१४ बैशाख २०८१, शुक्रबार ५:३१ | 04/26/2024 7:46 PM



धर्म किन बिज्ञानको अबज्ञा गर्न उद्दत छ? शैलेश श्रेष्ठ

१४ मंसिर २०७७, आईतवार ०१:१६ मा प्रकाशित

कोभिड-१९ को सन्दर्भमा यसका आचारसंहिता र सरकारी परिपत्रहरुलाई उपल्लो उपेक्षा र अबज्ञा गर्नेहरुमा कट्टरपन्थी अनुदारवादी धार्मिक नेताहरु र तीनका धार्मिक संस्था तथा संस्थापनहरु रहने गरेका छन । त्यसको उपल्लो सतहमा अमेरिका भरि थुप्रै अल्ट्रा र्याडिकल धार्मिक नेता र समुहहरु देखा परे।

आरम्भदेखि नै मास्क अबज्ञाको अन्तर्य उनीहरुको धार्मिक बिश्वास र आस्थासंग जोडिएको थियो। धार्मिक अभीष्ट सहितको मास्क बिरोधि मनोविज्ञानको फाईदा उठाउँदै राष्ट्रपति डोनाल्ड ट्रम्प त्यो खेल खेलिरहे अन्तत: उनको त्यो रणनीति उनकै लागि घातक मात्र भएर प्रत्युत्पादक समेत बन्न पुग्यो।

सिंगो राष्ट्रले लकडाउन र संहिताहरुको आह्वान गरेको बेला मुस्लिम बाहुल्य रहेका थुप्रै मध्यपुर्वका देशहरु देखि ईजरायलका ओर्थोडक्स जुईसहरुले गरेको आम अबज्ञा अनि भारतका कट्टरपन्थी हिन्दुबादी संगठनहरुको सांगठनिक बिरोधदेखि पछिल्लो समयमा जुईस बाहुल्य रहेको न्युयोर्कको ब्रुक्लीनको कट्टरपन्थी जुईस धार्मिक संगठनहरुले खुलेआम सार्वजनिक अबज्ञा गरे।

अझ एक कदम अघि बढेर त्यही बिषयलाई न्युयोर्ककै रोमन क्याथोलिक डाईसेस अफ न्युयोर्क र आगुदात ईजरायल अफ अमेरिका नामक जुईस धर्मावलम्बीहरुको संगठनले अमेरिकी सुप्रिम कोर्टमा दायर गरेको मुद्दाले उनीहरुको धार्मिक कट्टरपन्थ र बिज्ञान माथि अबज्ञा नियतलाई सार्वजनिकरुपमा उदाङ्ग पारिदिएको छ। न्युयोर्क राज्यका गभर्नर आन्ड्रु क्योमोले धार्मिक अनुष्ठानका लागि जमघट र भेटघाट गर्न पाउने आफ्नो फर्स्ट एमेण्डमेन्ट अधिकार हनन गरको ठहर गर्दै उनीहरुले सुप्रिम कोर्टमा गभर्नरका बिरुध्द मुद्दा दायर गरेका थिए।

दुई हप्ता अघि अप्रत्यासितरुपमा न्युयोर्कको ब्रुकलिन क्षेत्रमा कोरोना भाईरसको संक्रमण बढेपछि गभर्नरले धार्मिक अनुष्ठानहरुमा पूर्ण प्रतिबन्ध लगाएका थिएनन तर चर्च र सेनेगागको आकार हेरेर १० देखि २५ जनासम्मको उपस्थितिमा सेवा संचालन गर्न पाईने नियम सार्वजनिक गरेका थिए। कन्जरभेटिभ जस्टिसहरुको बाहुल्य रहेको सुप्रिम कोर्टले धार्मिक संस्थाहरुको पक्षमा फैसला गरिदिएको छ। त्यस्तो प्रतिबन्ध हटिसकेको अवस्थामा आएको यो अप्रत्यासित फैसलालाई गभर्नर क्वोमोले दुर्भाग्यपूर्ण भन्दै आफ्नो असन्तुष्टी सार्वजनिक गरेका छन।

भर्खरै नियुक्त भएकी जस्टिस यमी कोनी बेरेटले अन्य चार जना कन्जरभेटिभहरुको पक्षमा आफ्नो अभिमत दिएकी थिईन भने चिफ जस्टिस जन रबर्टले चाँही अन्य तीन जना लिबरल जस्टिसहरुको पक्ष लिएका थिए। यो घटनाले आम अमेरिकीहरु सशंकित बनेका छन। सुप्रिम कोर्टमा प्रवेश गरेका गे राईट्स, अफोर्डेबल केयर एक्ट, गन राईट्स, सेन्सस २०२०, अबोर्सन राईट्स जस्ता मुद्दाहरुमा पनि यस्तै फैसला आउने हुन कि भन्ने आम शंका बढेको अवस्था छ।

अमेरिकामै चर्चहरु स्टेटबाट छुट्टीई धर्मनिरपेक्षताको स्वाधीन अभ्यास गरेको सयौं बर्ष भईसक्यो तथापी उनीहरुको अभीष्ट र अन्तर्यमा रिलिजियस प्रिभीलेजको अन्तर चाहना अझै जीवितै छ। उनीहरुको असली धार्मिक अभीष्ट र चाहना यसपालीको कोभिड महामारीमा नजाँनिदो गरेर पटाक्षप भएको छ। अहिलेसम्म अमेरिकाका थुप्रै राज्यहरुमा चर्च र सिनेगागहरुमा सिमित संख्यामा मात्र आराधनाका लागि भेला हुन पाउने गभर्नरले लागु गरेको नियमका बिरुद्ध थुप्रै मुद्दाहरु दायर भई सकेका छन।