१५ बैशाख २०८१, शनिबार ६:२० | 04/26/2024 8:35 PM



बुढो एमाले सस्थापन र तथाकथित युवा पुस्ता

५ फाल्गुन २०७१, मंगलवार ०१:२५ मा प्रकाशित

नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रको लडाईमा मन, विचार र आस्थाले समाहित भएका ठुला सबै दलका तन्नेरी संघर्षशील नेताहरु (अझ यिनलाई युवा नेता भन्छन क्यार तथापी यसको स्पष्ट परिभाषा छैन) संग कि त मेरो पुरानो राजनैतिक साईनो छ कि वर्तमान संचारकर्मीका हैसियतले दोहोरो अनि राम्रो चिनाजान|

यसपालीको प्रसंग र मेरो सरोकार बुढा पुस्ताका यथास्थितिवादीहरुको लालचको वारेमा हो| हिजो प्रसंग अलिकति उप्काए “एमालेका पुर्व प्रधानमन्त्रीहरु माधब कुमार नेपाल र झलनाथ खनालले पार्टीको विदेश बिभाग प्रमुख आफुले पाउनु पर्ने दावी गरे|”

Thumbnail for 166

एमालेका तन्नेरी पुस्ताका नेताहरुले मसंग बारम्बार भनेका छन् “हैन हौ दाई, यी बुढाहरुले न छाड्ने रै’छन|” यो लाईन मसंग अमेरिकामा भेट हुँदा युवा नेता योगेश भट्टराईले भनेका थिए जतिबेला माकुनेले राजनैतिक बिश्राम लिने एमाले पार्टी भित्र चर्चा थियो| यहि सार र शैलीको अभिव्यक्ति मसंगको अनौपचारिक कुराकानीमा गगन थापा र बिश्व प्रकाश शर्माले पनि व्यक्त गरेका छन् (सम्प्रेषणमा भएको अन्तरंग वार्तालाप यो हप्ता युट्युब र अन्य सामाजिक संजालमा उपलब्ध हुनेछ)|

अब कुरोको चुरो पक्रन्छु, किन विदेश बिभाग प्रमुख हुन त्यो भन्दा उपल्लो पद अझ राष्ट्रको सबभन्दा ठुलो कार्यकारी पद सम्हाली सकेका पुर्व प्रधानमंत्रीहरु माकुने र झनाख मरिमेटेर लागेका छन्? सायद सान, सौकत, मान-सम्मान, द्रब्य, सयर, प्रभाब त्यस्तै केहि होलान त्यो त मरिमेट्नेहरुकै मनमा होला|

अब यक्ष प्रश्न उठ्छ, के एमाले भन्ने नाम गरेको देशको दोश्रो ठुलो दलमा यी दुई जना बाहेक अरु कोहि छैनन त? छन् थुप्रै सक्षम तन्नेरीहरु छन्…अहिले झट्ट मेरो मानसपटलमा एउटा नाम आएको छ, जवाहरलाल बिश्व विधालय, नया दिल्लीमा राजनीति र अन्तराष्ट्रिय सम्बन्ध बिषय पढेर पार्टीमा फर्किएका एक जना दीक्षित र शिक्षित तन्नेरी राजन भट्टराई|

के प्रगतिशीलताको नारा दिने एमाले पार्टीसंग यो जिम्मेवारी युवा पुस्तालाई हस्तान्तरण गर्ने साहस छ? यी बुढाहरुले छाडेनन भन्ने तन्नेरी पुस्ताका युवा नेता योगेश भट्टराई, घनश्याम भुसाल, रबिन्द्र अधिकारी, राम कुमारी झाँक्री, राजेन्द्र राई अनि गोकर्ण बिष्टहरुसंग यिनको पक्षमा लबिङ्ग गर्ने या बुढा पुस्ताका यथास्थितिवादी संस्थापनसंग आँखामा आँखा जुधाएर प्रस्ताव अनि सामना गर्ने साहस छ?

एमालेलाई यसै पनि साठी नाघेका केहि ब्राह्मण-खसहरुले अधिपत्य जमाएको पार्टी भन्ने संगीन आरोप लाग्ने गरेको छ| राजनको पछाडी “भट्टराई” जोडिएको भए पनि उनि सक्षम र शिक्षित युवा हुन जसको अन्तराष्ट्रिय छबि छ, पढाई छ अनि सबभन्दा महत्वपूर्ण कुरा भाषिकरुपमा उनि उम्दा छन्| अब एक्काईसौं शताब्दीको कुटनैतिक र बैदेशिक सम्बन्ध दुतावासका कर्मचारीले लेखिदिएको खेस्राले चल्न सक्दैन र हुँदैन|

अंग्रेजी भाषाको पकड र दखललाई उच्च प्राथमिकतामा राखिनु पर्छ| हामीले शेर बहादुर देउबा देखि खिलनाथ रेग्मी हुँदै सुशील कोइरालासम्मले संयुक्त राष्ट्रसंघको महासभामा गरेको इङ्गपाली (ब्रिटिस इंग्लिश र नेपाली भाषाको मिश्रित उच्चारण) सम्बोधन सुनेर थुप्रै पटक आफ्नो शिर निहुर्याएका छौं|

झलनाथ खनाल भर्खर लामो समय अमेरिकामा उपचार गराएर नेपाल फर्किएका छन्| मानवीय र स्वास्थ्यको कोणबाट आफुले आफैलाई न्याय दिन पनि झनाखले यो संसारभर घुमी रहनु पर्ने विदेश बिभाग ताक्न न्यायोचित र तर्कसंगत हुँदैन| प्रधानमन्त्री पदकोलागि दरबारमा निवेदन हाल्ने र तथाकथित राजाको पाउमा मोहर चढाउने माकुनेको लालचको बारेमा नेपाल देश र हामी आम मानिस अनभिज्ञ छैनौँ तर अब एमाले पार्टीका स्वाधीन र शिक्षित कार्यकर्ता र आम मानिसले बुझ्न जरुरी छ, एमाले नामको पार्टी उनको बिर्ता पनि होइन अनि पुर्खाले सुम्पिएको बपौती पनि होइन|

तन्नेरी नेताहरु! फलाम तातेकै बेला आकार दिने हो| मनको आवाज साहसका साथ बोल्नुस …झर्ला र खाँउला भनेर पर्खनु भो भने तपाईहरुको पालो कहिल्यै आऊदैन किन कि राजनीति गर्नेले अरु काम या पेशामा जस्तो निश्चित उमेर पुगेपछि सन्यास लिनु पर्ने नियम हुँदैन| तपाईहरु आफुले भौतिकबाद अरुले भन्दा धेरै पढेको र जानेको जिकिर गर्नु हुन्छ तर जब ब्यबहारिकरुपले कार्वान्वयन गर्ने समय आउँछ तपाईहरु बारम्बार चुक्नु हुन्छ कि पुराना, अघिल्ला या बुढा पुस्तासंग झुक्नु हुन्छ|

अंग्रेजीमा “डट चेक” भन्छन नि, हो अहिले तपाई युवा नेता भनिएकाहरुको नाडी छाम्ने बेला आएको छ| यो क्षण तपाईहरु चेतनशिल, बिबेकशील अनि स्वाधीन आम मानिसहरुको निगरानीमा हुनुहुन्छ|