१४ बैशाख २०८१, शुक्रबार ६:५० | 04/26/2024 9:05 AM



उदाउँदैछन नेपाली मूलका अमेरिकीहरु मुलधारको राजनीतिमा – शैलेश श्रेष्ठ, उत्तर अमेरिका

१ भाद्र २०७८, मंगलवार ००:५९ मा प्रकाशित

लामो कालसम्म सम्भावनायुक्त अमेरिकी प्रवासमा नेपालको दलगत राजनीति र अन्य खाले जात, धर्म, गोत्र, लिङ्ग र क्षेत्रको कम्फर्ट जोनमा रमाईरहेका अमेरिकी नेपालीहरु पछिल्ला केही बर्षदेखि उत्साहप्रद किसिमले अमेरिकी मुलधारको समाज र राजनीतिमा देखापर्न थालेका छन। निक्कै पहिलेबाटै कैयन नेपालीहरुले त्यस्ता कहत्वाकाँक्षी गन्तब्यहरुको मापनसम्म त गरेकै हुन तर सफलताको कथा वाचन गर्ने अहोभाग्य चाँही हामीले ह्यारी भण्डारीको सफलताबाट मात्र पायौं।

उनको पदचाप पछ्याउँदै टिका पौडेलले टेक्सासको युलिस सहरको प्लेस-६ का कान्सिल मेम्बर बन्न सफल भए। नेपालीहरुको बाक्लो आवादी र जनसंख्या भएको उक्त सहरमा भएको उनको जीतले थप नेपालीहरुलाई मुलधारको राजनीतिको गोरेटो नाप्न अभिप्रेरित गरेको छ। त्यही मेलोमा न्युह्याप्सायरकी मदलसा गुरुङले पनि उम्मेदवारी दिएकी थिईन तर उनले जीत हात पार्न सकेनन।

अहिले पछिल्लो समय चर्चाको शिखर छन कनेटिकटका राम सी श्रेष्ठ। उनले पहिलो कार्यकाल पुरा गरेर अर्को कार्यकालका लागि कनेटिकट राज्यको ब्रानफोर्ड डिस्ट्रिक-४ बाट नगरपालिका सदस्यका लागि डेमोक्रेटिक पार्टीको टिकटमा अघिल्लो महिना नै आफ्नो उम्मेदवारी घोषणा गरिसकेको छन। छोटै समयमा पनि उनले आफ्नो निर्वाचन क्षेत्रका नेपालीहरु र नेपाल राष्ट्रका लागि उल्लेख्य र स्तुत्य काम गरेका छन। कोभिड महामारीको बेला उनले आफ्नो निर्वाचन क्षेत्रमा बसोबास गर्ने नेपाली भाषीहरुलाई सर्वसुलभ तरिकाले खोप उपलब्ध गराउन सहजकर्ताको भूमिका निर्वाह गरेका थिए भने अमेरिकाले नेपाललाई उपलब्ध गराएको जोन्सन एण्ड जोन्सन कम्पनीको खोप उपलब्ध गराउने अभियानमा आफ्ना राज्यका सिनेटर क्रिस मर्फी र रोबिन कोमे लगायतका प्रतिनिधिहरुसंग भेटघाट गर्ने अभियानको नेतृत्व गरेका थिए।

उनी पनि केही काल नेपालको दलगत राजनीति अन्तरगतको भात्री संगठनको दासता युक्त राजनीतिमा क्रियाशील थिए तर अन्तत: उनले बुझे यता निदाएपछि यताकै सपना देख्नु पर्दछ। उनको यो सही गन्तब्यको पहिचानले भात्री संगठनको दासतामा अझै निरन्तर रमाई रहेका उनका सहपाठीहरुलाई अभिप्रेरणा र सदबुद्धी प्राप्त हुनेछ भन्ने मेरो गहिरो विश्वास छ । भूगोलका हिसाबले टाढा छु धेरै सहयोग गर्न सक्दिन होला तथापी आगामी नोभेम्बर दुई तारिख हुने निर्वाचनमा पुनः सफलताको लागि अन्तरमनबाट हार्दिक शुभकामना व्यक्त गर्दछु। राम सी श्रेष्ठको राजनैतिक गन्तब्यसंग हाम्रा पनि अनगिन्ती सपनाहरु जोडिएका छन।