पले आजको बहस संचालन गर्ने क्रिस्टीन वाल्करका बारेमा आफ्ना निकट फक्स न्युज च्यानलसंगको वार्तालापमा भनेका छन “सी ईज मोर डिजास्टर दयान लेस्ली”।

यही सन्देहको सेरोफेरोमा सीएनएनसंग कुराकानी गर्दै एटलान्टा सहरकी मेयर किशा लेन्स बटम्सले भनिन “राष्ट्रपति ट्रम्पको यस्ता अराजक भद्दा गाली गलौजजन्य ब्यबहार निरन्तर रुपमा बढ्दो छ किनकी त्यो नै उनको असली चरित्र हो, पहिलो कुरो त उनी महिला देख्ना साथ उत्तेजित हुन्छन र त्यसमाथि अस्वेत महिला प्रति त थप नै आक्रामक हुन्छन। त्यसैले आज क्रिस्टीन वाल्करले संचालन गर्ने बहसमा राष्ट्रपति ट्रम्पबाट त्यस्तो ब्यबहार दोहोरियो भने म चाँही आश्चर्य मान्ने छैन।

राष्ट्रपतिय बहस आयोग नामक स्वतन्त्र संगठनले यस्ता बहसको कार्यक्रम सन १९८७ देखि निरन्तररुपमा गर्दै आई रहेका छन। यस्ता बहसहरुमा बिषयहरु निर्धारण गर्ने सम्पूर्ण अधिकार प्रस्तोताको हुने गर्दछ। आजको बहसमा कोभिड-१९, अमरिकी परिवार, रंगभेद, क्लाईमेट चेन्ज, राष्ट्रिय सुरक्षा र नेतृत्व रहेको कुरा आयोजक संस्थाले सार्वजनिक गरिसकेका छन।