१४ बैशाख २०८१, शुक्रबार ९:३६ | 04/25/2024 11:51 PM



प्रवास पत्रकारितामा सिण्डीकेटेड प्रथा: नेजाको नियत र नियती – शैलेश श्रेष्ठ

२१ बैशाख २०७३, मंगलवार १५:२६ मा प्रकाशित

केहि पत्रकार साथीहरुलाई लागेको छ नेपाल अमेरिका पत्रकार संगठन (नेजा) स्वेच्छाले छाडेकाहरुलाई त्यो संस्थाको बारेमा बोल्ने अनि चिन्ता गर्ने कुनै अधिकार छैन | यिनीहरुलाई लागेको छ हामीले स्थापना गरेको नेजाको हरेक कुकृत्य तथा गलत काम कारवाहीहरुको हामी रमिते बन्नु पर्छ | कुनै पनि संस्था या ब्यक्तीले त्यस्तो उन्मुक्ति पाउनु पर्छ भनेर तिनीहरु के स्वार्थ अनि तर्कमा अहिले तावेदारी गरिरहेका छन ?

के कुनै पनि गलत काम र प्रक्रियाको प्रमाणिक चिरफार गर्न पाउने हाम्रो नैसर्गिक अधिकारनै प्रेस स्वतन्त्रता होइन र ? प्रेस स्वतन्त्रता दिवस मनाएको केहि घण्टा पनि नबित्दै नेपालमा पूर्णकालिक पत्रकारिता गरेका बन्धुहरु किन यस्तो बोली बोल्दैछन ? हामी त्यसको अन्तर्निहित अर्थ, स्वार्थ अनि रहस्य पनि निरन्तर खोतल्ने छौं |

shailesh

अधिबेशन नाम दिईए पनि “ईलिट क्लब” हरुको जस्तो जमघट, खानपिन अनि भ्याकेशन मनाएर पदको भागबण्डा अनि बाँडफाँट गरेर चल्ने अनि चलाईने अमेरिका भरिको पत्रकारहरुको प्रतिनिधिमुलक (?) संगठन नेजामा यसपाली कमसेकम केहि आकांक्षीहरुले आ-आफ्नो पदीय लालच अधिबेशन हुन पाँच दिन बाँकी अघि नै सार्वजनिक गरेछन | केहिले आफ्नो रुचि सार्वजनिक गरे पनि कहिले अझै मोही माग्ने ढुङ्ग्रो लुकाउने गरेका छन |

अमेरिका भरिको मात्र होइन अझ बिधि बिधान अनि नियमलाई मिचेर उत्तर अमेरिका भरिको प्रतिनिधिमुलक संगठनल भनिएको नेजाले आज यो स्टाटस लेखिञ्जेलसम्म पनि आफ्नो वेबसाईटमा आफ्ना साधारण सदस्यहरुको नामावली प्रकाशन गर्न सकेको छैन | यो “पेज अन्डर कन्स्ट्रक्सन” अवस्थामा रहँदै प्यासेफिक समुद्रीतटबाट अन्तरिक मिलेमतोबाट एउटा टोलीलाई खदा माला पहिर्याईन्छ अनि उनीहरुले अर्को दुई बर्षभरि नेजाको सदस्यता नलिएका अथवा बाहिर बसेर स्वाधीन अनि स्वतन्त्र संचारकर्म अनि पत्रकारिता गरेकाहरुलाई “सेन्डीकेटेड फतवा” जारि गर्दै भन्नेछन, “तिमी पत्रकार होइनौं अनि तिमी त झन संचारकर्मीसम्म पनि होइनौं” हामी मात्र हौँ किनकी हामीले नेपाली दुतावाससंग अनुबन्ध गरेका छौं अनि ५०१ (सी) ३ मा दर्ता भएको छ |

अमेरिकामा हामी संचारकर्म अनि पत्रकारिताको नाममा स्वाधीनता अनि स्वतन्त्रताको सम्प्रेषण होइन, लज्जाको प्रदर्शन गरिरहेका छौं |
यसपालीको यक्ष प्रश्न: पत्रकार मित्रहरु, हामीले स्वाधीनता अनि स्वतन्त्रता लेख्न अनि बोल्न पनि नेजाको अनुमती लिनु पर्ने ? नेपालमा पूर्णकालिक पत्रकारिता गरिञ्जेल सँधै सेन्डीकेटेड प्रथा अनि दलगत भागबण्डाको विपक्षमा उभिनु भएकाहरु यो प्रवासको युटोपियन साम्राज्यमा भासिना साथ किन सेन्डीकेटेड प्रथाको प्रचण्ड वकालत गर्दै पक्षपोषण गरिरहनु भएको छ? लेखमा मात्र होइन हामी भेटमा पनि त्यसको न्यायोचित जवाफ खोज्ने छौं |