१४ बैशाख २०८१, शुक्रबार ११:४१ | 04/26/2024 1:56 PM



अब दुई हप्ता समय थप्नु पर्छ – शैलेश श्रेष्ठ, न्युयोर्क

२ फाल्गुन २०७१, शनिबार २१:२९ मा प्रकाशित

Shaileshमैले सामाजिक सञ्जाल र आफ्नो निजि ब्लग सम्प्रेषणयुयसए डटकम मार्फत रिपोर्टिंग कम र विचार बढी सम्प्रेषण गर्ने गरेको छु म यस बखत पनि एनआरएन अमेरिकाको समसामयिक सवाल र बिषयमा आफ्नो निजि विचार र अडान सम्प्रेषण गरिरहेको छु| एनआरएन अमेरिकाको सदस्यता बन्ने क्रम स्व-स्फुर्तरुपमा तिब्र भएको यो क्षणमा अब आम प्रवासीहरुले सदस्य बन्न पाउने नैसर्गिक मौलिक हक तथा अधिकारको सम्मान गर्दै अब दुई हप्ता अथवा फेव्रुअरी महिनाको १४ तारिख मध्यरातसम्म बढाउन नियमले मिल्छ, सकिन्छ अनि बढाउनै पर्छ भन्ने मेरो निजि तर्क छ|

एनआरएन अमेरिकाको सदस्यता बन्ने म्याद भोली शनिबार जनवरी ३१ तारिख मध्यरात (अमेरिकी पूर्वीय समय) समाप्त हुँदैछ| त्यसको मतलब बाँकि दुई लाख भन्दा बढी प्रवासी नेपालीहरुले सदस्यनै बन्न पाउँदैन भन्ने पनि होइन| यसपाली मे महिनामा हुने पूर्णकालिक निर्वाचनमा मतदानको अधिकार नपाउने मात्र हो| हामीले या संस्थापनले त्यसरी पनि आम मानिसलाई भन्न भन्न सकिरहेका छैनौं|मौसमी धून र बेलाको राग अलाप्न हामी माहिर छौं|

हामीले गलत परम्परालाई प्रश्रय दिईरहेका छौं, हामी टाठाबाठाहरु नै भन्छौं अनि लेख्छौं “लु है साथीहरु एनआरएन अमेरिकाको निर्वाचन आयो सदस्यता बनौँ र बनाऔं!” त्यसले गलत सन्देश सम्प्रेषित गरिरहेको हुन्छ|

अब दुई हप्ताको म्याद थपेर यो संगठनलाई बृहद र व्यापक बनाउन ब्यबहार र नियम (कानुन) दुवैले मिल्छ| प्रस्तावित बिधान अब हुने साधारण सभाले पारित नगरिन्जेलसम्मको अबस्थामा यहि बिधानलाई टेकेर निर्वाचन आयोगले काम गर्ने हो, त्यस अर्थमा मे महिनाको पन्द्र तारिखसम्ममा आउँदो दुई बर्षे कार्यकालको लागि निर्वाचन हुनुपर्छ| त्यस प्रयोजनका लागि वर्तमान कार्यसमितीले फेव्रुअरी महिनाको पन्द्र तारिखसम्ममा सदस्यहरुको अन्तिम नामावली निर्वाचन आयोगको कार्यालयमा पेस गरि सक्नु पर्छ|

Group Photo
डी.सी. महानगरीय क्षत्रमा सम्पन्न भएको एनआरएन बिषयक सामुदायिक अन्तरक्रिया

हिसाब सिधा छ वर्तमान कार्यसमितीसंग अर्को चौध दिन (दुई हप्ता) छ तर वर्तमान कार्यसमितीका पदाधिकारीहरुको मनमा “फोबिया” ले बास गरेको छ| एनआरएन अमेरिकाकै इतिहासमा पहिलो पटक गत वर्ष सम्पन्न भएको निर्वाचन र त्यसमा भएको र भयो भनिएको तिकडम, लफ्फाबाजी, जालझेल र आरोप-प्रत्यारोपले अहिलेको कार्यसमिती हच्किएको र बिच्किएको छ| तर बिगतमा भएका कमी कमजोरीहरुबाट सिक्दै भएका कमजोरीहरुलाई स्वीकार गर्दै अब आम मानिसलाई बिश्वासमा लिन जरुरी छ| अबको युग भींड र हल्लाले चल्दैन कुनै पनि कामको पछाडी कानुन, तर्क अनि इमान हुनु पर्छ|

यो संगठनलाई दलगत राजनीतिमुक्त बनाउदै पुराना राजनैतिक खेलाडीहरुको बक्र दृष्टि र कोपभाजनबाट बचाउन पनि हामीलाई स्वाधीन र स्वतन्त्र विचार राख्ने थप सदस्यहरु चाहिन्छ| जति चाँडो हामी सबैको यो संगठन  आम मानिसको पहुँचमा पुर्याउन सकिन्छ त्यति नै चाँडो दलगत राजनैतिक स्वार्थ बोकेकाहरुबाट मुक्त र स्वायत्त बनाउन सकिन्छ|

Sampreshan NRN
सम्प्रेषणमा सहभागी एनआरएन अमेरिकाका वर्तमान पदाधिकारीहरु

अहिले अर्को कार्यकालको बागडोर सम्हाल्न कस्सिएर देश दौडाहमा निक्लिएकाहरुको पनि आफ्नै हिसाबकिताब होला अथवा राजनैतिक स्वार्थ र लाभका लागि मुठाका मुठा सदस्यता फारम च्यापेर आफ्ना राजनैतिक मालिकको सेवामा लागेकाहरुको आफ्नै खेल र अनुमान होला अब हामीले त्यसलाई चिर्न जरुरी छ| महिनौं बाँकि हुँदा सदस्यताको आबेदन नआउनु तर अहिले प्रति मिनेट दुई जनाको दरले सदस्यताको अनलाईन आवेदन पर्नुले प्रारम्भ देखि मैले गर्ने गरेको पुर्ब अनुमान अहिले सत्य सावित भएको छ|

एनआरएन अमेरिकाका जिम्मेवार मित्रहरु, खुट्टा नकमाउनुस “नडराउनु नबिराउनु” भन्छन| आफु ठिक ठाउँमा हुनुहुन्छ भने डराउनु पर्दैन, तपाईहरुलाई बनको बाघले नखाए पनि तपाईहरुको आफ्नै मनको बाघले खाएको छ| गलत गर्दा हामीले भन्न र लेख्न बाँकि राखेनौं सहि र राम्रो काम गर्नु भो भने “क्या बात” बन्न पनि हामी ढिला गर्दैनौं| ढिला नगर्नुस फलाम तातेकै बेला आकार दिने हो अरु दुई हप्ता मात्र बढाउन सकियो भने एनआरएन अमेरिकामा अरु थप पाँच हजार (कम्तिमा) सदस्य थप्न सकिन्छ| अघिल्लो पटक पन्द्र सय प्रतिशतले सदस्यता बढेको थियो अब कमसेकम तीन सय प्रतिशत बढ्ने छ|

मनको कुरो लेखें, जय एनआरएन!